☰ open Loading... 20 April 2024|  

धनगढीमा ८५ प्रतिशत धान रोपाइँ
  | २७ असार २०७४, मंगलवार १८:४३

धनगढी । कैलालीमा सोमबारसम्म ८५ प्रतिशत धान रोपाइँ पूरा भएको छ । यस वर्ष मनसुन असार १५ गते पछि मात्र सक्रिय हुँदा रोपाइँ ढिलो गरी सुरु भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कोमल शाहीले बताए ।

जिल्लामा ७२ हजार ४०० हेक्टर जग्गामा वर्षे धानबालीको खेती हुने गरेकामा आधा भन्दा बढी क्षेत्रफलको जग्गामा सिँचाइ सुविधा छैन । सिँचाइ सुविधाको भरपर्दो व्यवस्था नहुँदा किसानले आकासको पानीको भरमा रोपाइँ गर्ने गरेका छन् । किसानले सावा मन्सुली, राम धान, राधा ४, सुख्खा ३, सावित्रीलगायत उन्नत जातको धानखेती गर्ने गरेका छन् ।

रासायनिक मल प्रर्याप्त 

अनुदानको मल बिक्री वितरणको जिम्मा लिएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले यस वर्षको धानखेतीका लागि रासायनिक मलको मौज्दात प्रर्याप्त रहेको जनाएको छ ।

कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार डिएपी १६६ मेट्रिक टन, युरिया एक हजार ६०० मेट्रिक टन र पोटास २९० टन मौज्दात रहेको छ । अघिल्ला वर्षसम्म खेती गर्ने समयमा मलको अभाव हुने गरेको थियो ।