☰ open Loading... 18 April 2024|  

सुर्खेतमा सेनाले थाल्यो गस्ती, तीन जिल्लाकाे सुरक्षा व्यवस्था कडा
  | १७ मंसिर २०७४, आईतवार १४:४१

सुर्खेत । दोश्रो चरणको निर्वाचनमा नेपाली सेनाले गस्ती गर्न थालेको छ । मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि सुर्खेतमा सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

पहिलो चरणको निर्वाचन सम्पन्न भएका जिल्लाहरुबाट विप्लव माओवादीका कार्यकर्ताहरु सुर्खेत, दैलेख र सल्यानमा प्रवेश गरेर निर्वाचन विथोल्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश ६ प्रहरी कार्यालयका एआईजी रणबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार नाकाहरुमा कडाइ र शंकास्पद व्यक्तिहरु माथि कडा निगरानी बढाएको छ । यता, मुख्य निर्वाचन कार्यालयले आइतबार मात्रै निर्वाचन सामग्री सहित कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान केन्द्रहरुमा पठाएको छ ।

जिल्लाका २ सय ६३ मतदान केन्द्र र १ सय ६८ मतदान स्थलका लागि मतदान अधिकृत, आवश्यक कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री सहितको टोली आइतबारदेखी नै खटिएको छ ।

सुर्खेतमा दोश्रो चरणको चुनावका लागी २ लाख ४ हजार ५ सय ७५ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । यसमध्य महिला मतदाताको संख्या १ लाख ५ हजार ८ सय ७२ र पुरुष मतदाता संख्या ९८ हजार ७ सय ३ छन् ।

निर्वाचनका लागि २ हजार १ सय कर्मचारी समेत खटाइएको छ । सुर्खेतमा स्थानीय निर्वाचन यता २२ हजार ७ सय ४२ मतदाता थपिएका छन् ।