☰ open Loading... 19 April 2024|  

वीरेन्द्रनगरको फोहोर व्यवस्थापन गर्न नयाँ अभियान चलाइदै
  | ७ असार २०७४, बुधबार १७:०६

सुर्खेत । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा विहान फोहोर संकलन गर्दा साँझ पुनः नालीमा फाल्ने कार्य नरोकिएकाले राती फोहार उठाइने भएको छ । सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा बुधबार भएको सरोकारालाबिचको बैठकले पहिलो चरणमा मंगलगढीदेखि गणेशचौकसम्मको मुख्य बजार क्षेत्रमा परीक्षणका रुपमा रातीको समयमा फोहोर संकलन गरिन लागेको हो ।

विहान फोहोर संकलन गर्ने गाडी र कर्मचारी बजार प्रवेश गर्दा खुल्ला भएका पसलको फोहोर मात्र संकलन भइरहेको र पुनः उस्तै फोहोर देखिन नछाडेको बैठकको निष्कर्ष छ । तर बन्द भएका पसलका फोहोर फेरि नाली र सडकमा फाल्ने भएकाले त्यसको निराकरण गर्न असार १५ गतेबाट नयाँ अभ्यास शुरु गरिनेछ ।

मुख्य बजारका व्यापारी तथा घरधनीले अाफ्नाे घर तथा पसलबाट निस्किएको फोहोरजन्य पदार्थलाई ढिलोमा राती ८ बजेसम्म आ–आप्mनो पसल तथा घर अगाडि प्लाष्टिकको थैलोमा पोको पारेर राख्न सरकोरवालाले आग्रह गरेका छन् । घर तथा पसल अगाडि पोको पारेर राखिएका फोहोरका थैलालाई द ग्रिनसिटीका कर्मचारीले राति नै संकलन गर्ने र बजारको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा बैठकको छ ।

फोहोर व्यवस्थापनमा ६० प्रतिशतले सुधार आएको छ । बैठकमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले भने,–‘त्यसलाई बढाएर शतप्रतिशत पु¥याउने हाम्रो उद्देश्य हो ।’

फोहोर व्यवस्थापनको क्रम निरन्तर चलिरहने भएकाले त्यसलाई वैज्ञानिक र प्रभावकारी बनाउँदै लगिने उनको भनाई छ । यसका साथै, प्रत्येक टोलमा फोहोर संकलन गर्ने गाडी र कर्मचारी पुग्ने व्यवहारिक समय तालिका निर्धारण गरी सोहि बमोजिम परिचालन गर्ने तयारी पनि भैरहेको नगर प्रमुख सुवेदीले जानकारी दिए ।

फुटपाथ अतिक्रमण गरी पसलका सामान बाटोमा राख्ने प्रवृत्ति अन्त्यका लागि समन्वय गरिदिन पनि उनले सुर्खेत उद्योग वाणिज्य संघसंग आग्रह गरे ।
पसल बजारबाट निस्कने फोहोर व्यवस्थापनको पहिलो जिम्मेवारी व्यापारी स्वयंको हुने भन्दै संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले जथाभावी फोहोर नगर्न व्यापारीहरुलाई आग्रह गरे ।

नगरलाई सफा,स्वस्थ र स्वच्छ राख्नु हरेक व्यापारीको पनि दायित्व भएको भन्दै उनले उप्रान्त आप्mनो पसलको प्लाष्टिक, प्याकेटलगायतका फोहोरजन्य पदार्थलाई थैलोमा बाँधेर पसल अगाडि राखिदिन अनुरोध गरे ।

पसलको सामान बाटोमा राखी फुटपाथ अतिक्रमण नगर्नपनि उनले व्यापारीहरुलाई सुझाव दिएका छन् । कार्यक्रमका सहभागीले फोहोर संकलन गर्ने गाडी निर्धारित र समयमा नियमित आउने गरे नालामा फोहोर फाल्नुपर्ने बाध्यता हट्ने बताए । जवाफमा वडा नं. ६ अध्यक्ष मोतिप्रसाद कंडेलले विगतका वेथितिहरु हटाउँदै थिति वसाल्ने अभियान शुरु गरिएको भन्दै प्रत्येक नगरवासीले त्यसको शुरुवात आफैबाट गर्नु औंल्याए ।