☰ open Loading... 19 April 2024|  

नेटाको विकास वजेट दुरुपयोग
  | ७ श्रावण २०७४, शनिबार २०:२२

सुर्खेत। यहाँको लेकवेसी नगरपालिका वडा नम्वर ५ मा गत आर्थिक वर्ष २०७३/०७४ मा विकासका लागि विनियोजन भएको रकमको दुरुपयोग भएको पाइएको छ ।

सडक मर्मत र विद्यालयको फर्निचर खरिदका लागि विनियोजन भएको करिव एक लाख ८० रुपैयाँ आर्थिक वर्ष सकिँदा पनि काम नै सुरु भएको छैन ।

कुनै पनि योजना सम्पन्न गर्दा उपभोक्ता समिति अनिवार्य रुपमा गठन गर्नुपर्ने भएपनि उपभोक्ता समिति गठन नगरेरै ५० हजार रुपैयाँको चेक एक जना व्यक्तीको नाममा काटिएको थियो ।

उपभोक्ता समिति गठन नै नगरेर वडा सचिवले रकम फच्र्यौट गरेका कारण काम नभएको हो । वडा सचिव नरेन्द्र हमालले सडक मर्मत र विद्यालयको फर्निचर खरिदका लागि विनियोजन गरिएको रकम स्थानिय नागरिक डिलबहादुर शाहीको नाममा सोझै चेक हस्तान्त्रण गरेको भेटिएको हो ।

लेकवेसी नगरपालिका ५ नेटादेखि मजुवाको ठकुरीटोल सम्म जोड्ने सडक निर्माणका लागि ८० हजार रकम विनियोजन गरिएता पनि काम हुन सकेको छैन ।  आर्थिक वर्ष सकिँदा पनि काम शुन्य भएको स्थानिय नागरिक ललित बहादुर शाहीले बताए ।

यता वजेट विनियोजन भएको स्वीकार गर्दै आफुले ५० हजार रकम लिएको भए पनि वर्षाका कारण विविध समस्या भएको र भदौको महिना काम शुरु गर्ने आरोपित डील बहादुर शाहीले दावी गरेकाे समाचार जागरण अनलाइनमा छ ।

नेपाल राष्ट्रिय माद्यमिक विद्यालयमा फर्निचर खरिदका लागि विनियोजन गरिएको लगातार दुई वर्ष भएपनि विद्यालयमा फर्निचर खरिद हुन सकेको छैन ।

वडा सचिवले विद्यालयको खातामा रकम जम्मा गरिदिनु पर्ने भए पनि सोझै व्यक्तीको नाममा चेक दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश वौडेलले बताए ।

यता वडा सचिव हमालले भने काम नियम अनुसार भएको दावी गरे । आर्थिक वर्ष भित्रै योजना सम्पन गर्नुपर्ने र कुनै पनि एउटा व्यक्तीको नाममा रकम दिन नमिल्ने कुरा आफुलाई थाह नभएको भन्दै पछि कुरा गरौँला म अहिले व्यस्त छु भन्दै टारेका थिए ।