Loading... 15 December 2017|   शुक्रबार, मंसिर २९, २०७४

”दुल्लुकाे पुर्वाधार र पर्यटन विकास पहिलो प्राथमिकतामा राखेका छाैं”

  |

स्थानीय तहको निर्वाचनपछि निर्वाचित भईसकेपछि दुल्लुको विकासका लागि जनतामाझ दिलाएको विकास योजनाहरु समेट्दै समृद्ध दुल्लुका लागि कस्ता योजनाहरु बनाईएका छन् । त्यसका बारेमा दैलेख दुल्लु नगरपालिकाको मेयर घनश्याम भण्डारीसंग पश्चिमनेपाल डटकमकर्मीले गरेको कुराकानीकां अंश ।

१) आजभोली के मा व्यस्त हुनुहुन्छ ?
– आर्थिक वर्षको शुरुवात संगै आजभोलीको समय भनेको विकासको हिसावले एबिललष्लन एजबकभ को समय हो । दुल्लू नगरपालिकाले निर्वाचित जनप्रतिनिधि पाए संगै जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा भएको प्रथम दुल्लू नगर सभावाट अनुमोदित नीति तथा कार्यक्रमको कार्यान्वयनको लागि गर्नु पर्ने कामहरुको व्यवस्थापन प्रति क्रियाशिल छु भने अर्को तर्फ नगरपालिका आफैमा एक स्थानीय सरकार भएको हुँदा नगरपालिकालाई आवश्यक पर्ने ऐन, नियमावली र कार्यविधिको निर्माण तथा प्रमाणिकरणमा समेत क्रियाशिल छु ।

दोस्रो महत्वपूर्ण कुरा नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायतका विषयगत कार्यालयका इकाईहरु समेत स्थापना गरी संचालन गर्नु पर्ने भएको हुँदा त्यस्ता इकाईका लागि आवश्यक पर्ने पूर्वाधार लगायत जनशक्ति व्यवस्थापनमा समेत क्रियाशिल छु ।

२) मेयर वन्नका लागि जनता माँझ बाँडिएका सपना के थिए ?
– राजनीतिककर्मीको लागि जनता संधै निर्णयका आधारशिला हुन । राजनीतिको एक महत्वपूर्ण पाटो भनेकै जनतालाई विकासको अनुभूति गराउनु हो । राजनीतिले विकासका माध्यामवाट जनताको आर्थिक तथा सामाजिक स्थितीमा सुधार ल्याउन सक्नु पर्छ । निर्वाचनको समयमा दुल्लू नगरपालिकाको नगर प्रमुख पदको प्रत्यासी भईरहँदा मैले सवै भन्दा पहिला जनतासंग आग्रह गरेको विषयवस्तु नै मलाई भोट दिनुहोस म तपाईलाई विकसित र समृद्ध दुल्लू दिने छु भनेको छु ।

दुल्लूको समृद्ध विकासको लागि आवश्यक पर्ने सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगायतका पूर्वाधारजन्य संरचना निर्माण गर्न मैले आवश्यक देखेको थिएँ र तिनै सपनाहरुलाई पुरा गर्ने प्रतिवद्धता मैले जनताहरुसंग गरेको थिए । जनताको सहयोग, सार्वजनिक तथा नीजि विकास साझेदार निकायको समन्वय र सहयोगमा ति सपनाहरु अवको पाँच वर्ष भित्र पुरा गर्छु भन्ने समेत मलाई दृढ विश्वास छ ।

३) अव समृद्ध दुल्लू बनाउन कस्तो योजनाहरु बनाउँदै हुनुहुन्छ ?
– तपाई हामीले सुन्ने गरेको र कतिपयले देख्ने गरेको अहिलेको विकसित अमेरिका पत्ता लाग्दै गर्दा दुल्लूका नागरिकहरु राजसी खान्दानका थिए । यहाँ राजकाज चलेको थियो । विकास प्रक्रिया व्यवस्थित थियो । यहाँका नागरिकहरुले छुट्टै राज्यको अनुभूति गरेका थिए । तर त्यो समयको दुल्लू र अहिलको दुल्लूमा फरक छ ।

विभिन्न प्रकारका प्राचिन महत्वका इतिहास बोकेको दुल्लू ऐतिहासिकतामा मात्र सिमित छ । त्यसको पूर्नजीवन दिनु आजको आवश्यकता हो । फेरी मैले संधै भन्ने गरेको छु, म व्यवस्थित र दिगो विकासको माध्यामवाट दुल्लूका नागरिकहरुलाई समृद्ध दुल्लू भएको अनुभूति हुने गरी दुल्लू बनाउनेछु ।

त्यसका लागि सवै भन्दा पहिला दुल्लूको ऐतिहासिकता संरक्षण गर्नु पर्ने हुन्छ । दुल्लूमा रहेका अधिकाँस धार्मिक संरचनाहरुमा बौद्ध र हिन्दु धर्मका प्रतिकहरुको समिश्रण रहेको छ, दुल्लूमा रहेको नेपाली भाषाको पहिलो शिलालेख, प्राचिन सिंजा सामराज्यको सितकालित राजधानी, ज्वाला सभ्यता, दुल्लू क्षेत्रमा रहेका मुर्त तथा अमुर्त धार्मिक सम्पदा लगायतका धार्मिक, सांस्कृति सम्पदाहरुको जर्गेना, प्रचारप्रसार गर्नु मेरो प्रथम दायित्व हुने छ भने दोस्रो तर्फ भौतिक विकासमा वामे सर्दै गरेको दुल्लूलाई दिगो शहरी पूर्वाधारका संरचनाहरु व्यवस्थित सडक, वस्ती विकास, खानेपानी, विद्युत, माध्यामिक तथा आधारभुत विद्यालयको व्यवस्थापन गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने, प्राबिधिक शिक्षाकालागि कृषि क्याम्पसको स्थापना, पञ्चकोशी प्राबिधिक शिक्षालय दुल्लू पोलिटेक्निक इन्स्ट्यिूटको स्थापना, दुल्लू अस्पतालको स्तर उन्नती र पूर्वाधार निर्माण गरि पचास सैयामा रुपान्तरण गर्ने, नौ वटा स्वास्थ्य चौकि, सहरि स्वास्थ्य क्लिनिक र आर्युबेदीक औषधालय मार्फत नागरिकको आधारभुत स्वास्थ्यको ग्यारेन्टी गर्ने, प्रदेश स्तरीय खेल मैदान निर्माण, प्रदेश स्तरीय चिस्यान केन्द्र सित भण्डारको स्थापना, कृषिमा व्यावसायीकरणका लागि कृषि पकेट क्षेत्र निर्माण, दुल्लूलाई पर्यटकीय गन्तव्य बनाउनका लागि पर्यटन पूर्वाधारका संरचना दुल्लूमा सांस्कृतीक संग्रालय, बिजया सांस्कृतीक उधान, दामुपाल कृतीखम्ब पार्कको निर्माण, दुल्लू दरबारको पुन निर्माण, पंञ्चकोषी क्षेत्रको धुलेश्वर, नाभिस्थान, शिरिस्थान, कोटीला, तल्लो डुंगेश्वर, पादुका, स्वामीकात्र्तिके, बाडातडी, मालीका, बिन्द्राबासिनी, बालेश्वर लगाएतको डि.पि.आर. तयार गरि निजि सार्बजनिक साझेदारीका माध्यामवाट दुल्लूको व्यवस्थित विकास र समृद्धिमा टेवा पुग्छ भन्ने मलाई लाग्छ ।

सोको निर्माण तथा व्यवस्थापनका लागी विभिन्न सरकारी तथा गैर सरकारी विकास साझेदार निकाय, नेपाल सरकारका विषयगत निकाय संग मैले पहल गरिरहेको छु ।

४) ती योजनाहरु पुरा हुने विश्वास र आधार के ?
– मैले अघि नै पनि भनि सके दुल्लूले एक पटकको विकसित इतिहासको विरासत बोकेको छ । अहिलेका पुस्ताको कर्तव्य भनेकै त्यसलाई पूर्नजीवित गर्नु हो । समग्र दुल्लू नगरवासी नागरिकको चाहाना भनेकै ऐतिहासिकताको चगटीमा वसेर व्यवस्थित विकासका लागि आधुनिकताको आँचल ओढेको समृद्ध दुल्लू देख्नु हो ।

त्यसको लागि यहाँका नागरिकको दुल्लू वनाउनका लागि देखिएको तिव्र इच्छा शक्ति मेरो समृद्ध दुल्लू बनाउने पहिलो आधार र विश्वास हो । जव जनतालाई विकास प्रति तिव्र इच्छा र चाहाना हुन्छ तव जनताले आधारभुत आवश्यकताको पहिचान गरी योजना छनौट गर्ने गर्दछन् । उनीहरुले वास्तविक समस्याको पहिचान गरेका हन्छन्, त्यहाँ जनताको सहयोग, अपनत्व र प्रत्यक्ष निगरानीमा विकास निर्माणका संरचना तयार भएका हुन्छन् र त्यस्ता योजना दिगो र व्यवस्थित पनि हुन्छन् ।

जनताको विकास प्रतिको त्यो अभिलाषा र इच्छा शक्ति मैले देखेको छु र महशुस पनि गरेको छु । जव जनताले विकासलाई आत्मै देखि माया गर्दछन त्यहाँ लगानी जुटाउन सजिलो हुन्छ । रह्यो व्यवस्थित र समृद्ध दुल्लू निर्माणका आधारका क्षेत्रहरु, ति क्षेत्रहरु भनेकै यहाँको प्राकृतिक श्रोतसाधन, जनशक्ति, सार्वजनिक तथा नीजि विकास साझेदार निकाय, नेपाल सरकारका विषयगत निकाय, स्थानीय निकायको आन्तरिक आम्दानी, कृषि उत्पादकत्वको निकासी पैठारी र बिकसित शहर बनाउने (स्मार्ट सिटीको घोषणा ) नेपाल सरकारको निर्णय जस्ता विकाससंग आर्थिक व्यवस्थापन गर्न सक्ने सूचकहरु नै विकासका आधारहरु हुन ।

५) दुर्गम वडाहरुलाई विकासको मुलधारमा ल्याउनका लागि विशेष योजना के छ ?
– आधारभुत विकासको शुरुवाती नै अभावबाट हुन्छ । त्यो अभाव जव जनताको साझा महत्वको विषय हुन्छ तव मात्र योजनाको आवश्यकता पहिचान भई कार्यान्वयन तहमा पुग्छ र अनि मात्र जनतालाई विकासको प्रतिफलको पूर्ण उपभोग गर्ने वातावरणको सृजना हुन्छ र विकास प्रति नागरिकको पूर्ण उत्तरदायित्वको कायम हुन्छ ।

हुन त दुल्लू नगरपालिका क्षेत्रमा विकासका हिसावले सुगम र दुर्गम भन्ने विविधता छैन तर पनि वृहत्त दुल्लू नगरपालिका हुदै गर्दा दुल्लू नगरपालिकामा समाहित भएका साविकका गमौडी, कालभैरव, गौरी र मालिका गाविसलाई योजना निर्माणको तहमा पूर्वाधार विकासको पहिलो प्राथामिकतामा राख्नु पर्ने अहिलेको आवश्यकता हो र हामीले त्यसको शुरुवात दुल्लू नगरपालिकाको प्रथम नगर सभा ( नगर परिषद) वाट तत् गाविसमा पर्ने वडाहरु (हाल दुल्लू नगरपालिका वडा नं. १०,११,१२ र १३) लाई भारित लागत, जनसख्या र भुगोलका आधारमा अरु क्षेत्र भन्दा बढी रकम विनियोजन गरेका छौं र सडक, विद्युत, खानेपानी, सिंचाई, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार विकासका संरचनाहरु निर्माणको क्षेत्रमा पहिलो प्राथामिकतामा राखेका छौं ।

६) पानी, वत्ती, सडक लगायतका विकासका मुलप्रवाहको अनुभुति जनताहरुले कहिलेसम्म गर्ने ?
– सडक पूर्वाधार विकासको सन्दर्भमा कुरा गर्ने हो भने दुल्लूक्षेत्रको स्तर दैलेख जिल्लाका अन्य स्थानीय तह भन्दा धेरै माथि उठी सकेको छ । दुल्लू नगरपालिकाका १३ वडाहरुमा सडक निर्माण भईसकेका छन् भने दुल्लू नगरपालिकाको प्रवेशद्धार तल्लो डुंगेश्वर देखी उत्तरी अन्तिम विन्दु डाँडीमाडी सम्म नियमित सडक यातायातको संचालन भईरहेको छ भने आवश्यकता अनुसार अन्य वडाहरुमा समेत यातयातका साधनहरुको सहज पहुँचको अवस्था छ ।

सडक क्षेत्रको कुरा गर्दा दुल्लू नगरपालिका क्षेत्रमा नयाँ सडक निर्माण गर्नु भन्दा पनि निर्माण भएका सडकहरुको स्तरउन्नती गर्ने कार्य जस्तै सडक ग्राभेल, सडक नाली निर्माण, सडक कालोपत्रे जस्ता कार्यहरु गरी सडकको नियमित र दिगो संचालन गराउनु छ । सडक यातायातको नियमितता दिन हामीले नगरपालिकामा १ थान व्याक हो लोडर र १ थान टिप्पर संचालनमा ल्याएका छौ भने थप २ थान व्याक होई लोडर र २ थान टिप्पर खरिद गर्ने समेत योजना बनाएका छौं ।

जसवाट दुल्लू नगर क्षेत्रमा निर्माण भएका सडकको नियमित मर्मत सम्भार र निर्माण गर्नुका साथै नगरको थप आन्तरिक आम्दानी समेत गर्ने सोच बनाएका छौं भने राष्ट्रिय प्रशारण लाईनको विद्युत नै दुल्लू नगर क्षेत्रको विद्युतको मुख्य स्रोत हो । नेपाल बिद्युत प्राधिकरणको सब स्टेसन निर्माणको कामले गती लिदैछ ।

दुल्लू नगरपालिकाका मुख्य मुख्य बजार क्षेत्र र वडाहरुमा करिव ३० प्रतिशत विद्युतीकरण भई सकेको छ भने सौर्य सडकवत्ती समेत यहाँ व्यवस्थापन गरिएको छ । हामीसंग तत्काल लघुजलविद्युत निर्माण गर्न सक्ने पूर्वाधार र भरपर्दो पानीको श्रोत नभएको हुँदा राष्ट्रिय प्रशारणलाईनको विद्युतलाई नै व्यवस्थित गर्न हामीले पहल चालेका छौं ।

विद्युतीकरण नभएका वडा तथा वस्तीहरुमा चालु वर्षमै पोलिङ र वाईरिङको कार्य भईरहेको छ प्रथम नगरसभाबाट बिद्यालय, वडा केन्द्र र स्वास्थ्य संस्था सम्म बिद्युतीकरण गर्नकालागि तिन करोड बिनियोजन गरेका छौँ भने अन्य विकल्पका श्रोतहरुका लागि नेपाल विद्युत प्राधिकरण र बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्र संग समेत हामीले विद्युतीकरण र सौर्य वत्ती जडानका लागि समन्वय समेत गरिरहेका छौं ।

व्यवस्थित खानेपानी विकासका लागि सार्वजनिक तथा नीजि साझेदारीको माध्यामवाट लिफ्टीङ खानेपानी, आकाशेपानी संकलन, पानीका स्रोतको संरक्षण, सतही खानेपानी लाईन विस्तार जस्ता खानेपानीका योजनाहरु चालु वर्षमै निर्माण गर्ने र प्राथामिकताका आधारमा केही योजनाहरु आगामी वर्षमा समेत निर्माण गर्ने गरी प्रस्ताव गरेका छौं । महत्वपुर्ण योजनाको रुपमा लोहोरे मालीका दुल्लू खानेपानी आयोजनाको डि.पि.आर. तयार हुदैछ ।

७) दुल्लू आफैमा ऐतिहासिक, धार्मीक र भाषिक क्षेत्र मानिन्छ ? यसलाई उठान गर्न तपाईको कार्यकालमा के गर्नुहुन्छ ?
– दुल्लूको प्राचिन ऐतिहासिकता, हिन्दु र बौद्ध धार्मिक सभ्यता, नेपाली भाषाको पहिलो शिलालेख, ज्वाला सभ्यता, स्थानीय कला संस्कृतिको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र प्रचार प्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यको रुपमा दुल्लूलाई विकसित गर्नु मेरो प्राथामिकताको विषय हो । जुन कुराहरुलाई दुल्लू नगरपालिकाको मेयरको हैसियतले भन्दा पनि दुल्लूवासी नागरिक भएको नाताले मैले पहिले देखि नै उठान गर्दै आएको छु ।

त्यसको संरक्षण र सम्वद्र्धनका लागि स्थानीय तथा राष्ट्रिय स्तरमा समेत मैले विभिन्न किसिमका छलफल, गोष्ठि र सेमिनार समेत चलाई सकेको छु र केही हद सम्म राष्ट्रिय स्तरमा यसको सम्बोधन समेत भएको छ । अवका दिनमा विकासका हिसावले समग्र दुल्लूवासीले मलाई मियरको रुपमा अघि सारेको हुँदा यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासका लागि म जनताको प्रत्यक्ष साथमा रही कार्य गर्ने छु ।

यहाँको ऐतिहासिक, धार्मिक र भाषिक विषयलाई उजागर गरी पर्यटन गुरुयोजना निर्माणका माध्यामवाट सम्बोधन गर्ने प्रयास गर्ने छु । दुल्लू नगरपालीका काठमाडौँ उपत्यका र लुम्बीनी पछी सम्पदाका दृष्टीकोणले संपन्न नगर हो, साथै अमुर्त सम्पदा भैनी ,झोडा , मांगल , फट्को , मारुनी, असारे गीत डम्फु नाच, तरबार नाच , हुड्के नाच ,भारत, कर्को , देउसी , भोसो, भाउले गान (न्वारनमा गाउने , धमारी, सरम नाच , घाटु नाच, ट्याम्को र धोलक नाच, रत्यौली, ठाडीभाका , बंशावली, ढटाहा नाच, भैलो, मयुरनाच, गर्रानाच, घोडचढी नाच, भुवो, राइसुवा गीत, न्याउले गीत, नगरा हाल सम्म जिबित सम्पदा रहेका छन् । यसको संरक्षण, संबद्धनकालागि स्थानीय स्तरमा पाठ्यक्रम निमार्ण गरि बिद्यालय स्तरमा लागु गर्ने योजना रहेको छ ।

८) भौगोलिक विकटताका कारण नगरपालिकाको कार्यालयले वडाहरुबाट दिने सेवा प्रभावकारी होला ?
– मलाई भौगोलिक विकटता विकासको वाधक होईन भन्ने लाग्छ । वाधक भनेको सेवाप्रदायक निकायको व्यवस्थापनको कमजोरी हो । विकटता आफैमा अभाव होईन सम्भावना पनि हो । मैले जहिले पनि भन्ने गरेको छु विकासको शुरुवात अभाव, कठिनाई भोगिरहेको क्षेत्रवाट हुनु पर्छ । त्यसकै व्यवस्थापनमा म लाग्ने छु ।

दुल्लू नगरपालिकामा पक्कै पनि केही वडाहरुका नागरिकहरुले भौगोलिक रुपले विकासको लाभ अपेक्षाकृत रुपले उपभोग गर्न पाईरहेका छैनन् । भौगोलिक विकटताका कारण दुल्लू नगरपालिकाको केन्द्र विन्दु नगरपालिका कार्यालय भवन सम्म आईपुग्न र सेवा लिन केही कठिनाई समेत छ । तर त्यसको व्यवस्थापनको लागि हामीले वडामा भारित लागत, जनसंख्या, भौगोलिक विकटता आदिलाई मध्यनजर गरी बजेट विनियोजन गरेका छौं ।

प्रत्येक वडाहरुमा नगरपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु उपलव्ध गराएका छौं । वडामा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरेका छौं र आवश्यक पर्ने प्रविधिका साधनहरु समेत उपलव्ध गराएका छौं । आगामी दिनमा समेत नगरपालिका दुर्गमका वडाहरु विकास र सेवाप्रवाहको पहिलो प्राथामिकतामा राखी सेवा प्रदान गर्ने छौं भने सुचना तथा संचार प्रबीधीको उच्चतम उपयोगको माध्याम द्धारा नगरपालिकाले बिद्युतिय सरकारको माध्याम द्धारा सेवा प्रबाहलाई प्रभाबकारी बनाईने छ ।

काठमाडौँ उपत्यका भित्रका र नया बनेका देश भरिका नगरपालीकाले संयुक्त रुपमा वडा कार्यालयहरु संचालन गरिरहेको अबस्थामा दुल्लू नगरपालिकाले न्युनतम मानबिय स्रोतको उपयोग गरि तेह्रै वटा वडा कार्यालयहरु संचालन गरेको छ ।

९) दुल्लूका नागरिकको जिबनस्तर उकास्न के योजना रहेको छ ?
–दुल्लू प्रदेश नं. ६ को भुगोल र जनसंख्याका आधारमा दोस्रो ठुलो नगरपालिका हो । नागरिकलाई आर्थिक आय आर्जनका लागि होम स्टे संचालन, लघुउद्यम संचालन, लघुउद्यमको माध्यामबाट रोजगारिको सृजना, कृषी, बन, र पशुमा आधारित उधोग संचालनकालागि दुल्लूमा औधोगिक क्षेत्रको स्थापना गरिने छ ।

दुल्लू नगरपालिकामा हिमाल र तराईमा पाईने दुबै खालका फलफुलहरु पाईन्छन् । बिषेशगरि सुन्तलाबालि अनुसन्धान केन्द्रको स्थापना गरि उत्पादन बढाउने योजना रहेको छ । दुल्लू नगरपालिकालाई कर्णाली राजमार्ग, मध्य पहाडी लोकमार्ग, उत्तर दक्षिण जोड्ने प्रादेशिक सडकको माथिल्लो डुंगेश्वर, डाँडीमाडी खण्ड सम्पन्न भएको र सुर्खेत दैलेख सडक खण्डको चुप्रा देखि दुल्लू हुदै कर्णाली राजमार्गको पाली जोड्ने सडक खण्डको निर्माण कार्य भईरहेको छ ।

दुल्लू नगरपालिकालाई आत्मनिभर्र बनाउन र स्थानीय रोजगारी सृजना गर्न जडिबुटि प्रसोधन केन्द्र स्थापना गर्दा छ नम्बर प्रदेशका सबै स्थानिय तहलाई फाईदा पुग्नेछ । पर्यटन उद्योगलाई टेवा पुग्ने खालका बाडतटीमा जलपार्क, मालीका र कोटाथालामा भ्यू टावर निर्माण गर्ने, बीभिन्न जातजातीको उद्गम स्थल जस्तै ः खनाल, दाहाल, रिजाल, नेपाल, दुलाल, पोखरेल, बडाल, लम्जेल,लम्साल आदी जातजातीको स्मारक निर्माण गर्ने र पर्ब पर्यटनलाई टेवा पुयाउने । जग्गा बिकास आयोजना संञ्चालन गरि सहरि पुर्बाधार सहितको नमुना सहर निर्माण गर्न सहरि बिकास मन्त्रालय, नगर बिकास कोष र बिकास सझेदारहरुसंग प्रकृया अघि बढाईएको छ ।

१०) अन्त्यमा केही भन्न चाहानु हुन्छ ?
दुल्लू नगरपालिकाको योजनाबद्ध बिकासकालागी सुचनाको हकको कार्यान्वयन गर्दै सुशासनका औजारहरुको प्रयोगका माध्यामले गुणस्तरिय बिकासका लागी हामी प्रतिबद्ध छौ । बिभिन्न बिकास साझेदार निकायहरु, नागरिक समाज, संचार माध्याम, उद्योगी, ब्यापारी, बिभिन्न पेशाकर्मी एबं राजनैतिक कर्मीहरु र आम नागरिकहरुलाई संमृद्ध र समुन्नत दुल्लू निर्माण अभियानमा सहभागी हुन अनुरोध गर्दछु ।

प्रकाशित मितिः आइतवार, भदौ ११, २०७४     9:26:18 AM
error: Content is protected !!