☰ open Loading... 19 April 2024|  

देउसी भैलीकाे रकम सामाजिक विकासमा लगानी
  | ८ कार्तिक २०७४, बुधबार १७:४१

सुर्खेत । गुर्भाकोट नगरपालिकामा रहेको गुर्भाकोट क्लवले यस वर्ष देउसी भैली खेलेर संकलन भएको रकम समाजिक विकासमा लगानी गर्ने भएको छ । क्लवले देउसी भैलीबाट जम्मा भएको सो रकम खेलकुद मैदान निर्माणदेखि गाउँकै स्थानीय शिव र दुर्गा मन्दीरको पुनर्निर्माणको लागि छुट्याएको छ ।

क्वलले अार्थिक अवस्था विपन्न भएका परिवारको लागि पनि रकम प्रदान गर्ने जनाएकाे छ । यस वर्षको देउसी भैलीबाट उठेको एक लाख ११ हजार रकम मध्ये २० हजार रुपियाँ खेलकुद मैदानको लागि छुट्याएको छ ।

दुर्गा र शिव मन्दीरको पुर्न निर्माणको लागि चार-चार हजार छुट्याइएको क्लवका कोषाध्यक्ष कमानसिह बिकले बताए । त्यसैगरी स्थानीय बोटेचौर बजारको फोहोर व्यवस्थापनको लागि चार हजार पाँच सय रुपियाँ छुट्याइएको उनले बताए । सो रकमबाट बजार क्षेत्रमा फोहोर फाल्ने डस्विनहरुको व्यवास्थापन गर्ने उनले जानकारी दिए ।

यसैगरी बाँकी रकम युवाहरुको क्षमता विकासको लागि छुट्याइएको कोषाध्यक्ष बिकले जानकारी दिए । यस क्षेत्रको खेलकुद विकास गर्नुको साथै धार्मिक पर्यटकीय स्थलको विकास गर्ने उद्देश्यले देउसी भैलीको रकम खेलकुद मैदान र मन्दीरलाई छुट्याइएको अध्यक्ष विर बहादुर सोनीले बताए ।

‘खेलकुद मैदान बनाउन सकेमा यस क्षेत्रको खेलकुद विकास हुने भएकाले मैदान निर्माणको लागि जुटेका छौ’ उनले भने, ‘त्यसैगरी यहाको धार्मिक मठ मन्दीरको जर्गेना गरेमा युवाहरुको समूदायमा राम्रो प्रभाव पर्दछ ।’

समाज सेवाका काममा युवाहरुलाई प्रेरित गर्नको लागि देउसी भैलीको रकम छुट्याएर सामाजिक कार्यमा लगाइएको उनको भनाई थियो । ‘युवाहरु सामाजिक कार्यमा सहभागी गराएमा समूदायमा राम्रो प्रभाव पार्छ’ उनले भने, ‘जसले गर्दा पछिल्लो पुस्ताले पनि यस्तै कामहरुको सिको गर्दछन् ।’