☰ open Loading... 16 April 2024|  

सुर्खेतमा बन्ने मेडिकल कलेज निर्माणार्थ प्रक्रिया शुरू
  | २८ श्रावण २०७३, शुक्रबार ०६:४८

जग्गा खाेजेर पठाउन शिक्षा मन्त्रालयकाे निर्देशन

प्रदेश स्तरिय मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडी बढेको छ । चालु आर्थिक वर्षको बजेट भाषणमा सरकारले एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रक्रिया थालनी भएको हो ।

mdc
सरकारले घोषणा गरेको बजेट वक्तव्यमै सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ । सोही अनुसार प्रक्रिया अघि बढाउन सरकारले परिपत्र समेत पठाएको छ । गत असार २७ गतेको बसेको मन्त्रीपरिषद्को बैठकले मेडिकल निर्माण प्रक्रिया थाल्न निर्देशनात्मक परिपत्र समेत गरेको सदस्य सचिव समिति रहकी जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी दीपा हमालले जानकारी दिईन् ।

उनका अनुसार परिपत्रमा निर्णय भएको मितिले दुई महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ । परिपत्रमा मुख्यगरी जग्गा तथा पूर्वाधार पहिचान गरी भोगाधिकार प्राप्तिका लागि सिफारिस गर्ने, पूर्वाधार तथा सम्भाव्यताको अध्ययन गरी शिक्षा मन्त्रालयलमा विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने र स्थानीय स्तरमा समन्वय गरेर पूर्वाधार विकासका लागि तयार गर्ने उल्लेख छ ।

शिक्षा मन्त्रालयले पठाएको परिपत्रमा नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलनका आयोजक समिति सदस्य जीतबहादुर रानाको संयोजकमा तीन सदस्यीय प्रारम्भिक कार्य समिति तोकेको छ । सदस्यहरुमा वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी प्रमुख बालाराम शर्मा, अधिवक्ता कृष्णबहादुर हमाल र जिल्ला शिक्षा अधिकारी दीपा हमाललाई तोकेको छ ।

‘निर्देशनात्मक परिपत्र नै ढिला आयो ।’ सदस्य सचिव तथा जिल्ला शिक्षा अधिकारी दीपा हमालले भनिन्,–‘साउन २० गते पत्र प्राप्तभएसंगै हामीले यसको प्रक्रिया अगाडी बढाएका छौं ।’ परिपत्रमा उल्लेख भएका व्यक्तिहरुलै नै मेडिकल कलेज स्थापनार्थ आवश्यक जग्गा र स्थान छनौट गर्ने अधिकार दिएको छ ।

तर प्रारम्भिक कार्य समितिले जिल्लाका सवै राजनीतिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज र सरोकारवाला निकायसंग अन्तरक्रिया गरेर टुङ्गो लगाउने तयारीमा जुटेको हमालले जानकारी दिईन् । दुई महिना भित्रमा यो समितिले सवै प्रतिवेदन तयार गरेर शिक्षा मन्त्रालयलाई पठाउने छ ।

कुन ठाउँमा मेडिकल कलेज स्थापना गर्ने र कहाँको जग्गा छनौट गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा केही टुंगो नलागेको हमालको भनाई छ । उनले समितिको पहिलो बैठक बुधबार बसेकाले सर्व पक्षिय भेलाबाट जग्गाको टुंगो लगाउने निर्णय भएको उल्लेख गरिन् ।

प्रारम्भिक कार्य समितिका संयोजक जीतबहादुर रानाले सुर्खेतमा मेडिकल कलेज बन्दैछ भन्ने माहोल तयार गर्ने विषयमा पहिलो बैठकमा छलफल भएको जानकारी दिए ।

उनले यही शुक्रबार (साउन २८ गते) जिल्लाका सरोकारवाला पक्ष सवैसंग जग्गाको विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम गर्ने तयारी भएको पनि उनले उल्लेख गरे । ‘सवैको सुझावका आधारमा जग्गा छनौटको विषयलाई टुंगो लगाउँछौं ।’ संयोजक राना भन्छन्,–‘माहोल तयार गर्दै, मेडिकल कलेज निर्माणका लागि थप प्रक्रियामा हामी जुट्छौं ।’

शुक्रबार भएकाे अन्तरक्रियाले वीरेन्द्रनगरका सम्भावित ठाउँहरू प्रस्तावित गरेकाे छ । साविककाे मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे जग्गा, गाग्रेताल र  कालिञ्चाेक नजिकैकाे खाली जग्गा प्रस्ताव गरिएकाे छ ।

मेडिकल कलेज स्थापनाका लागि कम्तिमा एक हजार विगाह भन्दा बढी जग्गा आवश्य पर्ने भएकाले समितिले उपयुक्त जग्गा छनौट गर्नेछ । अप्रयाप्त जग्गाले काम प्रभावित हुने भन्दै संयाजक रानाले कम्तिमा दिगो र विवाद नहुने गरी सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन तयार पर्ने उल्लेख गरे ।

मेडिकल कलेज सुर्खेतमा निर्माण गर्ने सरकारको निर्णयले यहाँका नागरिकहरुले स्वागतयोग्य भएको बताउँदै आएका छन् । मध्यपश्चिमको नेपालगञ्जमा नीजिस्तरमा पहिलो पटक मेडिकल कलेज स्थापना भएको थियो । तर सरकारी लगानीमा बन्ने यो नै यस क्षेत्रको पहिलो मेडिकल कलेज भएको सम्वद्धहरु बताउँछन् ।