☰ open Loading... 19 April 2024|  

सुर्खेतमा ७५१ द्वन्द्व प्रभावितले बुझे राहत रकम, ८ करोड बजेट फ्रिज
  | ५ श्रावण २०७४, बिहीबार १६:५६

सुर्खेत : सुर्खेतका ७५१ जना द्वन्द्व प्रभावितहरुले राहत रकम बुझेका छन् । स्थानीय शान्ति समितिको कार्यालय सुर्खेतले मृतक, बेपत्ता, अपहरण र विस्थापित भएका ७५१ परिवारलाई कुल ११ करोड ९८ लाख १६ हजार पाँच सय राहत रकम वितरण गरेको हो ।

मन्त्रालयबाट आएको कुल २० करोड ९ लाख रकम मध्य ८ करोड १० लाख रकम फ्रिज भएको स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले जानकारी दिए । थापाका अनुसार मृतक १८३ जनाका आफन्तलाई जनही रु ५/५ लाख, २ जनालाई २/२ लाख र ५५ जनालाई डेढ/डेढ लाख रकम वितरण गरिएको छ ।

यस्तै वेपत्ता १३ जनाको परिवारलाई जनही ५/५ लाख, अपहरणमा परेका आफन्तलाई २५/२५ हजार र विस्थापित परिवारलाई २५/२५ हजार राहत रकम वितरण गरेको संयोजक थापाले जानकारी दिए ।

थापाले बजेट ढिला आएका कारण सवैलाई राहत रकम वितरण गर्न नसकेर फ्रिज भएको बताए । उनले रकम वितरण गर्दा हकदारको विवाद, राहत बुझ्ने व्यक्तिकै मृत्यु हुनु, प्रमाण जुटाउन समस्या जस्ता कारणले राहत वितरण कार्य प्रभावकारी नभएको उल्लेख गरे ।