☰ open Loading... 20 April 2024|  

सामाजिक सुरक्षा भत्ता सदरमुकामबाटै
  | १४ कार्तिक २०७४, मंगलवार ०९:१५

दैलेख । स्थानीय तहले सामाजिक सुरक्षा भत्ता आफ्नै गाउँमा वितरण नगर्दा स्थानीय सर्वसाधारणलाई अझै सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । नारायण नगरपालिकाका ११ वडाका २ हजार ४ सय वृद्धवृद्धाले सदरमुकाममै आई बैंकमार्फत भत्ता बुझ्ने गरेका छन् । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भएकाले आफूहरूलाई सास्ती भएको उनीहरूको भनाइ छ ।

नारायण नगरपालिका ४ तामेखोलाकी ७० वर्षीया पद्मा कटुवालले चार घण्टाको बाटो हिँड्न एक दिन पूरै लागेको बताइन् । ‘स्थानीय सरकार आएपछि घरघरमा भत्ता आउँछ भन्ने सुनेकी थिएँ । तर अझै सदरमुकाम आउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘अहिले जनप्रतिनिधिले नै सदरमुकाम गएर भत्ता लिनु नत्र छुट्ला भनेपछि सकिनसकी आएँ ।’

नारायण नगरपालिका ३ का जनक कटुवालले छोरीको अपाङ्ग भत्ता बुझ्न आए पनि रित्तै फर्कनुपरेको गुनासो गरे । अपांग छोरीलाई टाढाबाट ल्याउन नसकेकाले आफैं आए पनि बैंकले दिन नमानेकाले रित्तो हात फर्किनुपरेको उनले बताएकाे खवर कान्तिपुर दैनिकमा छ ।

नगरपालिकाभित्रका ११ वडाका लक्षित वर्गले बैंक खाता खोलेपछि मात्र सुरक्षा भत्ता पाउने व्यवस्था छ । ‘बुढेसकालमा सरकारले दिने भत्ता लिन पनि यति सास्ती खेप्नुपरेको छ,’ नारायण ३ का ७५ वर्षीय दुर्ग सुनारले भने, ‘सामाजिक सुरक्षा भत्ता लिन सदरमुकामै आउनुपरेकाले खर्च पनि बढ्यो ।’

बैंक पुगे पनि दिनभर लाइनमा बस्नुपरेको उनीहरूको गुनासो छ । केही महिनादेखि सामाजिक सुरक्षा भत्ता वडामै दिनेगरी व्यवस्थापनको काम भइरहेको नगर प्रमुख रत्नबहादुर खडकाले बताए ।