☰ open Loading... 20 April 2024|  

शुक्लाफाँटामा कृष्णसारकाे संख्यामा वृद्धि
  | १० असार २०७४, शनिबार १०:४६

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा छ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या ६० पुगेको छ ।

वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्यामा वृद्धि भएको हो । निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार कृष्णसारका वयस्क भाले १८, पोथी १६, अर्ध वयस्क भाले आठ, पोथी दुई र एक हप्तादेखि पाँच महिनासम्मका पाठापाठीको सङ्ख्या १६ छ ।

फायल तस्वीर ।

गत वर्षको यसै अवधिमा कृष्णसारको सङ्ख्या यहाँ ४५ मात्रै रहेको थियो, जसमा भाले १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको सङ्ख्या १५ थियो । विसं २०६९ असोजमा नेपालगन्जबाट आठ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार शुक्लाफाँटाको हिरापुरमा स्थानान्तरण गरिएको थियो ।

कृष्णसारलाई पौष्टिक तत्वको कमी हुन नदिन दैनिक पाँच किलोका दरले भटमास, चना, चोकर र औषधि उपलब्ध गराइँदै आएको छ । अतिरिक्त खानाको व्यवस्था गरेका कारण कृष्णसारको सङ्ख्या बढेको अधिकृत चौधरीले बताए ।

कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै चार पोखरी र दुई छहारी घर निर्माण गरिएका छन् । संरक्षित क्षेत्रभित्र कृष्णसारलाई खानको कमी हुन नदिन मकै छरेर बोट तयार गरी खानका लागि छाडिने व्यवस्था गरिएको छ । निकुञ्जको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको थियो । कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउनका लागि २५ हेक्टर क्षेत्रफलमा ग्याबिन बक्स र त्यसको पछाडि विद्युतीय तारबार जडान गरिएको छ ।

चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकून् भनेर विद्युतीय तारबार जडान गरिएको आरक्षका सहायक संरक्षण अधिकृत चौधरीले बताउनुभयो । उहाँका अनुसार तारबारमा सौर्य विद्युत् छाडिने गरिएकाले बाह्य जनावर त्यस क्षेत्रमा जान डराउने गर्छन् ।

पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्न पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ चार किलोमिटर सडकमा आरक्ष कार्यालयले ग्राभेल तथा कृष्णसार हेर्नका लागि मचानसमेत व्यवस्था गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र वासस्थानको विनाश र चोरीसिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको छ ।

नेपालमा कृष्णसार सबैभन्दा बढी झन्डै ३०० जति बर्दिया खैरापुरमा रहेको बताइएको छ । एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगन्ज, काठमाडौँको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ । घाँसका फाँटमा चर्न रुचाउने कृष्णसारको भाले कालो र पोथी खैरो रङका हुन्छन् । यसले छ÷छ महिनामा बच्चा जन्माउने गर्छ । वर्षमा अन्य जनावरजस्तो कृष्णसारको सिङ झर्दैन । वयस्क नभएसम्म भाले र पोथीको रङ खैरो हुन्छ ।

आन्तरिक पर्यटकको घुइँचो

शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित कृष्णसारको अवलोकन गर्नका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । निकुञ्जको पूर्वी सेक्टरका सहायक संरक्षण अधिकृत चौधरीका अनुसार चालु आवको हालसम्म आठ सय बढी पर्यटकले कृष्णसार अवलोकन गरेका छन् । यसै अवधिमा विभिन्न विद्यालयका एक हजार बढी विद्यार्थीले समेत कृष्णसारको अवलोकन गरेका छन् । करिब २५ विदेशी पर्यटक मात्रै कृष्णसार हेर्न पुगेको अधिकृत चौधरीको भनाइ छ ।