☰ open Loading... 19 April 2024|  

परनिर्भरताको पराकाष्ठ, भारतबाट मात्रै १५ करोड तरकारी भित्रिन्छ
  | ८ भाद्र २०७४, बिहीबार १०:१३

प्रदेश नम्बर ६ का कृषकलाई आन्तनिर्भर बनाउन सरकारी तथा गैरसरकारी निकायले थुप्रै प्रयास गरेपनि भारतीय तरकारी आयात हुने क्रम रोकिएको छैन् । प्रदेशभरी नै उत्पादन हुने तरकारी तथा फलफुलले वीरेन्द्रनगरको माग धान्न नसकेपछि भारतबाट तरकारी आयात हुने क्रम बढ्दै गएको हो । भारतीय तरकारीले मात्रै सुर्खेतको ६० प्रतिशत बजार हिस्सा ओगटेको छ । वर्षेनी भारतबाट तरकारी आयात हुने क्रम बृद्धिहुँदा सुर्खेतबाट करौडौं रकम बाहिरन थालेपछि व्यवसायीहरु चिन्तित छन् ।

मासिक सुर्खेतमा एक हजार चारसय मेट्रिकटन तरकारी तथा फलफुल आयत हुन्छ । यो मध्य ४० प्रतिशत सल्यानको कपुरकोट, चितवन, बुटवल, दैलेख र बाँकी सुर्खेत जिल्लाको हो । सिजनमा जुम्ला र कालिकोटको स्याउ बाहेक प्याज, लसुन, खुर्सानी जस्ता तरकारीहरु भने भारतबाट सुर्खेत भित्रने गर्छ ।

परनिर्भरतालाई कम गर्दै नेपालमै तरकारी तथा फलफुल उत्पादनलाई बढवा दिने अनेक प्रयास भएपनि सफल नभएपछि भारतबाट तरकारी ल्याउनु परेको बाबु एण्ड सब्जी मण्डीका सञ्चालक प्रवल शाही बताउँछन् । ‘भारतबाट तरकारी नआएसम्म स्वदेशको तरकारीले सुर्खेतको माग पूरा गर्न सकिदैन्’ शाही भन्छन्,–‘राज्यले कम्तीमा यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ ।’

बार्षिक तरकारी तथा फलफुलबाट मात्रै सुर्खेतमा २५ करोडको कारोवार हुन्छ । यो मध्य १५ करोड रुपैयाँ वर्षेनी भारतका व्यवसायीले लैजान्छन् । कृषकका लागि महोत्वकांक्षी योजनाहरु सरकारले सार्वजनिक गरेपनि परनिर्भरताले सुर्खेतमा माग धानिनु बलुवामा लगानी गरे सरह भएको शाहीको तर्क छ ।

‘स्वदेशकै तरकारी तथा फलफुलले स्थानीय बजारको माग धान्ने हो भने नेपालको अर्थतन्त्रमा टेवा पुग्छ’ शाही थप्छन्,–‘राज्यको नीति नै बुझ्न सकिदैन् आवश्यक तरकारी र फलफुलको सम्भावनाको खानी भएको क्षेत्र हुँदा पनि माग अनुसारका तरकारी उत्पादन हुन सकिरहेको छैन् । त्यसैले भारतबाट तरकारी सुर्खेत भित्राउन बाध्य छौं ।’

कृषि बजार व्यवस्थापन समिति सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले सुर्खेतबाट तरकारी र फलफुल बाहिर निर्यात भन्दा बढी भित्रने गरेको जानकारी दिए ।