☰ open Loading... 16 April 2024|  

नेपाली काँग्रेसद्वारा विद्रोही उम्मेदवारलाई कारबाही
  | १० असार २०७४, शनिबार १९:२८

दाङ । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने तथा उनीहरुका प्रस्तावक र समर्थक रहने नेपाली काँग्रेस नेता कार्यकर्तालाई पार्टीले कारबाही गरेको छ ।

निर्वाचन परिचालन समितिका केन्द्रीय प्रतिनिधि सुरेन्द्रराज पाण्डेसहितको उपस्थितिमा जिल्ला कार्यसमिति दाङले उनीहरुलाई नेपाली काँग्रेसको कुनै पनि पदीय दायित्व समाप्त हुनेगरी कारबाही गरेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति, दाङका संयोजक सुरेन्द्रराज पाण्डेले बताए ।

साथै, उहाँले नेपाली काँग्रेसका सबै आधिकारिक उम्मेदवारलाई विजयी बनाउन अधिकतम परिचालित हुनसमेत जिल्ला कार्यसमितिलगायत सम्पूर्ण तहतप्काका काँग्रेसजनलाई आग्रह गरे ।

पाण्डेको उपस्थितिमा जिल्ला कार्यसमितिले लमही नगरपालिकामा प्रमुखका बागी उम्मेदबार डिल्लीबहादुर खड्का, गढवा गाउँपालिका अध्यक्ष डिल्ली आचार्य, वडा नं ४ का वडाध्यक्षका उम्मेदबार भगवती आचार्य, सदस्य भोला हमाल, वडा नं ५ का सदस्य बझौनी चौधरीलाई कारबाही गरिएको छ ।

त्यसैगरी, लमही नगरपालिका–२ मा वडाध्यक्षमा नेपाली काँग्रेसका बागी उम्मेदवार गुरुदेव चौधरी, राजपुर वडा नं ४ का वडाध्यक्ष हिरालाल यादव, वडा नं ३ का सदस्य गयाप्रसाद यादवलाई पनि कारबाही गरिएको जिल्ला कार्यसमिति सचिव शङ्कर डाँगीले जानकारी दिए ।

त्यस्तै, शान्तिनगर गाउँपालिकामा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमन्त योगी, उपाध्यक्ष तारा वली र वडा नं २ मा वडाध्यक्ष बागी उम्मेदवारी दिने मेघराज वलीलाई समेत कारबाही गरिएको छ ।

त्यसैगरी, उनीहरुका प्रस्तावक र समर्थक वीरेन्द्रबहादुर डाँगी र मानबहादुर वलीलाई समेत कारबाही गरिएको नेपाली काँग्रेस दाङले जनाएको छ । बबई गाउँपालिकामा वडा नं ७ मा बागी उम्मेदवारी दिने महावीर चौधरीलाई पनि कारबाही गरिएको काँग्रेसले जनाएको छ ।

घोराही उपमहानगरपालिका–८ मा निमबहादुर खड्का, बबई नगरपालिका–७ मा सदस्य पदमा उम्मेदवारी दिने तेजबहादुर खत्री र अम्मर बुढालाई समेत कारबाही गरिएको नेपाली काँगेसले जनाएको छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–७ मा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने माधव लामिछाने, तुलसीपुर–३ मा उम्मेदवारी दिने मोहन गुरुङ र तुलसीपुर–१३ मा अध्यक्षमा बागी उम्मेदवारी दिने सन्ध्या रिजाल र वडा सदस्य उम्मेदबार लोकेश्वरी अधिकारीलाई समेत कारबाही गरिएको नेपाली काँग्रेस दाङले जनाएको छ ।

साथै, दंगीशरण गाउँपालिका वडा नं ६ मा आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने काँग्रेस नेता बालाराम चौधरीलाई पनि कारबाही गरिएको छ ।