Loading... 18 December 2017|   सोमवार, पुस ३, २०७४

‘सरकार’ मेरो दुर्भाग्य, म डाक्टर बन्न पुगेँ मेरा प्रमाणपत्र किनिदिनुहोस्

  |

डा. रविन खड्का

सर्वप्रथम दश औँला जोडी सरकारलाई नमन छ ।

मलाइ थाहा छैन, मैले यो लेख लेख्न हुने हो की हैन, यस्तो ब्यथा यसरी पोख्न हुने हो की हैन । तै पनि दोधारै दोधारकाबीच भए पनि मैले व्यथा लेख्ने विचार गरें । हे सरकार, मेरो कुरा गर्नु हुन्छ भने नेपालको अति दुर्गम र ग्रामीण परिवेशमा जन्मे, सामान्य परिवारमा हुर्के । बिहान खाइनखाइ एक घण्टाको दुरीमा रहेको माध्यमिक शिक्षा उत्तिर्ण गरें ।

रिन सापट गरेरै भए पनि अवसरको खोजीमा काठमाडौँ आएर आइ.एस्सी. पढेँ । बि.एस्सी. अध्ययनकै क्रममा मेहनत वा संयोगवस भनौं चाकडी, चाप्लुसी, भनसुन, पहुँचवाला र पैसावाला सबै सीट कटाएर तात्कालिन अवस्थामा बचेंका अति न्यून छात्रवृत्ति कोटामा डाक्टरी गर्न सफल भएँ । त्यसपछिका मेरा जीवनका अति उर्वर समय तपाईंले जहाँ जहाँ पठाउनु-खटाउनु भयो, विकट दुर्गम नभनी त्यही त्यही सेवा गरे । तपाईंले गर्दा नै मैंले देशको भूगोल छाम्ने अवसर पाए ।

अनि आमनागरिकका पीडा बुझ्ने मौका पाए । यसका लागि मैले सरकारलाई धन्यवाद दिनै पर्छ । तर, करिब एक दशक लामो अध्ययन र संघर्ष अनि एक दशक भन्दा बढी समयकोे स्वास्थ्य र सामाजिक सेवा गर्दाको समयमा भोगेका उतारचढाव ओकल्ने हो भने यो अन्तहिन श्रृंखला जस्तो हुन्छ । तसर्थ, अहिले म त्यतापट्टी लागिन । तै पनि यसो अतिततर्फ फर्की हेर्दा भने सोचाईं र विचारहरूको हुण्डरी चल्दोरहेछ मनभरी ।

हुन त यतिको छोटो समय भनेको विश्लेषण गर्ने अवधि त हैन, तै पनि यसो सोच्छु म सिधा बाटो नहिडी दायाँबायाँ लागेको भए म कहाँ पुग्थे होला । दलाली पेशा गरेको भए पनि म कहाँ कस्तो हैसियतमा हुन्थेँ होला । तात्कालिन अवस्थामा देश दलाली, (जो राजनीतिको पर्याय जस्तै भइसकेको छ ) नै शुरु गरेको भए अहिले सायद तपाईंकै एक अंग हुन्थे होला ।

मान्छे दलाली नै शुरु गरेको भए पनि अहिले म मेनपावर व्यवसायी संघको अध्यक्ष भई तपाईंले नै ल्याउनु भएको नियम मान्दिन भन्दै तपाईंलाईं नै थर्काइरहेको हुन्थे होला । जग्गा दलाली नै शुरु गरेको भए पनि खेतीयोग्य जमीन सबै स्वाहाँ पार्दै मस्तीमा रमाउथे होला । तस्करी पेशा अपनाएको भए पनि अहिलेसम्म कम्तीमा एक क्वीन्टल सुन भित्राइसकेको हुन्थेँ र अर्बौ अर्बको जडिबुटी र वन्यजन्तु सिमापारी कटाइसकेको हुन्थे ।

सेटिंग नमिलेको बेला समातिन्थे होला, तर केबल भरिया मात्रै । म त तपाईंहरूकै नामसँग जोडिन्थे अनि फेरि गुमनाम हुन्थे । काठमाडौँमा छिर्ने बित्तिक्कै गुण्डागर्दी मात्र शुरु गरेको भए पनि दुई दशकमा त अहिले शहरका नामी गुण्डाहरूको बरोबरीको हैसियतमा हुन्थेँ हुला । पार्टीका कुनै न कुनै ठुला नेताहरू मेरै सहारामा टिकीरहेका हुन्थे होला । यी माथिका कुनै पनि काम शुरु गरेको भए पैसा पनि टन्न हुने अनि पहुँच पनि । मलाईं थाहा छ पैसा र पहुँचले म पार्टीसँग हैन की कुनै न कुनै पार्टी र तीनका नेताहरू मसँग आबद्ध हुन्थँे । त्यहीमाथि अहिले जस्तो सुनौलो मौका कहिले पो आउथ्याेँ र ।

आम्मामा, एक हैन, सय हैन हजाराैं हजार पदको विज्ञापन । नयाँ नेपालमा केन्द्रीय संसद, प्रादेशिक संसद, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिकामा तलबसुबिधासहितको जागिर । अनि त यसरी तपाईं सामु घिट्घिटाहट गर्नै पर्दैनथ्यो । उहाहरू नै म कहाँ आउनु हुन्थ्यो टिकटको लागि अफर गर्दै । तर, मेरो दुर्भाग्य सरकार, म डाक्टर बन्न पुगेँ ।

अ… अर्को कुरा म डाक्टर नै नभएर अरु सरकारी कर्मचारी वा शिक्षक मात्र भए पनि सो सरकारी नाम बेचेर आफ्नै बोर्डिङ स्कूल मस्तसँग चलाएको हुन्थेँ होला अहिले । सरकारी कर्मचारी भएको भए पनि कुनै न कुनै पार्टीको ट्रेड यूनियनको माथिल्लो पदमा आसिन हुन्थेँ अनि सरकारसँगै एउटै टेबलमा बसेर ‘टेबल टक’ गरिरहेको हुन्थेँ होला ।

सरकार, म यी यावत कुकृत्य (अहिलेका सम्मानित कामहरू) नगरी काठमाडौँमा एउटा सामान्य पसल मात्र शुरु गरेको भए पनि अहिले त त्यो एउटा ब्राण्ड पसल भइसकेको हुन्थ्यो । किनकी मलाई राम्रोसँग थाहा थियो र छ पनि की सरकारी कर्मचारी र राजनैतिक दलका नेताहरूसँग मिलेर कर कसरी छल्न सकिन्थ्यो ।

अन्तशुल्क कसरी मिनाह गर्न सकिन्थ्यो र बर्षौसम्म नतिरेको कर बेला बेलामा बन्ने कर फच्छ्यौट आयोगमार्फत कसरी मिनाह पाउन सकिन्थ्यो भनेर । कालो बजारीलाई प्रसय दिन आफ्नो युनियन, संघ, संगठनमार्फत तपाईंलाई कसरी दबाब दिन सकिन्थ्यो र अनुगमनमा आउँदा कसरी लखेट्ने भन्ने राम्रोसँग थाहा थियो ।

हे…, कति अरु क्षेत्रको मात्र कुरा गरेको मैले डाक्टर नभए पनि त्यती बेला स्वास्थ्यको सामान्य तालिम मात्र लिएको भए वा कसै कहाँ कम्पाउण्डर मात्र बसेको भए पनि गाउँमै एउटा मेडिकल खोली अहिलेसम्म त मालामाल नै हुन्थेँ म र यो डाक्टरी पेशा भन्दा धेरै कमाइसकेको हुन्थे । गाउँका सोझा साझा जनतालाई ५० रुपैयाँ पर्ने रंगिन भिटामिनसहितको स्लाइन चढाई तपाईले नै दिएको वृद्वभत्ता वा अरु भत्ता, अनुदानको हात्ती लुट्न मलाईं पनि आउँथ्यो ।

केही स्लाइड र केमिकल ल्याई एउटा थोत्रो देखावटी माइक्रोस्कोप राखी आउने जति बिरामीलाइ टाइफाइड भयो भन्दै सतप्रतिशत बोनसवाला सुई लगाइ पैसा असुल्न हामीले पनि जान्याथ्यौ । एउटा खेलौना जस्तो भिडीयो एक्स रे राखेर ढुंगाको व्यापार गर्दै झोलाका झोला औषधि भिडाउन हामीलाई पनि आउँथ्यो ।

लु म डाक्टर नै भइसकेपछि पनि केही नगरी काठमाडौँको गल्लीमा एउटा सटर भाडामा लिई औषधि पसल मात्रै खोलेको भए पनि अहिलेसम्म त त्यो पोलिक्लिनीक, नर्सिङ होम, अस्पताल हुँदै मेडिकल कलेज नै संचालन गर्न सक्षम भइसक्थ्यो । किनकी मलाई राम्रोसँग थाहा थियो र छ पनि बजारका डाक्टरलाई कसरी कम दाममा काममा पेलाउन सकिन्थ्यो, सरकारी अस्पतालका बिरामीलाई कसरी ओसार्न सकिन्थ्यो र आइसीयुको व्यापार कसरी चलाउन सकिन्थ्यो भनेर ।

यति थाहा हुँदाहुँदै पनि मैले गर्न सकिन सरकार । त्यसैले त म गर्दैछु यो गुहार तपाईप्रति । डाक्टर, त्यो पनि तपार्इंले नै पढाइदिनु भएको, दायाँबायाँ नगरी हिड्दाहिड्दै फेरि तपाईंले नै पछिल्लो अवधिमा उपचारको क्रममा कुनै बिरामीको मृत्यु भएमा त्यसको क्षतिपुर्ति सम्बन्धित चिकित्सकबाट नै भराउनु पर्ने विधेयक पेश गर्न निर्देशन दिनु भएको छ ।

यसले त झन् म जस्ता चिकित्सकलाई कस्तो असर पर्छ होला सरकार । न मेरा पुर्खाले राज्यकोषबाट करोडांै रकम लुटेर पुख्र्यौली सम्पत्ती भनी थुपारेका छन, न माथि भने झै आफुले नै केही चमत्कार गर्न सकिएको छ । अनि त लाखांै करोडौँ क्षतिपुर्ति तिर्न म जस्ताले कसरी सक्नु सरकार । ल अब मलाई आफै भनिदिनुस् मेरो सरकार देशको यस्तै परिवेशमा बाँच्न म के गरु केही उपाय भए बताइदिनुहोस् मलाई ।

मैले सिकेको सीप सही तरीकाले बेच्नै सकिन । सरकार अब मसँग त्यो बाहेक, देश बेच्ने लाइसेन्स छैन । मान्छे बेचु, मनले मान्दैन । यस्तो स्थितीमा मसँग बेच्नलाई अब बाँकी छन त केवल दुइवटा चिज । पहिलो मेरो शरीर र यसका अंगहरू । जीवनको उत्तरार्धतिर लागेको यो पनि कहाँ बिक्री होला र ।

दोश्रो मैले अहिलेसम्म आर्जन गरेको सम्पूर्ण डिग्री र प्रमाणपत्रका ठेली । यो चाही बिक्री हुन्छ की भन्ने झिनो आशा छ । मलाईं थाहा छ, यसले पनि उचित मोल त पाउदैन । तै पनि सरकार तपाईंले नै किन्ने भए एकदमै सस्तो (लिलामीकै दर) मा टक्राउन तयार छु । यदि तपाईंबाट यति पनि सम्भावना छैन भने अब अन्तिम अस्त्रको रुपमा कुनै गैरसरकारी संस्था वा अन्तराष्ट्रिय निकाय वा विदेश गुहार्नु बाहेक अरु विकल्प केही देख्दिन म । लौ न सरकार म एकदमै दोधारमा परे के गरु गरु…

तपाइकै उही…. आदेशपालक

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     10:34:51 AM
error: Content is protected !!