☰ open Loading... 20 April 2024|  

मंसिर २१ पछि देशमा नाैं सय सांसद !
  | १७ भाद्र २०७४, शनिबार २२:०६

काठमाडौं । पहिलो र दोस्रो संविधानसभामा ६०१ सांसद थिए । सानो देशमा धेरै सांसद भएको भनेर आलोचना पनि भएको थियो । तर, अव देशमा यो भन्दा पनि बढी सख्याँमा संसद हुँदैछन् ।

क्षेत्र निर्धारण आयोगले दिएको प्रतिवेदन अनुसार मंसिर १० र २१ मा प्रदेश र संघीय संसदका लागि चुनाव हुँदैछ । चुनावपपछि देशमा झन्डै नौ सय सांसद हुनेछन् । देश संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक संसद र प्रदेशको चुनावका लागि मिति घोषणा भएको छ ।

अहिलेकै कार्यतालिका अनुसार प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भए मंसिर तेस्रो सातापछि मुलुकमा ८८४ जना सांसद हुने भएका छन् । प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा सदस्यको समेत निर्वाचन भइसकेपछिको संख्या जोड्दा देशमा सांसदहरुको संख्या ८८४ पुग्ने छ ।

नयाँ संविधान अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको निर्वाचन क्षेत्रका आधारमा सरकारले घोषणा गरेको मंसिर १० र २१ मा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो निर्वाचन भएपछि प्रदेशसभामा प्रत्यक्षतर्फ जम्मा ३३० र त्यसको ४० प्रतिशतका आधारमा समानुपातिक २२० सांसद हुनेछन् । र सात प्रदेशमा कुल सांसद  ५५० रहनेछन् ।

त्यस्तै केन्द्रीय प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फबाट १६५ र समानुपातिकतर्फ ११० सांसद आउनेछन् । यसरी प्रतिनीधिसभा २७५ सदस्यीय हुनेछन् ।

यसबाहेक राष्ट्रिय सभामा ५९ जना सांसद चुनिने व्यवस्था छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार जोसुकै भएपनि मत भने स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलेमात्र हाल्न पाउनेछन । राष्ट्रियसभाको निर्वाचन भने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि मात्र हुनेछ । यो निर्वाचन पनि २०७४ माघ ७ भित्रै हुनेछ ।

‘निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै केन्द्रीय संसद र सातवटा प्रदेशमा कति सांसद हुने भन्ने मोटामोटी हिसाव आइसकेको छ, अहिलेको अवस्थामा सवै निर्वाचन भएपछि अव मुलुकमा ८८४ जना सांसद हुने हिसाव निस्किएको छ’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले रातोपाटीसँग भने । उनका अनुसार सवैभन्दा धेरै सांसद प्रदेशनम्बर ३ मा ११० र सवैभन्दा कम प्रदेश नम्बर ६ मा ४० जना सांसद हुने देखिएको छ ।

प्रदेशनम्बर ३ मा प्रत्यक्षतर्फ ६६ जना निर्वाचित हुने छन् भने समानुपातिकतर्फ ४४ जना सांसद हुने भएका छन् । दोस्रो नम्बरमा धेरै सांस्द हुने प्रदेश २ नम्बर हुने भएको छ । जसमा प्रत्यक्षतर्फ ६४ जना निर्वाचित हुने छन् भने समानुपातिकतर्फ ४३ जना निर्वाचित हुने भएका छन् ।  त्यस्तै सवैभन्दा थोरै सांसद प्रदेशनम्बर ६ मा हुने भएका छन् । यो प्रदेशमा २४ प्रत्यक्ष र १६ जना समानुपातिकबाट आउने छन् ।

तेस्रो नम्बरमा धेरै सांसद हुने प्रदेश १ नम्बर प्रदेश बन्नेछ । यो प्रदेशमा प्रत्यक्षतर्फ ५६ र सामानुपातिकतर्फ ३७ सांसद निर्वाचित हुनेछन् । यता प्रदेश नम्बर ४,५ र ७ मा क्रमश प्रत्यक्षतर्फ ३६,५२ र ३२ जना तथा समानुपातिकतर्फ २४,३५ र २१ जना हुनेछन् ।

नेपालको संविधान २०७२ मा नै प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुने र त्यसलाई संघीय संसद भनिने उल्लेख छ ।
समग्रमा सांसद संख्या धेरै भएपनि केन्द्रीय अव बन्ने संघीय संसद ३३४ जनाको हुनेछ । जसमा २७५ जना प्रतिनिधिसभाका र ५९ जना राष्ट्रिय सभाका हुनेछन् । यो अनुपातमा हेर्दा केन्द्रीय सांसदभन्दा प्रदेश सभाका सांसद बढि हुने पक्का भएको छ । राताेपाटीबाट