☰ open Loading... 18 April 2024|  

ढंगिला त पत्रकार हैन मिडिया मालिक छैनन ?
  | २ असार २०७४, शुक्रबार १७:५३

सुर्खेतमा ढंगीला पत्रकार भेटिएनन् रे ? सुर्खेतबाट दैनिक रुपमा प्रकाशित हुँदै आएको स्काई न्युज दैनिकले लेखेको यो न्युजप्रति शत प्रतिशत त होईन्, लगभग ५० प्रतिशत सहमति छ मेरो ।

हो सुर्खेतमा ढंगीला पत्रकार छैनन्, अधिकांश व्यक्तिहरु पत्रकार बनेर विशेष महत्वका कार्यक्रम र पत्रकारका संगसंगठन अनि साझा संस्था पत्रकार महासंघको चुनावका समयमा मात्रै देखिन्छन् । जसले गर्दा सुर्खेतमा न्युज लेख्न जान्ने ढंगीला पत्रकार छैनन्, यसो भनिरहँदा सुर्खेतमा काम गर्ने भन्दा गफ गर्ने पत्रकार बढि छन्, भन्ने पनि होईन् । यसो भन्दैमा सुर्खेतमा ढंगीला पत्रकार छैनन्, न्युज लेख्ने क्षमता कुनै पनि सञ्चार माध्यममा कार्यरत पत्रकारहरु हरु सँग क्षमता छैन भन्न मिल्दैन ।

ढंगीला पत्रकार चाहाने सुर्खेतका अधिकांश मिडियाहरु पत्रकारलाई तोकेको तलब समयमै दिनका लागि ढंगीला छैनन् । ढंगीला पत्रकार होईन्, ढंगीला त मिडियाका मालिक छैनन् सुर्खेतमा । दैनिक रुपमा साझ २ घण्टा कार्यालयमा आएर १५ हजार तलब खाने एकजना सम्पादकले ६ हजार तलब खाएर मेन न्युज देखि दिनभरी उपत्यका र जिल्लामा हुने सबै कार्यक्रममा पुगेर न्युज लेख्ने पत्रकारको ढंग खोज्नु बालुवामा पानी खन्याउनु सरह हो । अझ सम्पादकको काम त्यति मै कहाँ सकिन्छ र, अफिसमा भएको त्यहि एकजना पत्रकारलाई न्युजमा गुणस्तरीयता भएन भनेर भन्न सम्म पनि भ्याउछन् ।

हो सम्पादकको काम रिपोर्टरले संकलन गरेका न्युज सम्पादन गर्नु हो, तर हाम्रो जस्तो मोफसलमा त्यो सम्भावना छैन । सम्पादक हुँदैमा काम गर्न नहुने भन्ने छैन ।  पत्रीकालाई गुणस्तरीयता प्रदान गर्नु प्रमुख जिम्मेवारी सम्पादकको हो । रिपोर्टरले तयार पारेका न्युजलाई फाईनल गर्नु मात्रै उत्कृष्ट सम्पादकको भुमिका हैन ।

विडम्बना के छ भने, कतै एकजना रिपोर्टरले पत्रीकाको सबै काम सक्नुपर्ने बाध्यता छ, कतै एकजना सम्पादकले पत्रीकाको सबै काम सकेका छन् । यसले गर्दा पनि ढंगीला पत्रकारहरु उत्पादन हुन सकेका छैनन् । मिडिया संचालकले चाहे जस्तो ३ हजार तलबमा हस हजुर भनेर, वर्षौ त्यहि तलबमा झुन्डिरहन सुर्खेतमा कार्यरत पत्रकारहरु तयार छैनन् । र मिडिया मालिकले लेख्न चाहेका सबै न्युज लेख्न र मिडिया मालिकले लुकाउन चाहेका सबै न्युज लुकाउन पनि पत्रकारहरु तयार छैनन् ।

पत्रकारका योग्यता क्षमता के कति चाहिने हो त्यो, प्रस्ट संग अध्ययन गरौँ अनि क्षमता नभएका पत्रकारलाई मिडिया हाउस प्रवेश गर्ने नपाउने बन्धन लगाउ, अनि ऐनमै तोकिए अनुसारको तलब दिएर काममा लगाऔँ, अनि थाहा हुन्छ सुर्खेतमा ढंगीला पत्रकार छन कि छैनन् भनेर ।

वास्तवमा हामि पत्रकार सँग ढंग नभएको हैन, ढंग त छ तर हामि सँग भएको ढंग प्रयोग गर्नका लागि मन लाग्ने बनाउने मिडिया मालिकको ढंग छैन । पत्रकारलाई ढंगीलो बनाउन त ढंगीला मिडिया मालिक चाहिन्छ । एकजना श्रमजिवी पत्रकारले गरेको श्रम अनुसारको तलब तोक्न हिचकिचाउने मिडियाका मालिक साबहरु ढंगीला पत्रकारको खोजिमा आकाश पाताल भौतारीरहेका छन् । ओहो यो कस्तो बिडम्बना ?

यदि मिडिया मालिकलाई ढंगीला, तगडा अनि विषय विशेषज्ञ पत्रकार चाहिने हो भने, एकपटक पत्रकारका हितका लागि बनेका ऐन नियम पल्टाएर हेरौँ । पत्रकारका योग्यता क्षमता के कति चाहिने हो त्यो, प्रस्ट संग अध्ययन गरौँ अनि क्षमता नभएका पत्रकारलाई मिडिया हाउस प्रवेश गर्ने नपाउने बन्धन लगाउ, अनि ऐनमै तोकिए अनुसारको तलब दिएर काममा लगाऔँ, अनि थाहा हुन्छ सुर्खेतमा ढंगीला पत्रकार छन कि छैनन् भनेर । तोकिएको तलब र क्षमता अनुसारको तलब दिदा पनि ढंगीला पत्रकार पाईएनन भने भनौला, मैले आकर्षक तलब र उचित सेवा सुबिधा दिन चाहादा र खोज्दा पनि ढंगीला पत्रकार पाईएनन भनेर ।

मत भन्छु सुर्खेतमा ढंगीला पत्रकार नभएका हैनन, पत्रकारलाई ढंगीलो तलब नभएको हो । मासिक ५ हजार तलब दिने, अनि त्यो ५ हजार तलब पनि समयमा नदिने, तलबका नाममा भोकायको कुखुरालाई चारो हालेर अस्याय जस्तै रोईकराई गरे पश्चात कहिले हजार कहिले ५ सय रुपैया दिने अनि ढंगीला पत्रकार खोज्ने ? हामीले गुणस्तरीय न्यूजको अपेक्षा गरेर मात्र हुँदैन ।

समस्या पारिश्रमिकको हो । स्थानीय मिडियाबाट रिपोटिंगमा हिड्ने अधिकांश पत्रकारहरुले ५ देखि ८ हजार सम्म तलब खान्छन् । त्यो पनि नियमित नपाउने समस्या छ ।  यदि पत्रकारको क्षमता माथि प्रश्न उठाउने भएमा, क्षमता भएका पत्रकारहरु खोजेर काममा लगाउ, अनि ढंगका पत्रकार मिडिया हाउस आफैले उत्पादन गर ।

एउट दैनिक पत्रीकाका लागि एकजना रिपोर्टर दिनभरी दौडधुप गर्छ, त्यो पत्रकार कति बेला ढंगीलो बनोस । ढंगीलो पत्रकार हुनलाई मिडिया हाउसले उचित समय दिनुपर्छ । मिडिया हाउस पत्रकारले भरौ अनि विटगत पत्रकारीताको विकास गरौँ, अनि पाईन्छन् ढंगीला पत्रकार ।
नत्र त जति कराए पनि ढंगीला पत्रकार पाउन मुस्कील छ ।

(लेखक नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका कार्यसमिति सदस्य हुन् ।)