☰ open Loading... 20 April 2024|  

सुर्खेतका उम्मेदवारहरुले कस्तो बनाउलान् घोषणा–पत्र ?
  | २१ कार्तिक २०७४, मंगलवार ०९:३९

मदन विक
सुर्खेत । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी सुर्खेतका प्रमुख प्रतिस्पर्धी दल गाउँ–गाउँमा पुगेर आश्वासन बाँड्न थालेका छन् । मतदाता आकर्षित गर्न नेपाली कांग्रेस, वाम गठबन्धनका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जतनाको दैलो–दैलामा पुगको हुन् । घोषणा पत्रमा कस्तो मुद्धालाई उठान गर्दा बाजी आफ्नो पोल्टामा पार्ने कसरतमा छन् ।

बाढी पीडित, भुमिहिन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर जनताहरुको घर–दैलोमा पुग्ने गरेका छन । हाल वाम गठबन्धन र नेपाली कांग्रेस उठाएका अधिकांश चुनावी मुद्दा समान छन् । उनीहरूले पुर्नंवास, लालपुर्जा, सुर्खेत–नेपालगञ्ज टु लेन सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, सांस्कृतिक हब सेन्टर बनाउने विषयलाई चुनावी मुद्दा बनाएका घोषण पत्र तयार गर्ने योजनामा छ ।

उम्मेदवार दर्तापछि जिल्लामा डेरा जमाएर बसेका नेताहरु विभिन्न नेताहरु यस्ता मुद्दाहरु लिएर गाउँ–गाउँ र टोलमा भ्यायी नभ्याई छ । प्रदेश नम्बर ६ को राजधानी सुर्खेत हुने भएकाले पनि यहाँको निर्वाचनलाई महत्वको साथ हेरिएको छ । फोरलेन सडक र हटलेन सडक निर्माण, भेरीको पानी पम्पिंग गरेर ल्याउने योजना, च्रकपथ निर्माण, काँक्रेविहारलाई व्यवस्थित गर्ने योजनाहरु भने पुरानै हुन् ।

‘स्थानीय मोडालेटी समेटेर घोषणा–पत्र बन्छ’

स्थानीय मोडलेटीलाई समेटर घोषणा पत्र तयार गरिने नेकपा माओवादी केन्द्र संयोजक कृष्णबहादुर जिसी ‘जितेन्द्र’ले जानकारी दिए । मुख्यगरी समाजको समृद्ध, सामाजिक रुपान्तरण, समाजलाई रुपान्तरणका मुद्धाहरुलाई समेटर घोषणा पत्र तयार गरिने उनले बताए । यस्तै विकासका एजेण्डाहरुलाई समावेस गरी घोषणा पत्र तयार गरिने उनले जानकारी दिए ।

‘जनतालाई आश्वसन दिने खालका एजेण्डालाई लिएर घोषणा पत्र तयार गर्दैनौँ उनले थपे, ‘जनताको जीवनस्तरलाई माथि उकास्ने खाल ऐजण्डाहरु घोषणा पत्रमा समावेस गरी जनताको घर दैलोमा जाने बताए ।

घोषणा पत्रमा सुशासनको विषयलाई समावेस गरिने उनले बताए । हाल कस्तो मोडालेटीको घोषणा पत्र तयार गर्ने भनी दुवै पार्टीका शिर्ष नेताहरु बीच छलफल भईरहेको उनले जानकारी दिए । अब केही दिनमै जिल्ला स्तरीय घोषणा पत्र सार्वजनिक गर्ने उनले बताए ।

विकास निर्माणका आयोजनालाई प्राथमिकतामा राखेर पाँच वर्षमा सम्पन्न गर्ने रणनीति नै बनाउने बताएका नेकपा एमाले सुर्खेतका अध्यक्ष एवम् प्रतिनिधि सभा १ का उम्मेद्धावर ध्रुवकुमार शाहीले मेडिकल कलेज स्थापना, भेरी किनारलाई स्मार्ट सिटी जस्ता कार्यक्रम यस अघि नै ल्याएको दावी गरे । कृषिलाई नै पहिलो प्रथामिकतामा राखेर घोषणा पत्र तयार गरिने उनले बताए । समृद्ध सुर्खेतमा बनाउनका लागि कृषिलाई नै बढी जोड दिईने उनले बताए । परम्परागत कृषि पेशाले जनताको जीवनस्तरमा सुधार नआउने भएकाले कृषिलाई वैज्ञानिककरण गरी रोजगारीको सिर्जना गर्ने गरी घोषणा पत्रमा उल्लेख गरिने उनले बताए ।

कम्युनिष्ट काम गरेर देखाउछ झुटो आश्वसन नदिने जिकिर गरेका उम्मेदवार शाहीले ५० शैयाको क्षेत्रीय अस्पताललाई ३५० शैयाको बनाउन आफ्नो नेतृत्वको सरकारले नै बजेट छुट्याएको बताए ।

मप विश्वविद्यालयको प्रशासनिय भवन निर्माणार्थ बजेट, क्षेत्रीय स्तरको एयरपोर्ट विस्तार, प्रादेश स्तरीय औद्योगिक क्षेत्र लगायतका कार्यक्रम एमाले सरकारले ल्याएकाले जनताको घर दैलोमा यही कुरालाई स्मरण गराउने शाहीले बताए । ‘जनतालाई राम्रोसंग थाहा छ कस्को पालमा कति काम भएका छन्’ शाहीले भने,–‘सुर्खेतका २ वटै प्रतिनीधि सभा र ४ ओटा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनलाई जिताउन अपिल समेत गरे । एमाले राष्ट्र र जनताका हितमा सरकारमा रहदाँ र सरकार बाहिर रहदाँ पनि जनताको पक्षमा बोल्ने भएकाले एमाले नै जनताका समस्या समधान गर्न सक्षम रहेको उनको तर्क छ ।

‘राजधानी बनाउने लायक योजना ल्याउछौँ’  

नेपाली कांग्रेसले विकास, संविधानका विषयलाई लिएर जनताको घर दैलो पुगेको छ । नेपाली कांग्रेस सुर्खेत प्रतिनिधि सभा २ का उम्मेदवार हृदयराम थानीले विकास र संविधानका विषयलाई मुद्दा बनाएर जनताको घर दैलोमा गएको बताए । सुर्खेतमा तीन ओटै निर्वाचन क्षेत्रमा कांग्रेसले जितेकाले विकास पनि दु्रत गतिमा भएको दावी उनको छ ।

‘कांग्रेस विकास प्रेमी हो, स्थानीय तहको निर्वाचनमा कांग्रेस विजयी भएपछि सुर्खेत टु रारा ताल र मानसरोवरलाई पर्यटकीय स्थल रुपमा घोषणा गर्नेछौं’ साथै पुराना योजनाहरुलाई पुरा गर्ने र नयाँ योजनाको थालनी गर्ने गरी घोषणा पत्र तयार गरिने बताए । नुमना प्रदेश बनाउने गरी घोषणा पत्र तयार गर्ने थानीले बताए । घोषण पत्र आगामी केही दिनमै सार्वजनिक हुने जानकारी दिए ।

संविधान कार्यान्वय र महिला दलित जनजाति र सिमाकृतहरुको अधिकार सुनिश्चित गराउनका लागि कांग्रेसलाई भोट दिएर जिताउन समेत उले आग्रह गरे । नेपाली कांग्रेस विकास प्रेमी भएकाले मुख्यत् ६ नम्बर प्रदेशको राजधानी बनाउन लायक एजेण्डा, बाढी पीडित, भुमिहिन र सुकुम्बासीहरुका समस्यालाई समधान गर्ने गरी घोषणा पत्र तयार गर्ने पनि उनले बताए ।

कांग्रेसले राणा शासनका अन्त्य ग¥यो । ‘२०६२÷०६३ मा अन्तरिम संविधान बनायो । नेपालको संविधान २०७२ पनि कांग्रेसकै कारणले गर्दा बनेको दावी गरेका पुर्व मन्त्री थानीले विगतमा वामपन्थीहरु ६२ प्रतिशत हुदाँ पनि संविधान घोषणा गर्न नसकेको बताए ।
कांग्रेस सरकारमा पुगेकै समयमा संविधान घोषणा भयो बताएका उनले जारी भएको संविधानलाई कार्यान्वयन गर्न संघ र प्रदेशमा पनि काँग्रेसले जित्न आवश्यक रहेको औंल्याए ।