Loading... 18 November 2017|   शनिबार, मंसिर २, २०७४

सुदूरपश्चिमको महान पर्व गौरा

मीन ठकुरी   |

मीन ठकुरी
धर्म, संस्कृतिले समाजमा ठूलो प्रभाव पारेको हुन्छ । त्यहीभित्र मानिस बाँधिएको हुन्छ । त्यही धर्म, संस्कृतिभित्र मानिसले आफ्नो व्यवहारलाई समावेश गर्दछन् पनि ।  यो पर्व विशेषगरी धार्मिक आस्थामा आधारित छ । धार्मिक आस्थासँगै गौरालाई  मनोरञ्जन दिने अर्को पक्षका रुपमा लिने गरिन्छ । त्यसैले पनि गौरा पर्वको धार्मिक, सांस्कृति महत्व बढ्दै गएको मान्न सकिन्छ । सन्दर्भ सुदूरपश्चिममा मनाइने गौरा पर्वको  हो । सुदूरपश्चिम अथवा अहिलेको सात नं. प्रदेशमा  यो पर्वलाई विशेष पर्वका रुपमा लिने गर्दछन् ।  गौरापर्व सेती महाकालीका सबै जिल्लामा मनाइन्छ ।

अझ भन्ने हो भने केही वर्षयता काठमाण्डौंमा पनि यो पर्वलाई मनाउने प्रचलन छ । सुदूरपश्चिम क्षेत्रसँगै जोडिएको उत्तराञ्चल, कुमाऊ क्षेत्रको केही भागमा पनि गौरा मनाइन्छ । सीमावर्ती चम्पावत, लोहाघाट, सोरपिथोरागढ र गंगोलीघाट आदि क्षेत्रमा  गौरापर्व मनाइन्छ । बसाइ सराइका कारणले काठमाडौंमा बस्न पुगेका सुदूरपश्चिमका मानिसले पनि धुमधामसँग गौरापर्व मनाउँछन् । काठमाडौंमा बसेका सुदूरपश्चिमका मानिसहरूले हरेक वर्ष यस पर्वलाई अभिरुचिका साथ मनाउने गर्नुले पनि यसको क्षेत्र विस्तार हुँदै गएको छ ।  धार्मिक आस्था जनहृदयमा बढ्दै गएको छ ।

सामाजिक एकता, सद्भाव र आपसी मेलमिलापलाई सुदृढ पारेको छ गौराले ।  शिवपार्वती देवादिदेव हुन् । प्राचीन कालदेखि अहिलेसम्म यिनको महिमा गौरवशाली रहेको छ । प्राचीन कालदेखि पूजित शिव पार्वतीको आराध्यबाट कल्याण, समृद्धि, उन्नति, शान्ति र चिताएको कामना पूर्ण हुने जनविश्वास  छ । गौरा पर्व भाद्र पञ्चमी, षष्ठी, सप्तमी र अष्टमी तिथिमा मनाइन्छ । शुक्ल पक्ष वा कृष्णपक्ष तिथि घटेको नघटेको आधारमा गौरालाई अनारी र उजेली भन्ने गरिन्छ ।

नयाँ ब्रत बस्ने महिलाहरू उजेली गौरा परेको वर्षबाट गौराको ब्रतारम्भ गर्दछन् । गौरा पूजन भारतबाट आर्यहरूले अनार्यको आक्रमणबाट बच्नबाट प्रारम्भ भई राजस्थान, कुमाउ, गढवाल आदि क्षेत्रमा पनि यसको पूजा गरिआएको पाइन्छ । डोटी प्रदेशमा नागमल्लको समयमा गौरापर्व मनाइएको हो भन्ने प्रचलित भनाइ छ ।  पञ्चमीलाई विरुडा पञ्चमीका नामले पुकारिन्छ । षष्ठीका दिन धारा, पँधेरामा विरुडा धुने कार्यसँगै गमराको महेश्वरसँग विवाह गरिन्छ ।

सप्तमीका दिन ब्रतालु महिलाहरूले शुद्ध पारिएको पूजा कोठामा गौरा भित्र्याई गौरा महेश्वरको पूजा गर्दछन् । अष्टमीका दिन गौरालाई घरबाट वा मन्दिरबाट बाहिर खुल्ला ठाउँमा ल्याइन्छ । ब्रतालुहरूले श्रद्धापूर्वक शिवपार्वतीको पूजा गर्दछन् । गौराको पूजा सकिएपछि अठवाली गाउँछन् । यसमा ब्रतालु महिलाहरू घाँटीमा दुब धागो लगाउँछन् । दुबधागो घाँटीमा पहिरिसकेपछि अर्को वर्षको गमरासम्म यसलाई घाँटीमा धारण गरिराख्छन् ।

यसरी हरेक वर्षको गमरा पूजनसँगै नयाँ दुबधागो धारण गर्ने र पुरानो दुबधागो विसर्जन गर्ने परिपाटी रहिआएको छ । गौरा महेश्वरको पूजा सकिएपछि आ–आफ्नो रीत, परम्पराअनुसार देव देवीको चैत, धमारी, पुरुषवर्गले गाउँछन् भने महिला वर्गले गमराका गीत, स्थानीय धार्मिक गीत गाउँछन् । गमरा विसर्जनको दिन पुरुष, महिलाका गीत नृत्य स्वर घन्कन्छन् । धार्मिक कृत्यले सम्पूर्ण मानवजगत् शिव गौरीमय बन्न पुग्छन् ।

गौरालाई सम्भवतः जलाशय भएको ठाउँमा गमराको घर बनाई बिसर्जन गर्ने प्रचलन रहिआएको छ । गौरा पर्वबारे यसको ऐतिहासिक पक्षलाई हेर्दा भ.द. शास्त्री चटौतको गौरापर्वबारे ऐतिहासिक पौराणिक र सामाजिक पक्ष एक झलकमा सर्वप्रथम सन् ७१२ मा मोहम्मद विन क्रासिनले सिन्ध (भारत)माथि लडाई गरेर देशभित्र अशान्तिको स्थिति पैदा गरायो अनि इ.सन् १००१ मा महमुद गजनवीले प्रथमपटक भारतमा आक्रमण गरी जसरी १६ पटक आक्रमण गरेर १७औं पटकको आक्रमणमा हिन्दूहरूको पतन गर्ने हिन्दू विरुद्ध यातनाको अभियान चलाउनुका साथै हिन्दूहरूका देवी देवताका मन्दिर भत्काउने हिन्दूहरूको शास्त्र वेद, पुराण, धर्मग्रन्थको लोप गर्ने क्रममा सौ राष्ट्रको हिन्दूको मूल आस्था भएको सोमनाथको मन्दिर तोडी लुटियो ।

इ.सन् १५२६ मा पानी पतको घोर संग्राममा इब्राहिम लोदीलाई हटाई नवाव पावरले भारतमा मुगल साम्राज्यको स्थापना गरे । हिन्दूहरू उत्पीडित हुँदै गए र धर्म बचाउन भागाभाग भयो । भारतको उत्तराखण्डको कुर्माञ्चल क्षेत्रको पहाडी भेगमा आइबसेको कुराको जनश्रुति पाइन्छ । ब्राह्मणपछि अन्य जातका मानिस पनि त्यस ठाउँमा बस्दै आए ।

अहिलेसम्मको ताम्रपत्रको आधारमा ८-९औं शताब्दीमा आई बसेको अनुमान गर्न सकिन्छ । कुमाउ गढवाल हुँदै सुदूरपश्चिम क्षेत्रका विभिन्न भू–भागमा बस्न पुगेका पूर्वजहरू हिन्दू धर्मको आराधना गरिबस्थे । वेदको अनुसरण गरी वैदिक धर्मका आधारमा चल्दथे । वैतडीमा त्रिपुरा सुन्दरी, डडेल्धुरामा उग्रतारा, डोटीमा शैलेश्वरी, बझाङमा सुर्मादेवी, बाजुरामा मालिकाको विशेष महत्व रहिआएको छ ।

यसैगरी कञ्चनपुरमा सिद्धनाथ, दार्चुलामा नागार्जुन, कैलालीमा बेहडाबाबाको विशेष शिव क्षेत्रको महत्व रहेको छ । यी दुवै शाक्त र शिवको समिश्रण रूप गौरा महेश्वर अर्थात् स्थानीय भाषामा लोली गोरा–महेश्वर पर्व चलिआएको छ । गोरी वर्णकी देवीलाई गौरी भनिन्छ ।  स्थान अनुसार यसलाई भिन्न भिन्न नामले पुकारिन्छ ।

जसमा गौरा, गमरा, लोली गोरा आदि भन्ने गरिन्छ । जे नामले उच्चारण गरेपनि आध्यात्मिक भाव दृष्टिले शिवपार्वती कै आत्मीय स्वरूपका पहिचान हुन् । गोरा सेलाएको दिन आ–आफ्नै किसिमका गीतहरू गाइन्छन् । जसमा गमरालाई के को दाइजो लैजान्छौ भनेर भावपूर्ण अभिव्यक्ति प्रस्तुत गरिन्छ ।

यसै दिनमा आफन्तजनहरूलाई प्रसादको रूपमा रहेको विरुडा वितरण गरिन्छ । दुर्वाष्टमीका दिन गमरा पूजनपश्चात अठवाली गाइन्छ । यो गमरादेवी पर्वको प्रमुख अङ्ग हो । अठवाली भन्नु नै अष्टाङ्गन्यास भन्ने बुझिन्छ । सधवा नारीहरू अठवाली पढ्छन् । यसमा हातले आफ्ना पैतालादेखि शिरसम्म अर्थात् पैताला, घुँडा, नाइटो, हृदय, बाहु, नाक, आँखा र शिरलाई स्पर्श गर्दै गोप्यरूपमा गीत गाइन्छ ।  गौरामा राती जाग्राम बस्दा मनोरञ्जनका साथ ब्रतालु महिलाहरूले गौराको गीत गाउँछन् । गौरी महेश्वरको मूर्ति राखेको ठाउँतिर फर्की झुकेर यो गीत गाइन्छ ।

यसमा देवदेवीको स्तुति, गौरी महेश्वर नारी जीवन, सामाजिक व्यवहार, स्थानीय रीतिरिवाज परिवेश जस्ता विषयको प्रयोग पाइन्छ । गौरा पर्वको रात्री जागरणको क्रममा अठवाली गीत गाइन्छ । अठवालीले भक्ति संगीत, भगवन स्मरणमा महत्व राख्दछ । अठवाली गोराको पूजन हुने सबै जिल्लामा गाइन्छ ।

 

जस्तैः गौरा महेश्वरलाई नचाउँदाको फाग

आँगनका लोक जति ओणापुणा भाग

चनयो चल्यो मेरो पाटकानी चल्यो

पर्भातै उदाउना सूर्य जपध्यान अर्या

बलाकुला उदाउना सूर्य सालन ज्यूनार

सुदूरपश्चिममा गौरा पूजन मनाउने रीति, विधिमा थोरै मात्रामा फरक रहेपनि मूलतः सबैको उद्देश्य गौरी महेश्वरको पूजा गर्नु नै हो । यो विशेष गरेर ब्राह्मण जातिका मानिसले मनाउँछन् भने त्यसपछि क्षेत्री समुदायकाले ।  सुदूरपश्चिमाञ्चल क्षेत्रको यो विशेष पर्व हो र यो पर्व सामाजिक, आर्थिक, साँस्कृतिक उन्नतिसँगै यसको गरिमा बढ्दै गइरहेको छ ।

यो धार्मिक पर्व नारी जगतको महान पर्व त हो नै त्यसबाहेक आपसी भेटघाट, मेलमिलाप स्नेह र सद्भावको उच्च आस्था पनि हो ।  सरकारले गौरापर्वका अवसरमा एकदिन बिदा दिने गरेको छ । गौरा पर्वले पारिवारिक भेटघाटलाई सहयोग गरेको छ ।

एक अर्कोसँग मिलेर पूजा गर्नु, रमाइलो खेल खेल्नु र एक आपसमा बस्नुले यसको सामाजिक महत्व निकै छ । आफ्नै परम्परामा हुर्केका चैत, धमारी, देउडा यिनीहरूले लोकसाहित्यको पक्षलाई उज्यालो प्रदान गरेको हुन्छ, यही पक्ष गौरामा झल्किएको हुन्छ ।

यसरी साँस्कृतिक धरोहरका रूपमा रहेको गौरा पर्वको महिमालाई आधुनिक भौतिक यान्त्रिक सभ्यताबाट बचाउँदै यसको प्राचीन गौरव गाथा र धार्मिक आस्थालाई स्थापित गरिराख्नु धर्म, संस्कृतिको संरक्षण गर्नु हो । सुदूरपश्चिमेली जनताको साँस्कृतिक धरोहरका रूपमा रहेको गौरा पर्वको अझ प्रचार–प्रसार गरी यसको व्यापकतालाई जनजनको हृदयमा पु¥याउन सक्नुपर्छ ।

प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     7:33:22 PM
error: Content is protected !!