☰ open Loading... 25 April 2024|  

याैन र मदिराबाट थाेकेपछि
  | २६ श्रावण २०७३, बुधबार ०२:१९

उग्र अनि रिसाहा स्वभावको एउटा मानिस समयक्रमसँगै साधु–योगी बन्ला भन्ने अनुमान ‘एटलिस्ट’ यो ‘कलियुग’ मा धेरैले गर्न सक्दैनन् । सांसारिक जीवनको उच्च अवसर आत्मसात् गरिरहेको त्यो व्यक्ति ती सबै रसलाई चटक्कै छोडेर वानप्रस्थ मानिने जोगी भेषमा पुग्नु आफैंमा आश्चर्यको कुरा हो ।

चलनचल्तीको भाषाअनुसार ‘ग्यांगस्टर’ देखि सुरा–सुन्दरीको रंगरंगीला लाइफस्टाइलमा रमाइरहेका प्रवञ्जन बहादुर सिंह अचानक योगी व्यग्र वेदनाथमा रूपान्तर हुँदासम्मको किस्सा अचम्मकै छ ।
Yogi

पशुपतिनाथ परिसरको मृगस्थलीस्थित गोरखनाथ गोरक्षपीठ प्रवेश गर्दा शरीरमा अचम्मको ऊर्जा प्रवेश भएपछि उनले घरबार त्यागे अनि आफू रमाइरहेको जीवनशैली परित्याग गरी त्यहीं बस्ने निर्णय लिए । उनको जोगी जीवनको टर्निङ प्वाइन्ट गोरखनाथ गोरक्षपीठ बन्यो । योगी नरहरिनाथका उत्तराधिकारी योगी शेषनाथबाट दिक्षा लिएपछि उनी पूर्ण रूपमा साधु महाराज भएका छन् ।

रामायणमा उल्लेखित कथाअनुसार रत्नाकर डाँकुका रूपमा आतंक मच्चाएका व्यक्ति नै समयक्रममा महान् ऋषि वाल्मीकि भएका थिए । प्रवञ्जन रत्नाकर डाँकुकै परिचयको निरन्तरता त होइनन् तर उनी आफ्ना चाहना र लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्ने जिद्दी स्वभावका युवा थिए । छिटो रिसाउने सिंह अरूलाई हानि पुग्ने वा पछि सोच्न बाध्य हुनुपर्ने क्रियाकलाप गर्न पनि पछि पर्दैनथे ।

अहिले उनमा त्यो बेलाको आक्रामक रिसाहा स्वभाव अचम्मले हराएको छ । भोगका हिसाबले आफूले जति सायदै अरूले जीवन जिएको सिंहको तर्क छ । प्रवञ्जन स्कुले जीवनदेखि नै मनमौजी स्वभावका थिए । विद्यालय बंकदेखि विभिन्न किसिमका चकचकी गरेका सिंहले साथीहरूको नेटवर्क बलियो बनाएका थिए ।

विश्वचर्चित ‘लेमोजिन’ गाडीमा यात्रा गरेको, हङकङ, सिंगापुर, थाइल्यान्ड आदिका विभिन्न मुलुकका बारमा युवतीहरूका साथ रमाइलो गरेको, विश्वका ख्यातिप्राप्त ब्रान्डका रक्सी सेवन गरेको, धनाढ्य एवं शक्तिशाली व्यक्तिहरूसँग संगत गरेको जीवनभन्दा योगी व्यग्रनाथको जीवन धेरै सार्थक भएको सिंहले बताए ।

तिब्बतियन युवतीलाई अर्धाङ्गिनी बनाएका योगीले भने– ‘म ती सबै कुराले अघाइसकेको थिएँ, मलाई आध्यात्मले बोलाइसकेको थियो, अहिले आनन्द छ, सानो परिधिबाट संसार बदल्ने यात्रामा अग्रसर हुन पाएको छु ।’

मजस्तै धेरै युवा अब धर्म रक्षाका निम्ति अग्रसर हुनु आवश्यक छ । योगी भन्छन्– ‘अहिले नै पनि धेरै युवा गोरक्षपीठमा सक्रिय छन्, उनीहरूले सानो परिधिको परिवारभन्दा यो बृहत् परिवारमा आफूलाई सहज महसुस गरेका छन् ।’

समयअनुसार हिन्दू धर्मका केही ‘रिजिड’ कुरामा परिवर्तन आवश्यक मान्ने सिंह यो देशमा उपलब्ध महत्वपूर्ण सम्पत्तिको सुरक्षा गर्न आफ्नो अभियान केन्द्रित हुने बताउँछन् । हिंसाको सट्टा शान्ति प्रयोग गरेर आफू अघि बढ्ने सिंहले बताए । योगी भएपछि टीका लगाइदिए बापत प्राप्त हुने दक्षिणा पाउँदा र त्यसअनुरूप दैनिक जीवन व्यवस्थापन गर्न पाउँदा आनन्द महसुस भैरहेको छ ।

उनको परिवारले पनि यो निर्णयलाई सही मानिदिएकाले अब आफू स्वतन्त्र रहेर गुरुले प्रदान गरेको बाटोमा जान पाएको सिंहले बताए । योगीले भने– ‘सबै कुरा त्यति सजिलो त थिएन् तर श्रीमती, आमा, बुबा र भाइले मेरो भावना बुझिदिए, मैले उहाँहरूलाई त्यागेको होइन, सबैलाई जोड्न यो वैदिक थलोलाई आफ्नो घर बनाएको हुँ ।

हिँड्ने बेलामा छोरीले मैले यी सबै कुरा बुझेकी छैन, १० वर्षपछि बुझाइदिनु है भनेकी छ ।’ प्रवञ्जनले भने– ‘गुरुले आफ्नो शिष्य बनाएपछि अब आफूलाई परिवर्तन गर्ने बाटोमा अग्रसर भएको छु, अहिले नै म योगी महन्त भैसकें भन्दिनँ,म अब यो बाटोमा प्रतिबद्ध भएको छु, समयले मलाई धेरै कुरा सिकाउनेछ ।’

(स्राेत कान्तिपुर साप्ताहिक)