☰ open Loading... 19 April 2024|  

लेखगाउँमा प्रमुख अतिथि नै डाको छोडेर रोएपछि…
  | ८ असार २०७४, बिहीबार ११:५१

लेखगाउँ (सुर्खेत) । कार्यक्रममा प्रमुख अतिथि डाको छाडेर रोए भन्दा तपाईंलाई किन रोए होलान् ? भन्ने जिज्ञासा लाग्न सक्छ । गत मंगलबार बराह गाउँपालिका १० का वडाध्यक्ष हरिलाल सलामी घैंटो हस्तान्तरण कार्यक्रममा डाको छोडेर रोए । कार्यक्रम संचालिकाले मन्तव्य राख्नपछि एउटा वाक्य मात्रै बोले,–‘दैलेखमा बनेको घैटो हाम्रो गाउँमा ल्याएर बनाउन पाए कस्तो हुन्थ्यो होला’ । त्यसपछि उनको गला अबरुद्ध भयो । अगाडि बोल्न सकेनन् । घुक्क घुक्क गर्दै रोईरहे ।

कार्यक्रमका अन्य अतिथिहरु गरिबी निबारण कार्यक्रमका कार्य प्रबन्धक टिकाराम पोखरेल, समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य किम्कर्तव्य भई उधो मुन्टो लगाईरहे । उपस्थित स्थानीयबासीहरुले अनुहार मलिन बनाए ।

करिब चार मिनेटपछि प्रमुख अतिथि आफ्नो सिटमा बसे । उनको रुवाइमा बर्षौदेखि स्थानीयहरु पानीको हाहाकार झेलिहरेका थिए । सलैना गाउँमा पानीको व्यवस्था गर्न बिगत लामो समयदेखि नै उनले प्रयास गरेका थिए । पानीको स्रोत नभएको सुख्खा डाँडामा पानी ल्याउन असम्भव प्रांयःठानेका सलामीले यस अवधीमा बिभिन्न सरकारी तथा गैर–सरकारी निकायहरुसंग थुपै्र हारगुहार गरे तर सफल भएनन् । अन्त्यमा स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यको सल्लाह बमोजिम गरिवि निवारण कार्यक्रमका टिकाराम पोखरेलसंग भेट भयो ।

सलामीले प्राविधिकको सल्लाह अनुसार प्रतिव्यक्ति लागत अनुदानको हिसाब गर्दा दुई हजार लिटरको ट्यांकी मात्र बनाउन सकिने जानकारी पाएसंगै दुई हजारको ठाउँमा ६ हजार लिटरको घैंटो बनाउन कम्मर कसेर लागे । गाविससंग हारगुहार गरे सामुदायिक वनको सहयोग लिए र, अन्तमा ६ हजार लिटर क्षमताको घैंटो निर्माण गरे । योजना बनेपछि खुसीले रोए उनी ।

२० घरधुरीमा घैंटो निर्माण गरेर सञ्चालनमा आएका छन् । घरघरमा धारा खुल्ने बित्तिकै पानी आउने भएकाले स्थानिय हर्षित छन । दुःखका दिन हटेका छन् ।

गरिवी निवारण कोषको भौतिक निर्माण परियोजना अन्तर्गत घैटो निर्माण गरि सलैना गाउँमा रहेका २९ घरधुरी मध्ये समुहमा आबद्ध २० घरधुरीलाइ प्रतिघर एक घैटो हस्तान्तरण गरिएको हो । ६ हजार लिटर क्षमताको २० घैटो निर्माण गर्न जम्मा रु. छ लाख ७७ हजार तिन सय ९० लागेकोमा गरिबि निबारण कोष स्याक नेपालको सहयोग रु.५लाख ६हजार ६० साविकको लेखगाउ गाविसबाट ७१ हजार ३सय तिस सामुदायिक वन उपभोक्ता समुहबाट रु. १लाख वेहोरिएको छ ।

घैंटो हस्तान्तरण कार्यक्रममा बोल्दै कार्य प्रबन्धक टिकाराम पोखरेलले योजना सफलतापूर्वक निर्माण सम्पन्न हुनुमा लगनशील स्थानीय र स्याक नेपालको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भने,–‘जुन लगनसिलता र मेहनतले घैंटो निर्माण गर्नु भएको छ, अव आयआर्जनका अन्य कार्यक्रमहरु समेत प्रस्ताव गरेर ल्याउनुस् हर सम्भब भए कोसिस गर्नेछु ।’ स्याक नेपालका निर्देशक टिकाराम आचार्यले घैंटामा आकाशे पानी कसरी संकलन गर्ने र प्रयोग गर्ने भन्ने बारे जानकारी गराए ।

‘दैलेखमा संस्थाले २ हजार घैंटो निर्माण गरिसकेको र सुर्खेतको हकमा यो काम पहिलो हो । प्रयोगबाट बचेको पानीबाट करेसाबारीमा तरकारी खेती गर्नुस्’ उनले भने । सिर्जना सामुदायिक सस्थाको अध्यक्ष टिका सिजालीको सभापतित्वमा भएको कार्यक्रममा स्थानिय बासिहरुको बाक्लो उपस्थिति थियो ।