☰ open Loading... 19 April 2024|  

प्रदेश र संघमा एमाले पहिलो हुन्छः बडुवाल
  | ४ श्रावण २०७४, बुधबार ११:२९

राजनीतिको सुरुवात कसरी गर्नुभो ?  

पढ्दा पढ्दै गरेको हुँ । २०५० तिरै हुनुपर्छ जसबेला म आठ कक्षामा पढ्थें । उतिबेलाका शिक्षक श्यामबहादुर कार्की, बलबहादुर कठायत, दिपक बम र कर्णबहादुर कठायतले राजनीतिक प्रेरणा दिनुभएको हो । त्यतिबेला उहाँहरुकै सक्रियतामा हामी अनेरास्ववियुमा लागेका हौं । एमालेको त्यति राम्रो संगठन थिएन । २०४९ सालमा लगाम गाविस भरि नै एमालेले उम्मेदवारी दिएन । २०४८ सालमा हाम्रो सबै परिवारले एमालेमा भोट हाल्यौं ।

जिल्लाबाट बालाराम शर्मा, देवेन्द्र विसीलगायतका नेताहरु त्यहाँ पुगे । यिनै दुवै नेताहरुबाट हामी असाध्यै प्रभावित भयौं । हामीले लगाममा अनेरास्ववियुको प्राक समेत गठन ग¥यौं मेरो अध्यक्षतामा । २०५२ सालमा अनेरास्ववियु कैलालीको जिल्ला कमिटि सदस्य भएँ । मेरो एसएलसी त्यतै भएको हो । २०५४ सालमा म सुर्खेत आँए । २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा हामीले जित्न सफल भयौं ।

पार्टी राजनीतिमा कहिले प्रवेश गर्नुभयो ? 

२०५३ मा मैले कैलालीबाट पार्टी सदस्यता प्राप्त गरें । २०५४ सालमा म पार्टी गाँउ कमिटि सचिव भइसकेको हुँ । उतिबेला मलाई क्रषि कमरेडले विद्यार्थीको जिल्ला कमिटिमा राख्नुप¥यो भन्नु भो । २०५५ सालमा अनेरास्ववियुको जिल्ला कमिटिमा सदस्य भएँ । २०५८ सालमा इलाका अधिवेशनबाट दुई कार्यकाल सचिव बनेर कार्यभार सम्हालें । २०६३ सालमा म जिल्ला कमिटि सदस्यमा आएँ । दुई कार्यकाल जिल्ला कमिटि सदस्य, एक कार्यकाल सचिवालय सदस्य हुँदै अहिले जिल्ला कमिटि सचिवको भूमिकामा छु ।
राजनीतिमा तपाइले केहि पाएजस्तो लाग्छ ?

व्यक्तिगत स्वार्थ भन्दापनि राजनीतिमा हामी समाज रुपान्तरण गर्ने उदेश्यका साथ लागेका हौं । राजनीतिमा लाग्ने क्रममा कहिलेकाही अप्रिय घटनाहरु पनि घटेका छन् । अझैपनि पीडा बोध भइरहन्छ । हामी पार्टीको काम लिएर गाँउमा कार्यक्रम गर्न गइरहँदा नेकपा माओवादीका साथीहरुबाट आक्रमण भयो । उतिबेला समयमै उपचार नभएको भए म यहाँहरुसँग बस्ने, कुरा गर्ने अवस्थामा हुने थिएन । तत्कालीन नेताहरुले समयमै उद्धार गरी उपचार नगरेको भए बाँचिन्थेन होला । त्यसैले अहिले पार्टीका साथीहरुले मलाई सुर्खेती कम्युनिष्ट आन्दोलनलाई हाँक्ने अवसर दिनुभएको छ । पार्टीलाई संस्थागत गर्ने, पार्टीको संगठनलाई विस्तार गर्ने, जनताको सेवागर्ने अवसर पार्टीले दिएको छ । म यस मानेमा गर्व गर्छु ।

चौकुने गाउँपालिकामा एमालेले जितेको छ । कतिको सन्तुष्ट हुनुहुन्छ ?

म त्यो इलाकाका हरेक व्यक्ति तथा संस्थासँग जोडिएको छु । सुरुवातमा हाम्रो संगठन केहि कमजोर भएतापनि पछिल्लो अवस्थामा हाम्रा सबै ठाँउमा कमिटिहरु गठन थिए । सबै कमिटि चुस्त दुरुस्त थिए । त्यसमा पनि हामी केहि स्थानमा थोरैले चुकेका छौं । हामी त्यसमा समीक्षाकै चरणमा छौं । हामीले चौकुने जित्यौं त्यसमा पनि सन्तुष्ट छैनौं । १० ओटा जित्ने हाम्रो लक्ष्य थियो । ४ ओडामा हामीले झिनो मतले हारेका छौं । यो परिणाम अप्रत्यासित होइन । हामीसँग जित्ने आधार थियो ।

तर समग्र सुर्खेतमा यहाँहरुको अवस्था कमजोर देखियो नि ? 

२०४८ सालदेखि नै हामी सुर्खेतमा १ नं. क्षेत्र जित्ने तयारी थियो २ नं. क्षेत्रमा सांगठनीक अवस्था अलि कमजोर थियो । हामी झिनो मतले मात्रै पराजित भएका छौं । २०४९ सालमा भएको स्थानीय निकायमा जिल्लामा हामी पहिलो हुन सकेनौं । २०५१ सालमा सम्पन्न संसदीय चुनावमा सुर्खेत ३ ओटा निर्वाचन क्षेत्रमा विभाजित भयो । जसमा हामी निर्वाचन क्षेत्र नं. २ जित्यौं अन्य २ क्षेत्रमा पराजित भयौं । २०५४ सालमा पार्र्टी विभाजन पछिको २०५६ सालको निर्वाचनमा हामीले ३ क्षेत्रमै झिनो मतले मात्रै हामीले पराजय भोग्नुप¥यो ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा हामीले निर्वाचन क्षेत्र नं. १ र २ जित्न सफल भयौं भने एउटा गुमायौं । २०७० सालको चुनावमा हामीले आन्तरीक विवाद मिलाउन नसक्दा तिनै क्षेत्र गुमायौं । हामी दोस्रो पार्टीको रुपमा स्थापित भयौं ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हामीले सुर्खेतका ७ ओटा तह जित्ने योजनाका साथ हामी अघि बढ्यौं । हामी त्यहि किसिमले परिचालित भयौं तर परिणाम सोचे जस्तो आएन । सुर्खेतका ९९ वडामा ४३ हामीले जितेका छौं । ४६ काँग्रेसले जितेको छ । त्यसमा पनि हामीले अन्तर्घातको कारणले गर्दा वीरेन्द्रनगर १६ मा परिणाम गुमाउन पुग्यौं । वडा नं. ९ मा पनि एक सदस्य जितेका छौं त्यहाँ थोरै मतले पराजित भएका छौं । बराहतालको वडा नं. ८ मा पनि हामी सबै सदस्य जितेर अध्यक्ष हारेका छौं । यसरी हेर्दा हामी ४८ वडा जित्ने देखिन्छ । जिल्लामा निर्वाचित ५१३ जनप्रतिनिधिहरु मध्ये हामी २२८ जितेका छौं ।

तपाइले भनेजस्तै हामी कमजोर भएका छैनौं । ४ ओटा कार्यपालिकामा हाम्रो बहुमत छ एउटा कार्यपालिका मिश्रित छ । यो निर्वाचनमा हामी जनमतका हिसाबले पहिलो पार्टी बन्न सफल भएका छौं । हामीले २०७० सालमा भएको क्षतिपुर्ति यो पटक असुल्ने योजना बनाएका थियौं । वीरेन्द्रनगरमा उपमेयर २१ सय ७४ मतले अगाडी हुनुहुन्छ मेयर ५ सय मतले हार्नुभएको छ । वीरेन्द्रनगरमा हामी बहुमत वडा विजय गरेका छौं । आन्तरिक गडबढीका कारण हामीले मेयर गुमाउन पुग्यौं ।

चुनाव परिणामबारे कस्तो प्रतिक्रिया दिनुहुन्छ? 

हामीले वडा, गाउँ, नगर, जिल्ला कमिटीमा समीक्षा गरिरहेका छौं । तल बितलका सम्वन्धमा नगरले आयोग नै गठन गरेको छ । सबै तहबाट प्राप्त प्रतिवेदनलाई हामी जिल्ला कमिटिमा मसिनो गरेर अध्ययन गर्छौं । अनि निष्कर्ष आँउछ । हामी जसले चुनावी लडाइलाई विरोधीसँग मिलेमतो गरेर हराउन भूमिका खेलेका छन । तिनीहरुलाई यहाँ राखिरहन उपयुक्त छैन । उनीहरुलाई कारवाहीको दायरामा ल्याइन्छ ।

कारवाही कार्यकतालाई मात्रै हुन्छ या नेतालाई पनि ? 

कारवाही गल्ति गर्नेलाई हुन्छ चाहे त्यो जुनसुकै कमिटिमा नै किन नहोस । तर कसैले रिसिवी साँध्न मात्रै आरोप लगाएका हुनसक्छन । हामी प्रतिवेदनको गहन तरिकाले जाँच गर्छौं र निष्कर्षमा पुग्छौं । हामीलाई प्रमाण चाहिन्छ । विना प्रमाण कसैलाई कारवाही हुदैन । मोर्चामा जसले धोका दियो त्यो कारबाहीबाट बच्दैन ।

अबको मिसन के हो ?

हामी यो प्रदेशको सम्भावित राजधानीमा छौं । भोली प्रदेश सभाले यसलाई राजधानी तोक्ला । यो प्रदेश हामीले लडेर ल्याएका हौं । यो प्रदेश शहिदहरुको रगतले सिञ्चित भएको छ । हामीले सुर्खेतमा आन्दोलन सुरु ग¥यौं । आन्दोलनको नेतृत्व नेकपा एमालेले ग¥यो । म पार्टी सचिव भएको नाताले भन्दा हामीले भूमिका खेल्यौं । अब हामीले यो प्रदेशको आर्थिक सम्मृद्धिलाई प्रमुख ध्यान दिएका छौं । यो प्रदेशलाई सुखी, खुशी भएको हामीले देख्न चाहन्छौं । हामी विदेशमा पलायन भएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न चाहन्छौं । उनीहरुमा भएको योग्यता, क्षमता र दक्षतालार्ई समृद्व प्रदेश निर्माणमा परिचालन गर्न चाहन्छौं । मानवीय सुचकांकको आधारमा यो प्रदेश सबैभन्दा पछि परेको छ यद्यपी साधन र स्रोत प्रचुर मात्रामा भएको पनि यहि प्रदेश हो । हामी यीनै स्रोत र साधनहरुको पर्याप्त प्रयोग गर्दै प्रदेशलाई समुन्नत बनाउन चाहन्छौं । यस क्षेत्रबाट विदेश गएका युवाहरुको स्रोत र साधनलाई प्रदेश समुन्नतीको क्षेत्रमा लगाउन चाहन्छौं । यो प्रदेशको केन्द्र सुर्खेत बनाउनको लागि हामीले सबै पार्टीहरुसँग सम्वाद, सहकार्य गर्छौं । हामीले अहिले त्यो भूमिका खेलिरहेका छौं ।

प्रदेशको चुनावमा यहाँहरुको उपस्थिति कस्तो रहन्छ ?

हामी चार ओटै निर्वाचन जित्ने आधारहरु निर्माण गरिरहेका छौं र हामी चारै क्षेत्रमा विजय प्राप्त गर्छाैं । हामी अबको निर्वाचनमा विगतमा भएका कमीकमजोरीको पाटोलाई सुधार गरेर लैजान्छौं । जिल्लाको या सिंगो प्रदेशको विकास गर्नको लागि होस जनताले एमालेलाई विश्वास गर्छन । प्रदेशको चुनाव पछि हुने संसदीय चुनाव जित्न हामीलाई झनै सहज हुनेछ । अहिले पनि हामी पहिलो पार्टी भएका छौं । उपस्थितिका आधारमा पनि हामी अब हुने दुवै निर्वाचनमा अत्याधिक मतका साथ विजयी हुन्छौं ।

तपाईहरुले जित्ने स्पष्ट आधार के हो ? 

पहिलो आधार त हाम्रो सांगठनिक गतिविधि हो । हाम्रो पार्टीको नीति, सिद्धान्त र विचार हो । अहिले आम नेपाली जनतामा एमालेप्रतिको लहर छ । जतिबेला देश संकटमा थियो । जतिबेला देश नाकावन्दीको चपेटामा थियो । उतिवेला राष्ट्रियताको सवालमा, जनजीविकाको सवालमा या सन्तुलित विदेश नीतिका सवालमा होस । एमालेले लिएको अडानले देशलाई झुक्न दिएन । एमालेकै अडानका कारण जनताले दुःख पाएनन् । हाम्रो पार्टी सरकारमा रहँदा गरेका सबै कामहरुबारे जनतालाई बुझाउछौं । सम्मृद्ध सुर्खेत बनाउने योजनाका साथ हामी सबै सुर्खेती जनतामाझ जान्छौं र हामीलाई सुर्खेति जनताले विश्वास गर्नेछन र अत्याधिक बहुमतका साथ विजयी गराउनेछन् ।

यहाँको पार्टीले देखिने गरी सुर्खेती जनतालाई के दिनु भा छ ?

हामीले सुर्खेतको भौतिक पूर्वाधार निर्माणको क्षेत्र होस या मानवीय विकासको क्षेत्रमा होस । हामीले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छौं । नेकपा एमालेले हरेक अभियानमा नेतृत्वदायी भूमिका खेलेको छ । त्यसैको परिणाम स्वरुप मध्यपश्चिमाञ्चल विश्वविद्यालय हाम्रा नेता भुषणकुमार मानन्धरको नेतृत्वमा स्थापना गर्न सफल भयौं । क्षेत्रीय हस्पिटल अशोक राई मन्त्री हुँदा स्थापना ग¥यौं । हामीले यस्ता धेरै काम गरेका छौं । सुर्खेतमा विमानस्थलको क्षेत्र विस्तार गर्न चाहन्छौं । सुर्खेतलाई हामी आधुनिक पर्यटकयि शहरको रुपमा विकास गर्न चाहन्छौं । ग्रामीण क्षेत्रको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै हामी भूमिहीन सुकुम्वासी, बाढीपीडितहरुको समस्या समाधान गर्दै समुन्नत सुर्खेत बनाउने अभियानमा जुटिरहेका छौं ।

प्रदेश र संघको चुनावमा अन्तर्घात हुदैन भनेर कसरी भन्नुहुन्छ ? अन्तर्घातकै आधारमा भन्ने हो भने कसरी चुनाव जित्नुहोला र ?

होइन, मैले भनिसकें नि । अन्तर्घात गर्नेलाई कारवाही गरिन्छ । यसअघि अन्तर्घात गर्ने नेताहरुले चेतिसक्नु भएको छ । त्यसैले अहिले हामी समीक्षाकै चरणमा छौं । अन्तर्घात भएको खण्डमा नेताले, सिंगो पार्टीले र जनताले दुःख पाउँछन् । एमालेले नजित्नु भनेको जनताले दुख पाउनु हो । समाज परिवर्तनमा अवरोध सिर्जना हुनु हो । देश दुर्गतिको पथमा जानु हो । अब यसपछि उहाँहरुले आत्माआलोचित गर्नुहुन्छ र सिंगो एमालेलाई, सिंगो जनतालाई जिताउन महत्वपूर्ण भूमिका खेल्नुहुन्छ भन्ने लाग्छ । अहिले सम्पूर्ण पार्टीपंक्ति एक ढिक्का भई आउने चुनावको तयारीमा जुटिसकेका छौं । धन्यवाद