☰ open Loading... 25 April 2024|  

बिरामीकाे अाैषधी नीजिलाइ वितरण
  | १ भाद्र २०७३, बुधबार ०५:११

‘सर्पदंशको औषधि छैन’ भन्दै एक बिरामीलाई उपचार नगरी फिर्ता पठाएको जिल्ला अस्पताल, जाजरकोटले तिनै बिरामीको उपचारका लागि रुकुमको चौरजहारीस्थित एक सामुदायिक अस्पताललाई औषधि उपलब्ध गराएको तथ्य खुलेको छ । जिल्ला अस्पतालले औषधि लुकाएर बिरामीलाई अन्यत्रै रिफर गरेको खुलासा भएको हो ।

भेरीमालिका नगरपालिका–१ रावतगाउँका जसवीर परियारलाई तीन दिनअघि सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर, जिल्ला अस्पतालले एन्टी स्नेक भेनम औषधि नभएको बताएपछि बिरामी परियार उपचारका लागि चौरजहारी गएका थिए । चौरजहारीमा रहेको सामुदायिक अस्पतालले सो औषधि जिल्ला अस्पताल, जाजरकोटबाटै मगाएर बिरामी परियारको उपचार गरेको घटना सार्वजनिक भएपछि जिल्ला अस्पतालको गैरजिम्मेवारीबारे तथ्य बाहिर आएको हो ।

no-antibiotics

जिल्ला अस्पतालमा बिरामी ल्याएर आउँदा भेक्सिन छैन, चौरजहारी लौजानुहोस् भन्दै जिल्ला स्वास्थ्य प्रमुख डा। राजेन्द्र जिसीले रेफर गरेका थिए ।

सर्पदंशका उपचारका लागि चाहिने औषधि छैन भनेर हामीलाई अन्यत्र नै जान भनेपछि चौरजहारी गएको बताउँदै बिरामीका छोरा गोपाल परियारले भने, ‘तर, चौरजहारी अस्पताललाई जाजरकोटकै अस्पताले औषधि दिएको थाहा भएपछि दुःख लागेको छ, अस्पताल प्रशासनले जे मन लाग्यो त्यही गर्न मिल्छ ? भन्ने प्रश्न गर्दै उनले आशंका गरे, ‘कतै जिल्ला स्वास्थ्य प्रमुख डा. जिसीले नै औषधि लुकाएर निजी अस्पताल र क्लिनिकमा औषधि बेच्ने गरेका त छैनन् ?’

डाक्टरले नै औषधि लुकाएको आरोप लाउँदै बिरामीका आफन्तले उनकै कार्यालय परिसरमा हायलकायल बनाएपछि डा। जिसीले जवाफ दिए, ‘जंगलको बीचमा अस्पताल छ, हामीलाई सर्पले टोक्यो भने चाहिन्छ भनेर केही भाइल औषधि स्टक गर्ने गरिएको हो ।’ तर चौरजहारी अस्पतालले आग्रह गरेपछि सहयोग गरिएको बताउँदै उनले सफाइ दिने प्रयास गरेका थिए । तर, डा। जिसीले सञ्चारकर्मीको सम्पर्कमा भने आउन चाहेनन् ।

गत आइतबार राति खाना खाएर सुतेका ४८ वर्षीय परियार विषालु सर्पको टोकाइबाट घाइते भएका थिए । हाल उनको उपचार चौरजहारी अस्पतालमा भइरहेको छ भने उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

चौरजहारी अस्पतालमा एन्टी स्नेक भेनम नभएकाले जिल्ला अस्पताल जाजरकोटबाटै औषधि मगाएर परियारको उपचार गरिएको र थप एन्टिस्नेक भेनम जिल्ला अस्पताल रुकुमसँग माग गरिएको सो अस्पतालका डा। कालेव बुढाले जानकारी दिए ।