☰ open Loading... 19 April 2024|  

असारमा बाल्नुपर्ने बत्ती अझै बलेन्
  | ४ भाद्र २०७३, शनिबार १७:५२

असार समान्तमै बल्नुपर्ने सौर्य सडक बत्ती दैलेखमा साउन अन्तिम हप्ता लाग्न लादा समेत बाल्ने तयारी नै गरिएको छैन् । असार सकिन लाग्दा नगरपालिकाले उपभोक्तासंग १ करोडको कार्यक्रम सम्झौता गरेकै कारण काममा ढिलाई भएको हो ।

नारायण नगरपालिकाले सौर्य सडक बत्ती कार्यक्रमका लागि असार १५ गते उपभोक्ताहरुसंग सम्झौता गरेको थियो ।
स्थानीय विकास मन्त्रालयले जेष्ठको अन्तिममा सौर्य सडक बत्ती कार्यक्रम गर्नका लागि अख्तियारी पठाएपछि ४ वटा उपभोक्ता समिति बनाएर सुरु गरिएको कार्यक्रम अहिलेसम्म पोल नै आएको छैन् ।

देवकोटा चौकदेखी टेलिकम टावरसम्मका उपभोक्ताले पोल मात्र ल्याए गाडेका छन् । तर, अन्य ३ उपभोक्ताले पोल समेत ल्याएका छैनन् । सौर्य बत्ती बाल्न भागबण्डामै उपभोक्ता समिति गठन गरेर सम्झौता गरी मन्त्रालयबाट पठाएको रकम निकासा समेत गरिएको थियो । मन्त्रालयबाट आएको ६५ लाख रुपैँया फ्रिज हुने भन्दै असार मसान्तमै उपभोक्ता समितिलाई भुक्तानी गरिएको नगरपालिका श्रोतले बतायो ।

स्थानीय विकास मन्त्रालयले ६५ लाख अनुदान, नगरपालिकाले (समपुरक कोष) २० लाख र स्थानीय उपभोक्ताले १५ प्रतिशत (लागत सहभागीता) बापत १५ लाख अग्रिम जम्मा गर्नुपर्नेछ । मन्त्रालयले पठाएको पैसा असारभित्र खर्च गरिसक्नुपर्ने ब्यवस्था रहेको छ ।

नगरपालिका र उपभोक्ताले जम्मा गरेको रकम कात्तिकसम्म खर्च गर्ने प्रावधान रहेको छ । सम्झौता नै ढिला भएकाले बत्ति बाल्न पनि ढिलाई भएको नगरपालिकाका ईन्जिनियर हिक्मत रोकायले बताए ।

नगरपालिकाको चुप्रादेखी कलेलचौकसम्म ठाँउठाँउमा सौर्य बत्ती बाल्ने कार्ययोजना रहेको छ । चुप्रादेखी दुई खम्वा बजार (लोहोरे बजार र बरावत चौक सहित) एउटा उपभोक्ता समिति गठन गरिएको छ ।

त्यस्तै पुरानो बजार बसपार्कदेखी देवकोटा चौक र देवकोटा चौकदेखी टेलिकम टावरसम्म र काँडाचौर बसपार्कदेखी कलेल चौकसम्म ४ भाग बनाई उपभोक्ता समिति बनाईएको हो ।

क्रमश २२, २०, २८ र २३ पोलहरु मार्फत सौर्य बत्ति बाल्ने कार्ययोजना रहेको छ । उपभोक्ता समितिले पोलहरु अर्डर गरेपनि अभाव भएकाले ढिलाई भएको प्रतिक्रिया दिएका छन् । हप्तादिन भित्र बाँकी बोलहरु आउने उनीहरुको भनाई छ ।