☰ open Loading... 28 March 2024|  

‘आचारसंहिता संकटकालको शैलीमा आयो’
  | १७ भाद्र २०७४, शनिबार १४:५१

डोटी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने ‘निर्वाचन आयोगले सरकारसँग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा आचारसंहिता ल्याएकोमा सरकार अचम्मित छ ।’

तेस्रोचरणको स्थानीय तह निर्वाचनको आचारसंहिता कायम रहेकै बेला आएको यो आचारसंहितालाई ‘आचारसंहितामाथि आचारसंहिता ल्याइएको’ उनको टिप्पणी थियो ।

मंसिर १० गते हुने निर्वाचनका लागि अहिल्यै आचारसंहिता आवश्यक नरहेको उनको भनाइ थियो । ‘यो वर्ष निर्वाचन नै निर्वाचनको वर्ष हो ’। निर्वाचनलाई हेरेर विकासलाई पूर्ण अवरुद्ध पार्न मिल्दैन्,’ मन्त्री बलायरले भने, “यो अवस्थाले त वर्ष नै आचारसंहितामा जाने भो । त्यसैले आचारसंहिता मिलाएर छलफलका आधारमा लगाइनुपर्ने हो ।”

मन्त्री बलायरले प्रदेश नम्बर– ७ को भूमि हुँदै छिट्टै भारत–चीन जोडिने बताए । ‘भारतको गौरिफण्टा हुँदै चीनको ताक्लाकोट नाकासम्म जोड्ने सडकका लागि सरकारले तयारी गरिरहेको उनले जानकारी दिए ।