☰ open Loading... 20 April 2024|  

तीन महिनामै फल्यो जुम्लामा इटालियन गोल्डेन फुजी स्याउ ( फोटाे फिचर )
  | २७ जेष्ठ २०७४, शनिबार १७:४५

जुम्ला । निकै महंगो मानिने इटालीमा उत्पादन हुने स्याउ जुम्लामा रोपेको ३ महिनामै फल्न सुरु भएको छ । इटालीमा उत्पादन भएको गोल्डेन र फुजी स्याउको दई हजार सात सय बिरुवा जुम्लाको चन्दननाथ मन्दिरको सेरा जिउलामा तीन महिनाअघि रोपिएको थियो । अहिले फल्न सुरु भएको हो । गएको फागुनमा जुम्लामा ल्याई रोपिएको स्याउको बिरुवामा अहिले फल लाग्न थालेपछि किसान खुशी भएका छन् ।

सेरा जिउलाको २० हजार वर्ग्मिटर मध्ये १० हजार वर्ग्मिटरमा जुम्ला एग्रो फर्मले १ हजार ७ सय विरुवा र हाम्रो सहकारी संस्थाले ८ सय विरुवा रोपिएको जुम्ला एग्रो फर्मका प्रोपाईटर लोेकदर्शन श्रेष्ठले जानकारी दिए । प्रति बिरुवाको जुम्ला ल्याइपुर्‍याउन एक हजार ४ सयदेखि १५ सय मूल्य पर्न आएको बताएका श्रेष्ठले २ हजार ७ सय बिरुवाका रोप्नका लागि ४० लाख ५० हजार रुपैयाँ लगानी लागेकाे उल्लेख गरे । तीन महिनामा फल लाग्दा कृषक र स्थानीय अचम्मीत छन ।

सेरा जिउलामा ३ महिनामै स्याउ फलेपछि स्थानीय बासिन्दा दंग परेका छन् । सहकारीका सरोज शाही आफूले ३ महिनामा फल्छ होला भनेर नसोचेको तर चाँडै फल्न थालेपछि लगानी उठने आशमा व्यवसायी छन ।

यो स्याउ आउँदो भदौ र असोज महिनामा नै तयार हुने श्रेष्ठले बताउनुभयो । यो स्याउ बिरुवाको २७ वर्ष आयु हुने र ४ वर्षपछि एक बोटमा ४२ किलो स्याउ फल्ने उनले बताए ।

नेपालमा समुन्द्रपार गरेर भारत हुँदै वीरगञ्ज भन्सारमा आएको र त्यहाँबाट जुम्ला पुर्‍याएको किसानले बताएका छन् । यसअघि मनाङमा मनाङ एग्रोले रोपेर परीक्षण गरेको यो स्याउ निकै मिठो र महंगो मानिन्छ । यो स्याउ वर्षमा दुई चोटी फल्ने बताइएको छ ।

स्थानीय स्याउको बिरुवा रोपेको ४र५ वर्षपछि फल्ने र धेरै दुःख गर्नुपर्ने भए पनि इटालियन स्याउको उत्पादन चाँडै र आम्दानी धेरै हने देखिएको छ ।