Loading... 18 December 2017|   सोमवार, पुस ३, २०७४

पार्वतीले श्रीमान बर्माको मृत्युको कारण बिन्दुको घरबाट खोज्ने कि नखोज्ने ?

  |

देवेन्द्र बस्नेत

कार्यकक्ष एउटै । दिनभरजसो उनिसंगै हुन्छु । नैराश्यताको स्वर हटिसकेको छैन । आवाजले ‘पीडा’ प्रष्टै बोल्छ । शरिरमा फेरिएको पोशाकको रंगले ‘सादा’ बनाईदिएको छ । म तुँहालिएको उनको मनलाई चकमन्न तुल्याउने प्रयास गर्छु । केहि ‘रमाईला’ प्रसंग निकाल्न खोज्छु । अनुहार मात्रै ‘फिस्स’ गर्छ, मन खुलेर हाँस्दैन । अनि लाग्छ म ‘ट्र्याक’ भन्दा बाहिर गएँ । उनको मन दुखाएँ । भन्छन् ‘दुख परेको बेला रमाईलो सभ्य मानिदैन ।’ उसैगरि म सम्हालिन करै लाग्छ । तर सहकर्मीको भावुकता देखिरहन पनि सक्दैन । अनि कक्षबाट बाहिरिन्छु । सोच्छु ‘कति दुखि कर्म पार्वतिको ।’

सहकर्मी (रेडियो स्वर्गद्धारीकर्मी) पार्वति बस्नेत । जोडा ‘श्रीमान’ गुम्नुको आलो घाउ स्याहारेर बाँचेकि छिन् । कति सम्म स्याहार्नु ? आँशु बनेर पोखिने उनको पीडाले आँखा लाल बनाईदिएको प्रष्टै देखिन्छ दिनहुँ । ‘बिजोर’ हुनुको कति पीडा होला ? श्रीमानसंगैका तस्बिरहरु फेसबुकमा राखेर पोष्ट गर्दा उनको मनले शान्ति पाउँछ या झनै दुख्छ ? उनलाई थाहा होला । नत सोध्नै सकिने ।

‘मृत्यु स्वाभाविक प्रकृया हो’ पार्वतिले बुझेकी छिन् । जन्मेपछि मृत्यु अवश्य छ । उनका जोडा ‘प्रमोद बर्मा’ मात्रै हैनन्, पार्वतिको बाटो पनि त्यहि हो,जहाँ श्रीमान पुगे । तर,अफसोच आफ्नो श्रीमानको मृत्यु कसरी ? पार्वतिले आफ्नो श्रीमानको मृत्युको कारण थाहै नपाउने ? जीवनभर संगै रहने बाचा गरेका श्रीमान जुरुक्कै उठेर हिँड्दा किन हिँडे ? या कसरी उठे ? यो जान्न खोज्नु पार्वतिको अपराध हो ? कसले दिने हो उनलाई जवाफ ‘तिम्रा श्रीमान यसरी उठेर गए’ भनेर । हो पार्वतिको पीडा यहि हो । उनि जान्न खोजिरहेकी छिन् ‘मेरो जीवनको सहारा कसरी गुम्नु भयो, कोहि त बताईदेउन ।’ लेखकले बर्माको मृत्युलाई पुष्टि गर्न सक्दैन । तर आशंका गर्न सक्छ ‘पार्वतिका श्रीमानको हत्या भएको हुन सक्ने सम्भावना अधिक छ ।’ यदि होईन भने किन होईन ? आँफू कहाँ मुद्धा परेको प्रहरीले अनुसन्धानै नगर्ने ? बर्मा मृत्यु प्रकरणको बारेमा अध्ययन गरेर पार्वतिलाई यथोचित कारण सुनाईदिन प्रहरीलाई के को आपत्ति, के हो समस्या ? किन मौन साँधेर बस्छ ‘जनताको सेवक नेपाल प्रहरी ?’ अनुसन्धान हुँदै छ भनेर पार्वतिलाई कहिले सम्म पीडाको सागरमा डुबाईरहने ? उनलाई राहत वा न्याय दिनु प्रहरीको कर्तव्य होईन ?

बर्मा मृत्युको ‘फिल्मी कथा’
नेपाल बैंक लिमिटेड गुलरिया बर्दियाका शाखा प्रवन्धक प्रमोद बर्माको मृत्युको सत्यता के हो ? उनको परिवार जान्न आतुर छ । तर उनको मृत्युलाई फिल्मी कथाको शैलिमा बाहिर ल्याईयो । प्रहरी समेत कति सम्म भने मानौँ पुरै फिल्मी कथाको लेखक कोहि छ, ‘कथा सम्पादक’ बनेर प्रहरीले तीन घण्टा सम्म पर्दामा सिमित पारेर खत्तम पारिदिँदैछ । तर यथार्थता सरसर्ती बगेको छ । जहाँ बर्माको मृत्युको कारण छचल्किरहेको छ ।
बैंकको गुलरिया शाखाबाट बर्मा साउन २३ गते दाङ स्थित शाखा कार्यालयमा सरुवा भएर आउँदै थिए । त्यसको दुईदिन अघि २१ गते बर्मालाई उनकै सहकर्मी बिन्दु ज्ञवालीले घरमा निम्तो दिईन् ‘आज मेरो घरमा पाहुना पर्न आउनुहोला ।’

यि युवति हुन् बिन्दु ज्ञवाली

गुलरिया स्थित बिन्दुको घरमा बर्मा २१ गते बेलुका पाहुना पर्न गए । घरमा बिन्दुकी आमा, अनि उनकी साथी आष्मा खड्का थिईन् ।

यि हुन् आष्मा खड्का ।

अघिल्लो दिन बेलुकाको यो ‘क्लाईमेक्स’ पछि कथा सस्पेन्स बन्यो । बिहान अबेर सम्म पार्वतिलाई श्रीमानको फोन आएन । विहान ७ बजेभित्रै उनिहरुको बिचमा कुराकानि हुने दैनिक ‘सेड्युल’ नै बनिसकेको थियो । ‘आज श्रीमानले किन सेड्युल बिर्सिए ?’ पार्वतिले फोन गरिन् ‘बर्मा सम्पर्क बाहिरै । मोबाईल स्वीच अफ थियो । उनले दोस्रो फोन उनै बिन्दुलाई फोन गरिन् । किनकी बर्माले अघिल्लो दिन साँझ पार्वतिलाई जानकारी दिएका थिए ‘म बिन्दुको घरमा छु ।’ बिन्दुको फोन उठेन । श्रीमानको क्वार्टर रहेकै बैंकको कार्यालयमा उनको तेस्रो फोन गयो । सुरक्षा गार्डले भने ‘हिँजो बेलुका देखि सर आउनु भएको छैन ।’

बिन्दुको घरमा गएका श्रीमान किन आएनन् ? कता गए ? अनि बिन्दुको फोन किन उठेन ? पार्वतिको मन बेचैन बन्दै गयो । उनले बिन्दुकी साथी आष्मालाई फोन गरिन् । तर सितिमिति उठेन । झण्डै १४÷१५ कलपछि आष्माले फोन उठाईन् र भनिन् ‘दिदि सर त…….’ यति भन्नासाथ आष्माको फोन कट्यो । पार्वतिको होसहवासै उड्यो । ‘केहि न केहि पक्कै भएको छ’ यसै सोचेको पार्वतिको मन दाङमा बस्न मानेन । तत्कालै उनि बर्दिया हिँडिन् । गन्तव्यभरी श्रीमानलाई फोन प्रयास गरिरहिन् । तर फोन ‘अन’ भएन । बैंकमा पनि उस्तै फोन गईरह्यो । बैंकका अर्का गार्डले यो पटक भन्दै थिए ‘सर मर्निङ वाकमा जानु भएको हो, नआत्तिनुस् ।’ यसैक्रममा बिन्दुकी साथी आष्माको म्यासेज आयो ‘सर राती एकवजे निस्कनु भएको हो,कहाँ जानु भयो थाहा छैन ।’

बर्दिया पुगेपछि पार्वति सुरुमै श्रीमान कार्यरत बैंकमा पुगिन् । उनलाई बैंकका सह प्रवन्धकले सान्त्वना दिन खोेजे ‘नआत्तिनुस् केहिवेरपछि कुरा गराईदिन्छु, सरलाई केहि भएको छैन ।’

पार्वतिको मन शान्त बन्ने कुरै भएन । उनि बिन्दुको घरमा पुगिन् जहाँ बर्मा अघिल्लो दिन उनकै घरमा थिए । पार्वति पुग्नासाथ बिन्दुकी आमा उनि माथि खनिईन् ‘मेरो घरमा किन आज मेला लागिराछ ?’ पार्वतिले आफ्नो श्रीमानको बारेमा सोधीखोजि गरिन् । बिन्दुकी आमाले भनिन् ‘हिँजो राती ९ वजेतिरै घरबाट खाना खाएर निस्कनु भएको हो,हामीलाई थाहा छैन ।’

बिन्दुकी आमाको मुखबाट पहिलो झुठ फुस्कियो । बिन्दुसंगै रहेकी उनकि साथीले राती एकवजे गएको भनेर किन पार्वतिलाई म्यासेज पठाईन् त ? विन्दुकी आमालाई आष्माले दिएको जानकारी सुनाईन् । बिन्दुकी आमाले अनि बल्ल स्वीकारीन ‘हो राती एक बजे निस्कनु भएको हो ।’

प्रहरीका लागि यो झुठ अनुसन्धानको ‘क्लु’ हैन ? 

अँझ अघिल्लो रातलाई धेरै रहस्यमय बनायो बिन्दुको परिवारले । बैंकका हाकिम र बिन्दु बेपत्ता भएको भनेर २२ गते विहानै उनका दाजु केशब ज्ञवाली (जो त्यहि दिन बिहान काठमाडौँबाट घर पुगेका थिए) ले घर नजिकैको प्रहरीमा उजुरी दिएका रहेछन् । बर्मा र बिन्दुसंगै सिन्धुलीको सन्तोष भनिने मोदनाथ काफ्लेको नाम पनि बेपत्ता सुचीमा राखेर प्रहरीमा निवेदन दिईएको छ ।

को हुन् ? मोदनाथ काफ्ले ? प्रहरीले किन सोधिखोजि गरेको छैन ?

२२ गते बिहान बाट फिल्मी कथाको बनावटी ‘सस्पेन्स’ खुल्दै जान थाल्यो । बेपत्ता भनिएकी बिन्दु घरमै भेटिईन् । त्यो पनि ‘बक्स पलङ’ भित्र । उनि बक्स पलङभित्र कसरी किन पसिन् ? उनको जवाफ छ ‘ममीको डरले ।’ यो सस्पेन्सको राज उनले यसरी भनिन् ‘राती सरले पानी माग्नु भयो, म पानी लिएर उहाँ भएको रुम जाने बेलामा ममीले देख्नु भयो, अनि ममीको डरले म पलङभित्र पसेँ ।’ अनि सर चाहिँ ? उनको जवाफ छ ‘मलाई थाहा छैन ।’

यस्तो बनावटि कथालाई पार्वतिले पत्याउनै पर्ने ? अब भनौँ,उनले आफ्नो श्रीमानको मृत्युको कारण बिन्दुको घरबाट खोज्ने कि नखोज्ने ? उनि उजुरीका लागि प्रहरी समक्ष पुगिन् । तर प्रहरीले उजुरी दर्ता गर्न मानेन । ‘सर आईहाल्नु हुन्छ,किन उजुरी गर्नु पर्यो भनेर प्रहरीले उजुरी लिन आनाकानी गरे ।’ मृत्यु भैसकेका बर्मालाई जिउँदै फर्केर आउँछन् भन्ने ग्यारेण्टि प्रहरीले कसरी दियो ? यो अर्को अचम्मित । उजुरीका लागि पार्वतिले ठूलै सोर्स लगाउनु पर्यो । सोर्स पछि अन्ततः बर्माको हुलिया सहित पार्वतिले श्रीमान हराएको उजुरी दर्ज गरिन् ।

अघिल्लो रात देखि बेपत्ता श्रीमानको बारेमा बनावटि कथा सुन्दैमा २२ गतेको पुरै दिन खत्तम भयो । २३ गते विहान देखि फेरि उहि कथाकहानी । प्रहरीले विहान ९ वजेतिर बिन्दु र आष्मालाई सोधपुछका लागि बोलायो । छलफल चल्दै थियो पार्वतिलाई उनको नन्दले फोन गरेर सोधिन् ‘भाउजु दाईको मोटरसाईकल नम्बर कति हो ?’ बर्मा चढ्दै आएको रा २ प १६३८ मोटरसाईकल बाँकेको अगैया स्थित जंगलमा फेला परेको सुचना उनै नन्दले पार्वतिलाई दिईन् । मोटरसाईकल संगै बर्मा पनि त्यहिँ मृत अवस्थामा थिए ।

पार्वतिलाई यो कुरा लुकाईएको थियो । बर्माको शब त्यहाँ रुखमा भुण्डिएको अवस्थामा फेला परेको थियो । पार्वतिका अन्य आफन्तहरुले भने मोटरसाईकलसंगै शब फेला परेको सुचना पाईसकेका थिए । सोही सुचनाका आधारमा पार्वतिका भाई सहितका आफन्तीहरु अगैया प्रस्थान गर्दै थिए । उनिहरुले प्रहरीलाई फोन गरेर आँफुहरु नपुग्दा सम्म शब नउठाउन भनेका थिए । तर प्रहरीले ‘हत्तपत्त’ शब उठाईदियो ।

आफन्तीहरुले अनुरोध गर्दा पनि शब उठाउन प्रहरीलाई किन हतारो भयो ? प्रहरीले बेवारिसे शब भेटिएकाले शब उठाएको बतायो । बर्माको साथमा रहेका उनको परिचय दिने यथेष्ट प्रमाण हुँदा हुँदै प्रहरीले किन पहिचान हुन नसकेको वेवारिसे शब भन्यो ?

हेरौँ बर्मासंगै रहेका उनको परिचय दिने कागजातहरु ।

हतारमा बर्माको शब उठाएर पोष्टमार्टमका लागि प्रहरीले नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा पुर्यायो । पार्वतिलाई पनि बर्मा गम्भिर घाईते अवस्थामा अस्पतालमा उपचाररत रहेको भन्दै भेरी अञ्चल अस्पताल पुर्याईयो । अस्पतालमा पुग्दा पार्वतिले आफ्नो जोडा गुमिसकेको पत्तो पाईन् । शरिरभरी निलडाम । शरिरका विभिन्न ठाउँमा मासु खुईलिएको । रगताम्य बर्माको शबलाई जो कोहिले सहजै आँकलन गरे ‘आत्महत्या हैन,हत्या हो ।’ तर प्रहरीको मुचुल्का भने बर्माको आत्म हत्या भएको र शरिरमा समेत कुनै चोटपटक नलागेको भनेर बनेको रहेछ ।
हेरौँ प्रहरीको मुचुल्कामा कहिँकतै चोट नलागेको भनेर उल्लेख गरिएको बर्माको चोटाम्य शरिर ।

किन प्रहरीले यस्तो मुचुल्का तयार पार्यो ? के कसैको मृत्युलाई यति सहज रुपमा ब्याख्या गरिदिनु प्रहरीको दायित्व हो ? 

प्रहरीको गलत मुचुल्का माथि प्रश्न उठ्यो । प्रहरीले चोटपटक नलागेको भनेर तयार पारेको मुचुल्कामा ‘चोट पटक’ लागेको भनेर थप्न मिल्ने बतायो । तर अहिले प्रहरीले थप्न मिल्दैन भन्छ । के साँच्चै पार्वतिलाई न्याय दिलाउन गम्भिर छ न्यायिक निकाय ? मृत शरिर पाँच÷पाँच घण्टामा परिवर्तन हुँदै जाने भन्दै बर्माको शरिरमा देखिएको गम्भिर चोटलाई पनि त्यसैको कारण बनाउन खोज्यो । ‘ल शरिरको चोट परिवर्तन का कारण देखियो,’पार्वतिको प्रश्न छ ‘अण्डकोषबाट रगत चुहेको छ,त्यो पनि त्यहि परिवर्तनको कारण हो त ?’

अँझ अर्को कुरा त बर्दियाबाट बाँकेको अगैया स्थित मसानघाटमा पुगेर आत्महत्या गरेको भनेर प्रहरीको मुचुल्कामा उल्लेख गरिएका बर्माको मोटरसाईकल बर्दिया देखि अगैया सम्मका कुनै पनि चेकपोष्टमा ईन्ट्रि छैन । अनि मोटरसाईकलको हेल्मेट समेत फरक छ । अनि प्रहरीले भनेजस्तै बर्मा आत्महत्या गर्नका लागि प्रहरी चेकपोष्ट छल्दै बर्दियाबाट अगैया आईपुगे ? बर्मासंग रहेका दुईवटा मोबाईल मध्य एउटा मोबाईल गायब थियो । पछि उनको क्वार्टरमा दोस्रो पटकको सर्चका क्रममा त्यो मोबाईल भेटियो । तर मोवाईलमा सीमनै थिएन । ‘पहिलोचोटी खोज्दा नभेटिएको मोबाईल त्यहि ठाउँमा अर्को पटक खोज्दा कसरी भेटियो ? त्यो पनि सीम नभएको अवस्थामा ।

शब पोष्टमार्टम पछि बर्माको शब अन्त्यष्ठिका लागि दाङ ल्याईयो । साउन २७ मा पार्वतिको परिवारले ईलाका प्रहरी कार्यालयमा पुगेर बिन्दु र आष्मा बिरुद्ध किटानी जाहेरी दियो । बर्दियामा रहेका उनिहरुसंग प्रहरीले तत्कालै अनुसन्धान लिएन । पार्वतिको परिवार भदौ ४ मा फेरी प्रहरी कार्यालय पुग्यो । चाँडै नियन्त्रणमा लिएर अनुसन्धान थाल्ने बताएको प्रहरीले भदौ ७ मा बल्ल नियन्त्रणमा लिएको र अनुसन्धान सुरु गरेको बतायो ।

अहिले बिन्दु र आष्मालाई प्रहरीले छोडिदिएको छ । झण्डै तीनसाता सम्मको प्रहरी अनुसन्धान कति सम्म उपलब्धी भयो ? प्रहरी भन्छ ‘अँझै अनुसन्धानमै छौँ ।’ ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञ भट्राईका अनुसार आवश्यक परेका बेला प्रहरीमा हाजिर हुने सर्तमा उनिहरुलाई रिहा गरिएको छ । ‘सरकारी वकिल कार्यालयले आवश्यक परेका बेला हाजिर हुने सर्तमा रिहा हुनु भन्ने खालको मिशिल हामीहरुलाई पठाएको आधारमा उनिहरुलाई रिहा गरिएको हो,’डिएसपी भट्राईले भने । उनका अनुसार थप सोधपुछका लागि असोज ८ वा ९ मा पुनः बोलाउन लागिएको समेत बताए । उनले यो मुद्धालाई मर्न नदिने पनि वताए ।

आफ्नो श्रीमानको शंकास्पद मृत्युबारे न्याययिक छानवीन हुनुपर्ने भन्दै पार्वतिले उठाएको आवाज मानवअधिकार भित्रको बिषय हैन ? यदि हो भने खोईत मानवअधिकारकर्मी हरु यो घटनामा बोलेका ? नेपाल पत्रकार महासंघले पार्वतिलाई न्याय दिलाउनका लागि दबाब दिईरहेको भएपनि बाँकी मानवअधिकारबादी संस्थाहरु उनलाई साथ दिन तम्तयार भएनन् । उल्टै आँफैले उजुरी दिँदा समेत अहिले प्रहरीले गरिरहेको अनुसन्धानको बिषयमाथि आँफुहरुले बोल्न नमिल्ने भन्दै निराश बनाएर फिर्ता पठाउने काम गरिएको छ ।

सुरुदेखि श्रीमानको शबमाथि गरिएको खेलाँचिले पार्वतिलाई विधीको शासन र कानुन पनि नेपालमा छ भन्ने सत्यता उदांगो लाग्नु स्वाभाविक बन्दै गईरहेको छ । यसर्थ पार्वतिका श्रीमान प्रमोदको मृत्यु बारे निष्पक्ष छानवीन गरेर पार्वतिको मनमा लागेको घाउमा मल्हम बन्ने प्रयास सबैले एकपटक गरौँ । अन्यथा प्रमोदकै जस्तो हरेक मृत्युलाई वेवारिसे भनेर ढाकछोप गर्ने संस्कारको बिकास हुँदै जाने छ ।पार्वतिको दाबी छ ‘ठूलो योजना अनुसार श्रीमानको हत्या गरेर झुण्ड्याईएको हो ।’युएसखबरअनलाईनबाट

प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४     11:53:29 AM
error: Content is protected !!