☰ open Loading... 20 April 2024|  

छैठौं राष्ट्रिय कर दिवस : ‘सरल र व्यवहारिक कर नीतिको खाँचो’
  | १ मंसिर २०७४, शुक्रबार १२:३१

सुर्खेत । छैठौं राष्टिय कर दिवसका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगर आयोजित कार्यक्रमका सहभागीले सजिलो, स्पष्ट र व्यवहारिक कर नीति बनाउनुपर्ने आवश्यक्ता औल्याएका छन । सुर्खेत उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालयको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा प्रभातफेरीपछि भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो आवश्यक्ता औल्याएका हुन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. ६ का अध्यक्ष पदमबहादुर शाहीले अस्पष्ट, अव्यवहारिक र अप्ठेरा करनीतिलाई तुरुन्त हटाउनुपर्ने माग गरे । बारम्बार परिवर्तन भैरहेको अनि व्यापारी व्यवसायीले बुभ्mनै नसक्ने खालका अव्यहारिक र अप्ठेरा करनीति अवलम्बन गरिएकै कारण समस्या भैरहेको उनको भनाई छ ।

करबारे अधिकतम जानकारी गराउने दायित्व राज्यको नै भएको भन्दै अध्यक्ष शाहीले दण्ड जरिमाना तिराएर राजस्व बढाउनुभन्दा त्यो स्थिति आउनै नदिन राज्य अघि सर्नुपर्छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष मोति कंडेलले आगामी दिनमा धेरैजसो कर स्थानीय निकायले संकलन गर्ने उल्लेख गर्दै त्यसबारे आवश्यक नीति र कानून बनिरहेको जानकारी दिए ।

घरवहाल कर, व्यवसायिक करलगायतका अन्य कर स्थानीय निकायले संकलन गर्न थालेपछि सबैलाई सहजता र पारदर्शिता हुने विश्वासपनि व्यक्त गरे । यसैगरी सुर्खेत उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष प्रकाश उप्रेतिले कर शिक्षाबारे जान्न र बुभ्mनका लागि व्यापारी आफैले अग्रसरता देखाउनुपर्नेमा जोड दिए ।

राज्यले कर शिक्षालाई व्यापक बनाउनुपर्ने उल्लेख गर्दै उनले कर शिक्षा लिएर व्यवहारमा उतार्न सके कुनै व्यापारीले कसैको डर अनि भर पर्न नपर्ने जिकिर गरे । कर शिक्षाको अभावकै कारण धेरैजसो व्यापारीहरुले दण्ड जरिमाना भोग्नुपरिरहेकोमा चिन्ता व्यक्त गर्दै कार्यवाहक अध्यक्ष उप्रेतिले सहज रुपले कर तिर्नका लागि सहज वातावरण बनाउन सुझाव दिए ।

करदाता सेवा कार्यालयका कर अधिकृत यज्ञ ढकालले करदाताहरु कर शिक्षाबाट टाढै रहन खोज्ने गरेका कारण करदाशिक्षाको अवस्था कमजोर रहेको भन्दै करशिक्षाबारे करदाता आफै जानकार हुनुपर्नेमा जोड दिए ।

सुर्खेतमा चालू आ.वमा ५० करोड ९१ हजार रुपैयाँ कर संकलन गर्ने लक्ष्य लिएको जानकारी दिंदै उहाँले पहिलो चौमासिकसम्मको आँकडा हेर्दा लक्षित कर संकलन हुने यकिन नभएको उल्लेख गरे । कार्यक्रममा सहभागीले घरधनीबाट असल्नुपर्ने घरवहाल करपनि घरभाडामा बस्ने व्यापारीले तिर्नुपरिरहेको गुनासो गरेपछि कर अधिकृत ढकालले भाडा तिर्दा कर कट्टी गरेर मात्र तिर्न सुझाव दिए ।

कार्यक्रममा संघका उद्योग उपाध्यक्ष वासुदेव शर्मा, कोषाध्यक्ष दीपेन्द्र ढकाल, वस्तुगत समितिका पदाधिकारीसहित शिद्धपाइला क्याम्पस, सुर्खेत मोडेल क्याम्पसका विद्यार्थीहरुको सहभागिता थियो । त्यसअघि, हाम्रो पौरख हाम्रो कर, राष्ट निर्माणमा दिगो भर भन्ने मूल नारासहित मंगलगढीचौकबाट निकालिएको प्रभातफेरी बजार परिक्रमापछि सुर्खेत उद्योग वाणिज्य संघमा पुगेर समापन भएको थियो ।