☰ open Loading... 20 April 2024|  

बर्दीको आडमा आतंक मच्चाउँदै सुर्खेत प्रहरी
  | ३० कार्तिक २०७४, बिहीबार १६:२९

सुर्खेत । नागरिकको जीउ, ज्यानको सुरक्षा गर्ने दायित्व प्रहरीको हो । तर, प्रहरी नै बर्दीको आडमा आतंक मच्चाउँदै हिँडेपछि सुरक्षाको अनुभूती कसरी गर्ने ? जिल्ला प्रहरी प्रमुख फेरिएसंगै सुर्खेत प्रहरीले जथाभावी होटलमा प्रवेश गर्दै छापा मार्न थालेको छ । जसले गर्दा निर्दोष युवा युवतीले यौनकर्ममा संलग्न रहेको आरोप खेप्नुपरेको छ ।

प्रहरीको अपरिपक्क कार्यले केही दिन यता वीरेन्द्रनगरका होटल व्यवसायीहरु त्रसित बनेका छन् । खानतलासीको नाममा होटलमा शान्तपूर्वक बसिरहेका ग्राहकलाई यौन क्रियाकलापकै लागि बसेको हुन सक्ने अनुमान लगाउँदै पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी प्रमुख (एसपी) को सरुवा भएपछि होटलबाट पैसा असुल्न प्रहरीले ग्राहक पक्राउ गर्दै त्रास फैलाउने गरेको हो ।

अचम्मको कुरा के भने यदि कुनै होटलमा यौन क्रियाकलाप हुने गरेपनि व्यवसायीसंग बार्गेनिङका उसलाई पक्राउ गर्दैन् । यसले गर्दा प्रहरीले केवल पैसा असुल्न छापा मारिरहेको आरोप लाग्ने गरेको छ ।

होटलमा खाजा खाइरहेका ग्राहकलाई जबरजस्ती पक्रेर सामाजिक रुपमा बदनाम गरेको भन्दै पीडितहरुको एक समूहले कानुनी बाटो रोजेको छ । बुधबार दिउँसो हटियालाइनस्थित एक होटलमा खाजा खाइरहेका सादा पोशाकका सैनिक जवानसंग विगतमा यौन क्रियाकलापमा पक्राउ परेकी युवतीहरुको बार्गेनिंग नमिलेपछि ती युवतीलाई फसाउन सैनिक जवानले प्रहरी बोलाएका थिए ।

प्रहरीले अर्को टेबुलमा बसिरहेका युवाहरुलाई समेत पक्राउ गरेर हिरासतमा राखेको थियो । आफूहरुको ती युवतीसंग कुनै चिनजान नहुँदै अनाहक प्रहरीले बदनाम गरेको उनीहरुको आरोप छ । भ्यानमा चढाउँदा प्रहरीले लौरीले हिर्काएको, हिरासतमा अनावश्यक टर्चर दिएको पीडितको गुनासो छ । खुट्टामा प्रष्टै चोट देखिएकाले प्रहरी अधिकृतविरुद्ध यातनाविरुद्ध उजुरी दिने पीडितले बताए ।

‘होटलमा बसेर शान्तपूर्वक खाजा खाइरहेका बेला एक्कासी प्रहरी आएर भ्यानमा चढायो’ एक पीडित युवाले आक्रोश पोखे, ‘प्रहरीले हचुवाको भरमा पक्राउ गर्दोरहेछ । व्यक्तिको जीवनमाथि यो भन्दा ठूलो खेलवाड अरु के हुन सक्छ । कसैको चरित्र यति हचुवाका भरमा सिध्याइदिने ?’ होटलभित्र बसेर खाइरहेकाहरुलाई बिना अभियोग पक्राउ गरेर मदिरा सेवन गरे–नगरेको मेडिकल टेस्ट गरेको बताइएको छ । मदिरा सेवन गरेर होहल्ला गरेमा, सवारी साधन चलाएमा मापसे परिक्षण गर्ने गरिन्छ ।

‘प्रहरीलाई चित्त नबुझ्न वित्तिकै होटलमा बसिरहेका बेला पक्राउ गरी मापसे चेक गरियो’ पीडित एक युवाले भने, ‘सुर्खेत प्रहरीले जतिबेला पनि मेडिकल टेस्ट गरेर फसाउने नियत देखियो, यस्ताे गर्नु गलत हाे ।’

वीरेन्द्रनगरमा दिनदहाडै चोरीका घटना भैरहन्छन् । दिउँसै मोटरसाइकल चोरीका घटनाले स्वयं प्रहरी आजित छ । लागूऔषध, अवैध काठ कारोबारीलाई नियन्त्रण गर्न सकेको छैन् । तर, हाकिम फेरिन वित्तिकै होटलबाट असुली गर्न भ्रष्ट नियतले छापा मार्ने गरेको साना होटल व्यवसायीको आरोप छ । जिल्ला प्रहरी प्रमुख (एसपी) मोहन आचार्य सरुवा भएलगत्तै नया एसपी उमाप्रसाद चर्तुवेदी आएका छन् ।

हाकिम परिवर्तनसंगै होटल व्यवसायीबाट पैसा असुली गर्ने उद्देश्यले छापा मार्ने चलनले पुनः निरन्तरता पाएको छ । अनाहकमा होटलमा खाजा खाइरहेका ग्राहकलाई पक्राउ गरेर यौन व्यवसायीको रुपमा हिरासत सजाय दिएको भन्दै होटल सञ्चालकले गुनासो पोखे ।

पीडित युवाहरुले कानुन विपरीत आफूहरुलाई पक्राउ गरिएको भन्दै शुक्रबार उच्च अदालतमा जिल्ला प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदी, प्रहरी निरीक्षक रेशम बोहरा, डियूटी कमाण्डरविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । भ्यानमा चढाउँदा कुटपिट भएकाले यातनाविरुद्ध मुद्दा दिने बताए ।

नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष नन्द भण्डारीले कुनै होटलमा ग्राहक बसिरहेका बखत अनाहकमा पक्राउ गर्नु व्यक्तिको नागरिक अधिकारको हनन भएको बताए । ‘यदि त्यसरी युवा–युवती बसेका हुन् भनेपनि की त युवतीले जबरजस्ती गरेको गुनासो गर्नुप¥यो । कि त प्रहरी आफैले रंगेहात भेटाउनुप¥यो’ उनले भने

टेबुलमा बसिरहेका बेला बिना कारण पक्राउ गर्नु प्रहरीको आपत्तिजनक कार्य हो’ भण्डारीले थपे, ‘यसले व्यक्तिको अधिकारमात्रै हनन् गर्दैनन् । स्वतन्त्रतापूर्वक होटल व्यवसाय गर्न पाउनुपर्ने हकसमेत बन्देज हुन्छ ।’

उता, जिल्ला प्रहरी प्रमुख एसपी चर्तुवेदीले होटलमा हचुवाको भरमा छापा मारिएको विषयमा आफू अनभिज्ञ रहेको बताए । उनले भने, ‘प्रहरीले जबरजस्ती बिना प्रमाण पक्राउ नगर्नुपर्ने हो । के भएको हो म बुझ्छु ।’