Loading... 15 December 2017|   शुक्रबार, मंसिर २९, २०७४

भेरी बबर्इ अायाेजना : मेशीन जडानमा तिव्रता

  |

सुर्खेत । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ खन्न अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) जडान कार्य निर्धारित समयअघि नै सकिने छाँट देखिएको छ । आयोजनाले कम्तीमा दुई महिना लाग्ने अनुमान गरेकामा मेसिन उत्पादक अमेरिकी कम्पनी रोबिन्सका प्राविधिकले एक महिनाभित्रै जडान गर्न लागेका हुन् ।

आयोजना निर्माण जिम्मा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले लिए पनि मेसिन जडान उत्पादक कम्पनीले नै गरिरहेको छ । मेसिन खरिदपूर्व कोभेकले कम्पनीसँग जडानसाथै परीक्षणस्वरूप पाँच मिटर सुरुङ खनेर हस्तान्तरण गर्नुपर्ने सर्त राखेको थियो । हात्तीखालस्थित सुरुङ प्रवेशद्वारमा सेप्टेम्बर १० देखि जडान प्रारम्भ गरिएको हो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकालले तिहारअघि नै जडान हुने दाबी गरे । जडानकार्यमा चिनियाँ, अमेरिकी र नेपाली गरी ३५ बढी जनशक्ति खटिएका छन् । ‘बिदाका कारण दुई महिना लाग्ने अनुमान थियो ,’ ढकालले भने, ‘कम्पनीले दसैंतिहारमा बिदा नलिएर काम गर्नेलाई तीन गुणा बढी ज्याला दिएपछि एक महिनामै जडान हुने देखियो ।’

पहाड फोर्न प्रयोग हुने चालकरहित अत्याधुनिक मेसिन नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको हो । भेरी र बबई नदीबीचको १२ किमि लामो खण्ड सुरुङले छिचोलिँदै छ । अन्तर जलाधार जलस्थानान्तरण परियोजनामध्ये भेरी–बबई मुलुककै पहिलो तथा नमुना परियोजनामा पर्छ ।

सिँचाइ विभाग र कोभेकबीच ०७१ माघमा निर्माण सुरु गरी ०७५ फागुनमा सुरुङ बनाइसक्ने सम्झौता छ । आयोजना प्रमुख शिवकुमार बस्नेतले भूकम्प, नाकाबन्दी र बाढीपहिरोका कारण निर्माणपूर्वको तयारीमा केही ढिलाइ भएको बताए ।

‘प्रगति सन्तोषजनक नै छ । खासै सुस्त छैन,’ उनले भने, ‘दुई वर्षभित्र सुरुङ निर्माण गरिसक्ने अपेक्षा छ ।’ टीबीएमका लागि आवश्यक ५ मिटर व्याससहित डेढ सय मिटर लामो प्रवेशद्वार खनिसकेको आयोजनाले हालसम्म पौने २ अर्ब खर्च गरेको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४     4:21:18 PM
error: Content is protected !!