☰ open Loading... 19 April 2024|  

सुर्खेत प्रहरीद्वारा बम बनाउने ठुलो परिमाणमा विष्फोटक पदार्थ बरामद
  | २५ कार्तिक २०७४, शनिबार १०:२८

सुर्खेत । आसन्न मंसिर २१ गते हुने चुनाव विथोल्नका लागि भित्राइएको ठूलो परिमाणको बम बनाउने कच्चा पदार्थ सुर्खेत प्रहरीले बरामद गरेको छ । कैलालीको सुगरखाल हुँदै सुर्खेतको पञ्चपुरी–११ ढुंगेबजारबाट भित्राउँदै गरेको डेटोनेटर, जिलेटिन, फ्युजवायर, तारहरुसंगै प्रहरीले मोवाईल सेटसहित नेपाली र भारती सिमकार्ड समेत बरामद गरेको हो ।


विशेष सुराकीको आधारमा शुक्रबार ति सामग्री ध १ च १०६ नम्बरको जीपबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए । उनका अनुसार डेटोनेटर ६० थान, जिलेटिन ५६० र त्यसमा प्रयोग हुने तार ११ मिटर वरामद गरेको छ । विष्फोटक सामग्री प्रहरीले पहिलो पटक ठुलो परिमाणमा बरामद गरेको हो ।

सवारी चालकलाई नियन्त्रणमा लिएपनि विष्फोटक पदार्थ कसले ल्याएको हो भन्ने विषयमा केही नखुलेको र अनुसन्धान भइरहेको एसपी आचार्यले बताए । चुनाव विथाल्नकै लागि विष्फोटक सामग्री भित्राएको हुनसक्ने प्रहरीको आशंका छ । एसपी आचार्यले प्रेसर कुकुर, सुतली लगायतका बम बनाउन यी सामग्री प्रयोग हुने बताए ।

केही दिन अघि मात्रै इलाका प्रहरी कार्यालय छिन्चुले ५ थान डेटोनेटरसहित पूर्व लडाकु समेत रहेका जाजरकोटका दलबहादुर कामीलाई पक्राउ गरेको थियो । प्रहरीले चुनाव विथोल्ने शक्तिले विभिन्न विष्फोटक पदार्थ भित्राइरहेको जानकारी प्राप्त भएपछि नाकाहरुमा चेकजाँचमा समेत कडाई गरेको जनाएको छ ।