☰ open Loading... 19 April 2024|  

ग्रामीण जागरण सहकारीले दिवा सेवा दिने
  | २१ आश्विन २०७४, शनिबार १८:१२

सुर्खेत । ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले अवदेखि दिउँसोमा पनि सेवा दिने भएको छ ।हालसम्म विहानको समयमामात्रै सेवा दिने गरेको ग्रामीण जागरणले शेयर सदस्यहरुको मागलाई मध्यनजर गर्दै अवदेखि दिउसो पनि सेवा दिने भएको हो ।

त्यसका लागि यो आर्थिक वर्षमा संस्थामा प्रवन्ध सञ्चालकको व्यवस्था गरिने संस्थाको विसौँ वार्षिक साधारणसभाको अवसरमा जानकारी गराइएको छ । संस्थाको सचिव धनबहादुर ढेँगाको तर्फबाट सहसचिव श्यामलाल खरालले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअन्तर्गत वार्षिक नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षका लागि विभीन्न ३३ वटा योजनाहरु अघि सारिएको छ ।

संस्थामा रहेको युवा परिचालन उपसमितिद्वारा सरकारी सेवा प्रवेश तयारी कक्षा तथा विद्यालयस्तरीय शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने पनि जानकारी गराइएको छ । यस्तै व्यवसायिक योजना बनाएर लागू गर्ने, राहत, सम्मान र सहयोग कार्यक्रमलाई निरन्तरतासमेत दिइने प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो वर्ष प्रदेशनम्वर ६ को उत्कृष्ट सहकारीको रुपमा राष्ट्रिय सहकारी वैँक काठमाण्डौँले सम्मान गरेको ग्रामीण जागरणले राहत, सहयोग तथा सम्मान, सहकारी शिक्षा रेडियो कार्यक्रम ‘सहकारी जागरण’, स्वास्थ्य उपचार सहुलियतलगायत विभीन्न १५ वटा बुँदा प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ ।

साधारण सभामा कोषाध्यक्ष टीकाराम खरालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनअनुसार १९ करोड १२ लाख २२ हजार तीन सय ४३ रुपैयाँको यथार्थ आय विवरण सार्वजनिक गरिएको भने भने आगामी वर्षका लागि २० करोड ६७ लाख ८७ हजार एक सय ५५ रुपैयाँको प्रस्ताव गरिएको छ ।

साधारणसभाको अवसरमा ७० वर्ष उमेर पुगेका विभीन्न पाँच जना ज्येष्ट शेयर सदस्यलाई एक हजार पाँच सय रुपैयाँसहित सम्मानित भएका छन् भने शेयर सदस्यका छोराछोरीमध्ये विद्यालय शिक्षा परिक्षा (एसइइ) र कक्षा १२ उतिर्ण गर्नेलाई एक हजार रुपैयाँसहित ग्रामीण जागरण छात्रवृत्तीमार्फत् पुरस्कृत गरिएको छ ।

साधारणसभामा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले ग्रामीण जागरणले साँच्चिकै सहकारीको मूल्य मान्यतालाई आत्मसाथ गरेर काम गरिरहेको भन्दै प्रशंसा गरे । यस्तै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले ग्रामीण जागरण सहकारीहरुमध्येकै नमूना सहकारी रहेको बताए ।

सहकारीका अध्यक्ष ओमप्रकाश सुवेदीको अध्यक्षतामा भएको साधारणसभामा जागरण वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (जागरण एफ.एम.) का अध्यक्ष पूर्ण प्रसाद पौड्याल, स्वदेश वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिभक्त कोइराला, समाज जागरण केन्द्र (स्याक) नेपालका अध्यक्ष मीना तिवारी (शर्मा)लगायतको सहभागिता थियो । साधारणसभाकै अवसरमा मारुनी संरक्षण केन्द्र चनौटेले विशेषगरी मगर समुदायमा लोप हुँदै गरेको मारुनी नृत्य प्रदर्शन गरेको छ ।