☰ open Loading... 19 April 2024|  

सुविधा थप्दै सरकारी अड्डा : यातायातमा बैंकिङ्ग सेवा
  | २ श्रावण २०७४, सोमबार १४:२२

सुर्खेत : यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले आईतबारदेखि बैंकिङ्ग सेवा शुरु गरेको छ । सेवाग्राहीहरुको चाप बढेसँगै कार्यालयका कामलाई छिटो छरितो बनाउन बैंकिङ्ग सेवा शुरुवात गरेको हो । कार्यालयले राजश्व संकलनमा सहजता ल्याउन नेपाल इन्भेष्टमेन्ट बैंकसँग समन्वय गरेको बताइएको छ ।

राजश्व संकलनमा सेवाग्राहीलाई लाईन बस्नुपर्ने बाध्यतालाई निराकरण गर्न कार्यालय परिषरबाटै बैंकिङ्ग सेवा शुरु गरेको कार्यालय प्रमुख श्रीसमशेर रानाले बताए । कार्यालयबाट दिनभरी संकलन गरेको राजश्व बैंकमा बुझाउनुपर्ने र राष्ट्रिय बाणिज्य बैंकमा बुझाउँदा लाईन बस्नुपर्ने झण्झट अन्त्य हुने विश्वास लिइएको छ ।

यसअघि कार्यालयले २ बजेसम्म मात्रै राजश्व संकलन लिने गरेको थियो भने, बैंकिङ्ग सेवा शुरुवात गरेदेखि एक घण्टा सेवा विस्तार गरिएको प्रमुख रानाले बताए । उनका अनुसार एक घण्टा सेवा थप हुदाँ टाढाका सेवाग्राही लाभाम्वित हुने छन् । बैंकिङ्ग कारोबार सञ्चालन भएपछि कार्यालयले संकलन गरेको राजश्व सुरक्षित हुने विश्वास लिइएको छ । कार्यालयले आईतबारदेखी साँझ तीन बजेसम्म राजश्व रकम संकलन गर्ने जनाएको छ ।

२०७१ साल भदौं १ गतेदेखि सेवा शुरुवात गरेको कार्यालयले हाल सवारी कर लिने, सवारी साधन नविकरण गर्ने, भाडाका सवारी साधनलाई रुट–प्रमिट नविकरण गर्ने र जाँच पास गर्ने गरेको छ । जसअनुसार कार्यालयले आर्थिक वर्ष २०७३/०७४ मा ५ करोड ७८ लाख ५ हजार २ सय ६० रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२/७३ मा ४ करोड ९ लाख ५ हजार ४ सय ५५ रुपैयाँ राजश्व संकलन भएको थियो । जसअनुसार गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा ४१ प्रतिशत राजश्व संकलनमा बृद्धि भएको छ । कार्यालयका प्रमुख रानाले कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा सेवाग्राही जानकार भएसँगै राजश्वमा समेत बृद्धि भएको बताए ।

उनले कार्यालयलाई निश्चित काम गर्न निर्देशन दिएको भन्दै सवारी साधन दर्ता, लाईसेन्स दर्तालगायतका कार्यहरु गर्ने अनुमति भएको अझै राजश्व बढ्ने अनुमान गरिएको बताए । कार्यालयमा पछिल्लो समय सेवाग्राहीको चाप निकै बढेको उनको भनाई छ ।

यसैबीच, यातायात ब्यवस्था विभागले आइतबारदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुलाएको छ । देशभरका अधिकांश यातायात कार्यालयले स्मार्ट लाइसेन्सका लागि आवेदन खुलाएका छन् । केही कार्यालयहरुले अन्तिम तयारी गरिरहेकाले एक–दुई दिनमै तिनले पनि यो सेवा थाल्ने विभागले जनाएको छ ।

विभागका १४ वटै अञ्चल कार्यालयहरुले लाइसेन्सको आवेदन खुलाएका हुन् । अब पेपर प्रिन्ट प्रविधिको लाइसेन्सको वितरण रोक्ने घोषणा गर्दै देशभर नै स्मार्ट लाइसेन्सको वितरणको प्रक्रिया सुरु गरिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । ‘अब पेपर प्रिन्ट लाइसेन्सको युग सकियो, अब सबै प्रयोजनमा स्मार्ट लाइसेन्स नै प्रयोग हुन्छ’ प्रवक्ता पाण्डेले भने,’ नयाँ लाइसेन्स र नवीकारण्को लागि अब देशभर नै स्मार्ट लाइसेन्स जारी हुन्छ ।’

लामो समयदेखि लाइसेन्स वितरण नभएका अञ्चल कार्यालयहरुमा पनि आईतबारबाटै लाइसेन्सका लागि आवेदन लिने र लिखित परीक्षा लिने प्रक्रिया थालिएको पाण्डेले बताए । ‘स्मार्ट लाइसेन्स अब देशभर नै पुग्यो । सबै कार्यालयले अब स्मार्ट लाइसेन्स नै बाँड्छन्’ पाण्डेले भने, ‘लामो समयदेखि लाइसेन्स वितरण रोकिएका कार्यालयले पनि वितरणको प्रक्रिया थालेका छन् ।’

अब नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेले देशभरबाटै स्मार्ट लाइसेन्स पाउनेछन् । यसैगरी आईतबारबाट सवारीका लागि नयाँ रुट इजाजतको प्रक्रिया पनि थालिएको छ । कायम भएका रुटमा अनुमति माग्ने नयाँ सवारीलाई अब विभागले प्रक्रिया पु¥याएर इजाजत दिने भएको छ । ‘कायम भएका रुटहरुमा आउने नयाँ सवारीलाई पनि रुट दिन सुरु गरेका छौं’ पाण्डेले भने, ‘यातायात ब्यवस्थालाई प्रभावकारी बनाउन यसले ठूलो भूमिका खेल्नेछ ।’

(लेखक शर्मा काँक्रेविहार दैनिकका सम्वाददाता हुन् ।)