☰ open Loading... 19 April 2024|  

सुर्खेतमा सम्वन्ध विच्छेद गर्नेकाे संख्यामा बढोत्तरी
  | ५ श्रावण २०७४, बिहीबार १६:१८

सुर्खेत । सुर्खेतमा सम्वन्ध विच्छेदका घटना बढ्दै गएका छन् । हरेक वर्ष यस्ता घटना बढ्दै गएको जिल्ला अदालत सुर्खेतको तथ्याङ्कले देखाएको छ । जिल्ला अदालतका अनुसार अघिल्लो आर्थिक वर्षमा सुर्खेतमा तीन सय २ वटा सम्वन्ध विच्छेदका घटना दर्ता भएका थिए । ति मध्ये दुई सय ४५ जोडीको सम्वन्ध विच्छेद भएको छ । सम्वन्ध विच्छेदका ५६ मुद्धा अझै फछ्र्यौट हुन बाँकी छन् ।

‘सुर्खेत जिल्ला सम्वन्ध विच्छेद अधिक हुने जिल्लामा पर्छ’ श्रेष्तेदार वीरेन्द्र श्रेष्ठले भने, ‘अघिल्लो वर्ष मात्रै अदालतमा तीन सय २ सम्वन्ध विच्छेदका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७२–७३ मा दायित्व सरेका तीन सय ४० सहित अघिल्लो आर्थिक वर्षमा एक हजार एक सय ८७ मुद्धा दायर भएका थिए ।

ति मध्ये सबैभन्दा अघिक सम्वन्ध विच्छेदका घटना थिए । ‘अदालतमा सबैभन्दा बढी मुद्धा सम्वन्ध विच्छेदका आउने गरेका छन्’ उनले भने, ‘यो समाजिक हिसावले डरलाग्दो अवस्था हो ।’

यस्तै दोस्रोमा अंश सम्वन्धी मुद्धा अदालतमा धेरै परेका छन् । कुल एक हजार एक सय ८७ मुद्धा मध्ये एक सय ६६ अंश सम्वन्धीका छन् । ति मध्ये अघिल्लो आर्थिक वर्षमा ८५ मुद्धा फछ्र्यौट भए भने ८१ बाँकी छन् ।

तेस्रोमा लेनदेन सम्वन्धी मुद्धा छन् । अघिल्लो आर्थिक वर्षमा एक सय १२ वटा यस्ता मुद्धा परेकामा ८३ वटा फैसला भएका छन् भने ३० वटा बाँकी छन् । चौथोमा चेक अनादरका मुद्धा छन् । चेक अनादरमा ८२ वटा मुद्धा परेकामा २९ वटा फछ्र्यौट भएका छन् भने ५३ बाँकी छन् ।

अदालतमा परेका कुल एक हजार एक सय ८७ मुद्धा मध्ये अघिल्लो आर्थिक वर्षमा सात सय ९५ मुद्धा फछ्र्यौट भएका छन् । अदालती नियम अनुसार पाँच सय भन्दामाथि मुद्धाको संख्या भएको खण्डमा दुई जना र हजारमाथि भएको खण्डमा तीन जना न्यायाधीश हुनुपर्छ । तर, सुर्खेतमा एउटै न्यायाधीशले सबै मुद्धा हेर्नुपर्ने बाध्यता छ ।

‘न्यायाधीश र जनशक्ति अभावकाबीचबाट पनि हामीले उल्लेख्य काम गरेका छौं’ उनले भने, ‘यो हाम्रा लागि उपलब्धीको विषय हो ।’ स्थानीय तहको चुनावका कारण पनि मुद्धा प्रभावित भएका हुन् । ‘करिव एक महिनाको समय श्रीमान (न्यायाधीश) को चुनावमै वित्यो’ श्रेष्तेदार मल्लले भने, ‘चुनावको समय अदालती प्रक्रियामा खर्चिन भएको भए अझ धेरै मुद्धा किनारा लाग्ने अवस्था रहन्थ्यो ।’