☰ open Loading... 18 April 2024|  

सार्वजनिक स्थलमा सूर्तिखाने २६ जनालाई कारवाही
  | ९ असार २०७४, शुक्रबार १८:४९

सुर्खेत । सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ सेवन गर्ने २६ जना कारवाहीमा परेका छन् । पछिल्लो चार दिनको अवधिमा मात्र २६ जनालाई कारवाही गरिएको प्रहरीले जनाएको छ । नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले सार्वजनिक स्थानहरु सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई पक्राउ गरेर कारवाही गर्न थालेको छ ।

‘सार्वजनिक स्थानहरुमा सूर्तिजन्य पदार्थ सेवन गर्ने २६ जनालाई पक्राउ गरेर कारवाही गरेका छौं’ नगर प्रहरी प्रमुख तेजबहादुर खत्रीले भने, ‘सूर्तिजन्य पदार्थ नियन्त्रण अभियानलाई अझै प्रभावकारीरुपमा अघाडि बढाउँछौं ।’

प्रहरीले सार्वजनिक स्थलमा सूर्तिजन्य र धुम्रपान गर्नेबाट एक सय रुपियाँ जरिवाना गर्ने गरेको छ । ‘अनुगमनका क्रममा सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गरेको पाइएमा तत्कालै पक्राउ गरेर कारवाही गछौं’ नगर प्रहरी प्रमुख खड्काले भने, ‘उनीहरुलाई सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ नखान सचेत पनि गराउँछौ ।’ चार दिनको अवधिमा गरिएको कारवाहीबाट दुई हजार राजस्व संकलन भएको खड्काले बताए ।

वीरेन्द्रनगर बसपार्क, वीरेन्द्रचोक, मंगलगढीचोक, यरिचोकलगायतका स्थानहरुमा विशेष निगरानी बढाइएको उनले बताए । यसैगरी इजाजत नलिएका पसलहरुमा पनि सूर्तिजन्य पदार्थ बिक्री वितरण गरेको भटाइए ति सामग्रीहरु नियन्त्रणमा लिने र नष्ट गर्ने गरिएको उनले बताए ।

विशेष गरि बसपार्कमा मानिसहरु धेरै आवतजावत हुने भएकाले पनि बसपार्कमा मुख्य ध्यान केन्द्रीत गरिएको उनले बताए । ‘बसपार्कमा बाहिरका मानिसहरुको पनि आवतजावत हुने स्थान हो’ उनले भने, ‘धेरै मानिसको जमघट हुने स्थान भएकाले पनि यस्तो ठाउँहरुमा सूर्तिजन्य पदार्थ धेरै प्रयोग गरिएको भेटिएको छ ।’ त्यसैगरी बसपार्क वरवरका पसलहरुमा पनि सूर्तिजन्य पदार्थको बढी बिक्री–वितरण हुने भएकाले यस्ता स्थानमा अनुगमनलाई प्राथमिकता दिएको उनको भनाई थियो । अनुगमनको कार्यलाई निरन्तरता दिने उनले बताए ।

नगर स्तरमा सूर्तिजन्य पदार्थको अनुगमन गर्न थालेपछि पछिल्लो समय यहाँका नागरिकहरु पनि सचेत हुन थालेको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिका सदस्य एंव जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी वसन्तमान श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले जिल्लामा पहिलोपटक सबैलाई जानकारी गराउने, दोस्रोपटक सुझाव दिने र तेस्रो पटकबाट कारवाही थालिएको श्रेष्ठले बताए ।

यसैगरी होटलहरुमा पनि सूचना टाँस गरिएपछि त्यहाँ आउने ग्राहकहरुमा पनि सचेतना फैलिएको होटल व्यवसायी संघ सुर्खेतका उपाध्यक्ष उदयबहादुर शाहीले बताए । सूर्तिजन्य पदार्थको सेवनका कारण हुने हानी नोक्सानीका बारेमा नागरिकलाई सचेत गराएपछि यसको प्रयोगमा कमी हुने उत्तरगंगा स्वास्थ्य चौकीका सिनियर अहेव उदय थापाले बताए । सूर्तिजन्य पदार्थ नियन्त्रणको लागि अझै पनि जनचेतनालाई व्यापक रुपमा लैजानुपर्ने उनको भनाई छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा निर्देशिकामा सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ सेवन नगर्ने तथा बिक्री वितरण नगर्नुको साथै बिक्री वितरण गर्न नपाइने उल्लेख छ । त्यसैगरी इजाजत लिएर मात्र सुर्तिजन्य पदार्थको बिक्री वितरण गरिनुपर्ने उल्लेख छ भने गर्भवती तथा १८ वर्ष मुनिका बालवालिकाहरुलाई पनि बेच्न नपाइने निर्देशिकामा उल्लेख गरिएको छ ।

यता, सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति सुर्खेतले बिहीवार नगर स्तरीय अनुगमन गरेको छ । समितिले बसपार्कको सार्वजनिक शौचालय तथा वरपरका पसल र होटलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ सेवन गरिरहेको अवस्थामा भेटाएपछि पाँच जनालाई कारवाही गरिएको छ । समितिले कारवाही स्वरुप जनही एक सय रुपियाँ जरीवाना गरेको हो ।

अनुगमनको क्रममा विभिन्न किसिमका एक सय चार पोका गुट्खा नष्ट गरिएको छ । बसपार्क वरपरका होटल तथा पसलबाट विना इजाजत बिक्री गरिएको भन्दै सुपर पावर, वेलकम सुर्ति, गोल्डेन पावरलगायतका गुट्खाहरु नष्ट गरिएको हो । साथै समितिले बसपार्कमा रहेको सार्वजनिक शौचालयमा सूचनासमेत टाँसेको छ ।