☰ open Loading... 25 April 2024|  

प्रदेश नम्बर ६ मा बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति
  | ८ कार्तिक २०७४, बुधबार १२:५२

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम शुरु भइसकेको छ । दलहरु उम्मेद्वार छान्ने र आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारका लागि पठाउने काममा जुटिरहेका छन् । यसैक्रममा हामीले प्रदेश नम्बर छ मा राजनीतिक दलहरुको अवस्थाको लेखाजोखा गर्न गइरहेका छौँ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दलहरुले स्थानीय तहका प्रमुख पदका लागि प्राप्त मतका आधारमा हामीले दलहरुको अवस्थाको तुलना गरेका छौँ ।

प्रदेश नंबर ६ मा रहेका १० जिल्लामा स्थानीय तह निर्वाचनमा प्रमुख पदका लागि कुल सदर मत ५ लाख ५७ हजार ३ सय ८९ मत खसेको थियो । यो प्रदेशमा नेपाली काङ्ग्रेसले कूल १ लाख ९६ हजार २ सय २२ मत ल्याएको छ भने नेकपा एमालेले १ लाख ९३ हजार २१ मत ल्याएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १ लाख ४३ हजार ५ सय ८३ मत ल्याएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १० हजार १ सय २८ मत ल्याएको छ । प्रदेश नं. ६ मा नेकपा एमालेको भन्दा ३ हजार २ सय ७ मतले अगाडि रहेको छ । पहिलो दलमा नेपाली काङ्ग्रेस, दोश्रो दलमा नेकपा एमाले र तेश्रो दलका रुपमा माओवादी केन्द्र रहेको छ ।

प्रदेश नम्बर ६ मा जिल्लागत आधारमा दलहरुको अवस्था यस्तो छ :

१) रुकुम पश्चिम :
स्थानीय तहको निर्वाचनमा पश्चिम रुकुममा माओवादी केन्द्र पहिलो दल बनेको थियो । स्थानीय तहका प्रमुख पदका लागि प्राप्त मतका आधारमा माओवादी केन्द्रले २७ हजार ४ सय ३१ मत ल्याएको थियो । दोश्रो दलका रुपमा नेपाली काङ्ग्रेसले १९ हजार ६७ मत ल्याएको थियो । आगामी निर्वाचनमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसको प्रतिस्पर्धा हुने भएको छ । रुकुम पश्चिममा बामदलको मत ३५ हजार ८ सय ३५ मत रहेको छ जुन नेपाली काङ्ग्रेसको भन्दा १६ हजार ७ सय ६८ मत बढी हो । यो जिल्लामा राप्रपाले जम्मा १ सय ९२, राष्ट्रिय जनमोचाृले ४३ र नयाँ शक्ति नेपालले १ सय ६४ मत ल्याएको छ । यहाँ नेपाली काङ्ग्रेसले अन्य दलसँग तालमेल गर्ने हो भने पनि बामदलसँग प्रतिष्पर्धा गर्न कठिन पर्नेछ । प्रतिनिधी सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको यो जिल्लामा ८४ हजार ३० मतदाता रहेका छन् ।

२) सल्यान :
स्थानीय तहको निर्वाचनमा सल्यानमा राजनीतिक दलले पाएको कुल मत जोड्दा माओवादी केन्द्र पहिलो पार्टी बनेको थियो । माओवादी केन्द्रले २८ हजार ९ सय २८ मत ल्याएको थियो भने दोश्रो बनेको दल नेकपा एमालेले २७ हजार २ सय ३७ मत ल्याएको थियो । यस्तै तेश्रो बनेको दल नेपाली काङ्ग्रेसले २२ हजार ८ सय ८५ मत ल्याएको थियो । नेपाली काङ्ग्रेस र बामदलबिच भिडन्त हुने भएपछि यहाँको चुनावी अवस्था पनि रोचक हुने देखिएको छ । यहाँ बामदलको ५६ हजार १ सय ६५ मत रहेको छ जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ३३ हजार २ सय ८० मत बढी हो । आगामी निर्वाचनका लागि सल्यानमा १ लाख ३४ हजार २ सय १२ मतदाता रहेका छन् ।

३) डोल्पा :
स्थानीय तहको निर्वाचनमा डोल्पामा नेकपा एमाले पहिलो पार्टी बनेको थियो । एमालेले ५ हजार ९ सय ७०, नेपाली काङ्ग्रेसले ३ हजार १ सय ९५ र माओवादी केन्द्रले २ हजार ३ सय २६ मत ल्याएको थियो । यसआधारमा डोल्पामा बाम गठबन्धनको ८ हजार २ सय ९६ मत छ जुन नेपाली काङ्ग्रेसको भन्दा ५ हजार १ सय १ मत हो । यो जिल्लामा आगामी प्रतिनिधी सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको छ भने १८ हजार ७ सय ६७ मतदाता रहेका छन् । डोल्पामा अन्य दलको खासै उपस्थिती खासै राम्रो छैन् । डोल्पामा काङ्ग्रेस र बाम गठबन्धन बिच नै मुख्य प्रतिष्पर्धा हुनेछ ।

४) जुम्ला :
जुम्लामा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त कुल मतका आधारमा माओवादी केन्द्र पहिलो पार्टी बनेको छ । माओवादी केन्द्रले १३ हजार ९ सय ५२ मत ल्याएको थियो भने जिल्लाको दोश्रो दल नेपाली काङ्ग्रेसले १२ हजार १ सय २७ मत ल्याएको थियो भने नेकपा एमालेले ११ हजार ७ सय ४५ मत ल्याएको थियो ।
दुई बाम एक ठाँउ भएर चुनाव लड्दा यहाँ पनि नेपाली काङ्ग्रेसलाई चुनौती थपिएको छ । यहाँ बाम गठबन्धनसँग २५ हजार ६ सय ९७ मत रहेको छ जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा १३ हजार ५ सय ७० मत बढी छ । प्रतिनिधी सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको जुम्लामा यो अवस्थामा १४ हजार मत बढाउनुपर्ने छ । यहाँ ५९ हजार ५८ मतदाता रहेका छन् ।

५) मुगु
स्थानीय तहको निर्वाचनमा मुगुमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको थियो । काङ्ग्रेसले जिल्लामा ८ हजार ६ सय ६ मत पाएको थियो । यस्तै नेकपा एमालेले ८ हजार ५ सय ७९ र माओवादी केन्द्रले ३ हजार ३ सय ८२ मत ल्याएको थियो ।

यहाँ एमाले र माओवादी केन्द्र बामदलको ११ हजार ९ सय ६१ मत रहेको छ जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ३ हजार ३ सय ५५ मत बढी हो । प्रतिनिधी सभा निर्वाचनका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा १८ हजार ७ सय ६७ मतदाता रहेका छन् ।

६) हुम्ला :
हुम्लामा गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लगभग समान हाराहारीमा मत पाएका थिए । नेपाली काङ्ग्रेसले ६ हजार ८ सय ८६, नेकपा एमालेले ६ हजार ८ सय ६८ र माओवादी केन्द्रले ६ हजार २ सय ७७ मत ल्याएको थियो । यस आधारमा हेर्दा यहाँ बाम गठबन्धनको १३ हजार १ सय ४५ मत रहेको छ । जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ६ हजार २ सय ५९ मत बढी हो । हुम्लामा आगामी प्रतिनिधीसभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र तोकिएको छ भने यहाँ २७ हजार ४ सय ३५ मतदाता रहेका छन् ।

७) कालीकोट :
कालीकोटमा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले अन्य दलभन्दा धेरै मत ल्याएको थियो । माओवादीले १५ हजार १ सय १६ मत ल्याएको थियो भने नेकपा एमालेले १३ हजार २ सय ३१ मत ल्याएको थियो । यस्तै नेपाली काङ्ग्रेसले १२ हजार २ सय ७४मत ल्याएको थियो । राप्रपाले भने ९ सय ७३ मत ल्याएको थियो ।
यहाँ बामदलले २८ हजार ३ सय ४७ मत पाएको छ जुन नेपाली कांग्रेको तुलनामा १६ हजार ७३ मत बढी हो । आगामी प्रतिनिधीसभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको कालीकोटमा ६४ हजार ९ सय ६१ मतदाता रहेका छन् ।

८) जाजरकोट :
जाजरकोटमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले १९ हजार ४ सय ३९, नेकपा एमालेले २० हजार ६०० र माओवादी केन्द्रले १७ हजार ४ सय ६१ मत ल्याएको थियो । यस्तै राप्रपाले २ सय ८५ मत ल्याएको थियो । यहाँ बामपन्थी दलको ३८ हजार ६१ मत रहेको छ अर्थात नेपाली काङ्ग्रेसले पाएको मत भन्दा १८ हजार ६ सय २२ मत बढी छ । यो जिल्लामा अन्य दलहरुको खासै राम्रो उपस्थिती छैन् । आगामी प्रतिनिधी सभा निर्वाचनका लागि जाजरकोेटमा १ निर्वाचन क्षेत्र रहेको छ भने यहाँ ८३ हजार ९ सय ३६ मतदाता रहेका छन् ।

९) दैलेख :
स्थानीय तहको निर्वाचनमा दैलेखमा सबैभन्दा धेरै मत ल्याएर नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले दैलेखमा ३७ हजार ७ सय मत ल्याएको छ भने नेपाली काङ्ग्रेसले ३६ हजार ८ सय ८१ मत र माओवादी केन्द्रले ९ हजार ७ सय २७ मत ल्याएको थियो । यस्तै राप्रपाले २ हजार १ सय ४० मत ल्याएको छ । यसआधारमा हेर्दा दैलेखमा बाम गठबन्धनको पक्षमा ४७ हजार ३ सय २७ मत रहेको छ । यो मत नेपाली कांग्रेले पाएको मत भन्दा १० हजार ४ सय ४६ मत बढी हो । यो जिल्लामा नेपाली काङ्ग्रेसले चौथो दलको रुपमा रहेको राप्रपासँग तालमेल गर्ने हो भने पनि बामदललाई उछिन्न मुस्किल पर्ने देखिन्छ ।

आगामी प्रतिनिधी सभा निर्वाचनका लागि दैलेखमा २ निर्वाचन क्षेत्र रहेका छन् भने १ लाख ३९ हजार ९ सय ४४ मतदाता रहेका छन् ।

१०) सुर्खेत :
स्थानीय तहको निर्वाचनमा सुर्खेतमा नेपाली काङ्ग्रेस पहिलो पाटी बनेको थियो । नेपाली काङ्ग्रेसले ५४ हजार ८६८, नेकपा एमालेले ५२ हजार ७ सय ८७, माओवादी केन्द्रले १८ हजार ९ सय ८३ र राप्रपाले १ हजार ५ सय ९३ मत ल्याएको थियो । यसआधारमा सुर्खेतमा बाम गठबन्धन दलले ७१ हजार ७ सय ७० मत ल्याएको छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १६ हजार ९ सय २ मत बढी हो । आगामी प्रतिनिधी सभा निर्वाचनका लागि सुर्खेतमा २ निर्वाचन क्षेत्र रहेका छन् भने २ लाख ४ हजार ५ सय ७५ मतदाता रहेका छन् ।

समग्रममा प्रदेश नं‍‍‌. ६ मा दलहरुको अवस्था यस्तो छ :

प्रदेश नं। ६ मा रहेका १० जिल्लामा स्थानीय तहको प्रमुखले पाएको कूल मतका आधारमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको छ । दोश्रो दल बनेको नेकपा एमालेको तुलनामा उसले ३ हजार २ सय ७ मत बढी ल्याएको थियो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधी सभाका लागि १२ निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनका लागि २४ निर्वाचन क्षेत्र रहेको छ ।

बामतालमेलको यस्तो छ असर : 
स्थानीय तहको निर्वाचनमा प्रदेश नं. ६ मा दुई बाम दलको कूल मत ३ लाख ३६ हजार ६ सय ४ छ । यो मत नेपाली काङ्ग्रेसले पाएको मत भन्दा १ लाख ४० हजार ३ सय ७६ मत बढी हो । प्रतिशतका आधारमा प्रदेश नंबर ६ मा एमाले र माओवादी केन्द्रको ६० दशमलव ३७ प्रतिशत हुन्छ । काङ्ग्रेस लगायतका अन्य दलको ४० प्रतिशत मत रहेको छ । यसआधारमा बाम दलले झन्डै २ तिहाई हाराहारीमा मत ल्याउने आंकलन गर्न सकिन्छ । RATOPATY