☰ open Loading... 18 April 2024|  

सेफ्टी बारले दुर्घटनामा कमी
  | ११ श्रावण २०७४, बुधबार ०९:३०

सुर्खेत । सुर्खेत जुम्ला सडकमा दुर्घटना रोक्न लगाइएको फलामे ‘सेफ्टी बार’ ले यात्रु सुरक्षित महसुस गर्न थालेका छन्। अप्ठ्यारो र भिरालो ठाउँमा फलामे बार लगाइएपछि दुर्घटनामा कमी आएको सडक विभागले जनाएको छ ।


विगतमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटुभीर, कालीकोटको सेरावाडा, टिमुरे, ताडीभीर, बिहानी, हुल्म जीते, सुर्खेतको कल्याण र जुम्लाको गाडगडेनीमा सेफ्टी बार हालिएको छ । अन्य पनि धमाधम काम भइरहेको छ ।

बार लगाउन खाल्डो खन्ने, गिटी, बालुवा जम्मा गर्ने, पिलर गाड्ने र बार कस्ने काम अन्तिम चरणमा पुगेको छ। अहिले पनि दैनिक १ सय ३० जना कामदार दैलेख, कालीकोट र जुम्लामा खटिइरहेका छन् ।

बार लगाइएपछि सुरक्षित महसुस हुने गरेको मान्मस्थित हाम्रो स्टेसनरीको बोलेरो जीप चालक सीताराम अधिकारीले सुनाए। ‘बारले स्पिडमा हुइँकिने हेभी गाडी रोक्न नसके पनि सानातिना दुर्घटना रोक्न सहयोग पुर्‍याएको छ,’ उनले भने ।

२ सय ३३ किमि लामो राजमार्गका अप्ठ्यारो र भीर भएको खण्डमा फलामे बार लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलवहादुर भुजेलले बताए ।

उनका अनुसार अहिले सुर्खेतबाट दैलेख तल्लो डुंगेश्वरसम्म ८ किमि र त्यसमाथि जुम्लासम्म २१ किमिमा काम भइरहेको छ । ‘सेफ्टी बारले गाडी र यात्रु दुवैको सुरक्षा गर्छ,’ भुजेलले भने, ‘सबैलाई सेफ फिल हुन्छ ।’