☰ open Loading... 19 April 2024|  

कर्णालीका दुःख
  | १९ भाद्र २०७४, सोमबार १६:११

प्रेमबहादुर शाही
मानिसले गर्ने दुःखको कुनै सीमा हुँदैन । कतिपयले जानी–जानी दुःख गरेका हुन्छन भने कतिपयले चाहिँ नजानेर । ती दुःखबाट कतिले प्रतिफल पाएका छन त कतिले नपाएका पनि । यस्तै प्रतिफल नपाउने दुःखमा छन सिङ्गो कर्णालीबासी । मैले कर्णालीमा राज्यको नजर नपुगेको सानै छँदा सुनेको थिएँ । मेरो मनमा त्यो कर्णाली क्षेत्र भनेको कस्तो होला ? किन राज्यको नजर पुग्न नसकेको होला ? जस्ता अनगिन्ती प्रश्न आइरहन्थे । संयोगले मलाई त्यही कर्णाली क्षेत्रमा पु¥यायो ।

सानोमा सुनेको कुराले मेरो मनभर यात्रा अवधिमा कर्णालीबारे कौतुहलता जारी रह्यो । अनि सक्दो छिटो कर्णाली बुझ्ने हुटहुटी थियो । जब म कर्णालीको द्वार दैलेख कालिकोट सीमा पुगेँ, माथि देखिने कर्णालीको भूभागको दृश्यले मनै सिचो बनाइदियो । नदीको तिरैतिर सडक । तल हेर्दा सलल बगेको नदी । माथि हेर्दा अनकन्टार डाँडाहरू ।

वास्तवमा कर्णाली भनेको मैले सुनेको भन्दा धरै कहालिलाग्दो रहेछ । यात्राबाटै कर्णालीको वास्तविकता बुझ्न पाइयो । मसँग दुःख बिसाउन आइपुगिन जुम्लाको सिंजा घर भएकी एक अधवैसे महिला मन कोइराला । जो सडकमा आएको पहिरोका कारण विचल्ली परेकी थिइन्न । अनुहार चाउरी परेको । पिठयुँमा वर्ष दिन नपुगेको बच्चा ।

विस्तारै मैले उनीसँग कर्णाली सोधेँ । उनले पनि विस्तारै बेलिविस्तार लगाइन बिरामी छोराको जिल्लामा उपचार हुन नसकेपछि नेपालगन्ज जान लागेको । बच्चाको शरीरमा केही पिड्का छन तर जिल्ला अस्पतालमा उनका लागि औषधि छैन । पहिरोका कारण अब नेपालगन्ज पुग्नै ३–४ दिन लाग्ने भयो । गाउँका अरु घरमा जस्तै उनको घरका पुरुष पनि विदेशिएका छन परिवार पाल्न ।

त्यसैले उनी आफैँ बच्चा बोकेर नेपालगन्ज हुइँकिनुको विकल्प रहेनछ । हो, नेपालको सबैभन्दा लामो कर्णाली नदीले घेरिएको त्यो ठाउँ देख्नलाई अति नै आनन्दलायक छ । तर यहाँको कठीन र कष्टकर जीवन पनि कम्ता अत्यासलाग्दो छैन । रोग, भोक र शोकले अत्तालिएको कर्णाली आफैँमा छटपटिइरहेको छ ।

राज्यको इच्छाशक्ति भएको भए कर्णालीमा असम्भव केही थिएन तर यसैको अभावमा यहाँ सम्भव केही देखिएको छैन । सामान्य रोग लाग्दा पनि ३–४ दिनको यात्रामा निस्कनुपर्ने बाध्यताले कसरी प्रगति निम्त्याउन सक्छ । तर सबैको पीडा यही थियो । मन त प्रतिनिधि पात्रमात्र थिइन् । जीवन बचाउनका लागिमात्र खानुपर्ने बाध्यतामा यहाँका बासिन्दा छन ।

खानाका अगाडि आउने पौष्टिक र उचित शब्दसँग उनीहरूको कुनै साइनो छैन । म जोसँग सोध्थेँ, उनीहरू उल्टै मलाई सोध्थे ? सिङ्गो कर्णालीको मुहार कहिले फेरिएला ? के हाम्रो जीवन यसैगरी सकिने भो त रु हो पनि, कर्णालीबासीले सरकार भएको अनुभूति अझै पाएका छैनन । जनताको हक अधिकारका लागि लड्ने अधिकारकर्मीसम्म उनीहरूको पहुँच छैन ।

शिक्षाको बिजोग उस्तै छ । सरसफाइ र रुढीवादीले पनि यही क्षेत्रलाई ऊर्वर ठानेको छ । राज्य अधिकार दिएको डंका पिटाएको पिटायै छ तर कर्णालीमा त्यो कहिले पुग्छ ? कसैलाई थाहा छैन । झुक्किएर पुगेको केही अधिकार पनि सीमित टाढाबाठामा केन्द्रित छ । सोझो अर्थमा भन्दा अहिले पनि कर्णाली अन्धकारमा छ जुन हिजो ढुङ्गे युगको इतिहासमा पढिन्थ्यो ।

पूरै भ्रमण सकेर फर्कदा पनि मेरो मनभर कर्णालीबासीले मसँग सोधेका तिनै प्रश्न उब्जिरहे, जुन म आफैँ पनि सम्बन्धितलाई सोधिरहेको थिएँ । आखिर कर्णालीले यसरी नगरेको अपराधको सजाय भोग्न पर्नुको मुख्य कारण के हो ?
(लेखक नेपाल पत्रकार महासंघ दैलेख शाखाका कोषाध्यक्ष हुन ।)