☰ open Loading... 25 April 2024|  

प्रचण्ड नेतृत्व सरकार प्रभूहरुको भलो गर्न बनेको हो : प्याकुरेल
  | १० मंसिर २०७३, शुक्रबार ०९:२२

राष्ट्रिय पेशागत महासंघ नेपालका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलसहितको टोली यतिबेला सामाजिक रुपमा पछि परेको राउटे समुदायलाई चेतनशील बनाउन प्रयत्नमा छन् । यसरी राउटे समुदायको बस्तीमा जानु पर्ने कारण तथा समसामयिक राजनीतिक अवस्थाका बारेमा पत्रकार शेरबहादुर थापाले गरेको कुराकानीका सम्पादित अंश :

biswonatha-pyakurel
पेशागत महासंघको बारेमा संक्षिप्त बताइदिनोस् न ?
हामी पेशागत महासंघ नेपाल विगत २१ वर्ष देखि सार्वजनीक क्षेत्रमा काम गर्ने कर्मचारीहरुको हक हितमा काम गर्न यसको स्थापना वि.सं. २०५२ मा भएको हो । सार्वजनिक संस्थान, बैंक, शिक्षक मतलब मानसिक रुपमा श्रम गर्ने कलमजीविहरुको छाता संगठनको रुपमा हामी क्रियाशील छौं । यो एमालेको आठौं महाधिवेशन देखि पार्टीको जनवर्गीय संगठन हो ।

हामीसँग अहिले २५ ओटा संघहरु आवद्व छन । महासंघ विश्व ट्रेड युनियन समाजवादी ध्रुवको सदस्य पनि हो । हामीले स्थापना कालदेखि नै दुइओटा मुद्दाहरु लिएर गयौँ ।

कर्मचारीहरुको हक हित सुरक्षा गर्दै उनिहरुलाई राष्ट्रको निम्ति, जनताको निम्ति प्रयोग गर्ने, सीपयुक्त जनशक्ति तयार पार्ने लगायतका कामहरु गर्छ भने लोकतन्त्र ल्याउन पनि यो महासंघले ठुलो भुमिका खेलेको सबैलाई थाहा नै छ । त्यसैले राजनीतिक उपलब्धिहरुलाई जोगाउने भूमिकामा पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले हामी यसलाई लोकतन्त्रको अस्तित्व सँग जोडछौँ ।

राउटे बस्तिमा लत्ता कपडासहित जा“दै हुनुहुन्छ के यो योजना केन्द्रकै हो त ?
हो । मान्छे सामाजिक प्राणी हो । अनि समूदायमा मिलेर बस्छ । लोकतन्त्र देशमा स्थापना भएको छ । गणतन्त्र आएको छ तर यी विषयमा अझैपनि हाम्रो कतिपय समूदायले बुझ्न सकेको छैन । देशमा नयाँ संविधान आएको छ । तर पनि हामीले राउटे समूदायलाई देशको नागरिक बनाउन सकेका छैनौ । उनिहरुले संविधान हाम्रा लागि हो, देश हाम्रो हो, गणतन्त्र लगायतका सबै उपलब्धिहरुले हाम्रो हित गर्छन भन्ने कुरा बुझेका छैनन अथवा हामीले बुझाउन सकेका छैनौ ।

उनिहरु यस्तो जाडोयाममा पनि नांगै हिड्छन, विरामी भए उपचार गर्दैनन त्यसैले हामीले उनिहरुलाई अब यी सबै कुराहरुका बारेमा बुझाउन जरुरी देखिन्छ । उनिहरुलाई देशको नागरिक बनाउन पहल गर्नुपर्ने, उनिहरुको चेतना स्तरमा अभिवृद्वि गर्नुपर्ने लगायतका विषयहरुमा केन्द्रीत रहेर हामीले त्यहाँ जाने योजना बनाएका हौं ।

यो कुनै दुनियाँलाई देखाउने, डलर कमाउने उदेश्यबाट प्रेरित नभई नितान्त सामाजिक सेवाका रुपमा हामी जाँदैछौं । त्यहाँ हामीले केहि लत्ता कपडाहरु पनि वितरण गर्ने योजना बनाएका छौं । मुलतः राउटे समूदायलाई राज्यको मूलधारमा ल्याउने प्रयासका रुपमा यो अभियानलाई यहाँहरुले बुझदा हुन्छ ।

यो समूदार्यलाई सचेत बनाउने, नागरिक बनाउने, सामाजिक रुपमा बस्नुपर्छ भन्ने बनाउन राउटे प्रतिष्ठान नेपालले हामीलाई आग्रह समेत गरेको हुँदा पनि हामी यहाँ आएका हौं ।

हामीले थोरै मात्रामा भएपनि राउटेहरुको जीवनशैलीमा परिवर्तन ल्याउन सक्छौं की भन्ने अपेक्षा सहित त्यहाँ जान लागेका छौं । अब उनिहरुले पनि राज्यको नागरिक बनेर बस्नुपर्छ भन्ने मानसिकताका साथ हामी त्यहाँ जाँदैछौं ।

महासंघका अन्य केहि योजनाहरु छन कि ?
मुलुकमा राजनीतिक परिवर्तन भो, तर त्यो अनुभुत हुने खालको छैन । परिवर्तनका हिमायतीहरु, पक्षधरहरु हामीले यो वर्ष के के काम गर्ने, कसरी गर्ने हामीले योजना बनाएका छौँ । जस्तै महाभुकम्पमा हामीले स्वास्थ्यकर्मीहरु परिचालन गरेका थियौं ।

जाजरकोटमा फैलिएको झाडापखाला प्रकोपमा पनि हामीले हाम्रो उपाध्यक्षको नेतृत्वमा स्वास्थ्य टोलकिो परिचालन ग¥यौं । भूकम्प पश्चात हामीले शिक्षकहरु मार्फत मनोपरामर्श गर्न लगायौं । हामीले हाम्रा इन्जिनियरहरुलाई पनि परिचालन ग¥यौं ।

हामीले करिब ३४ सय सदस्यहरु ललितपूरको लाकुरीडाँडा, बुङमति लगायतका स्थानमा विहान देखि बेलुका सम्म उद्वारमा सरिक गरायौं । त्यसैले त स्थानीयले आज पनि पेशागत कर्मीहरुको कामको प्रशंसा गर्ने गर्छन ।

अहिले मनपरि ढंगले काम गर्न पाउदैनौ भनेर युनियनले खबरदारी गर्ने गरेकैले केहि मान्छेहरुले काम गर्न दिदैनन भन्ने आरोप युनियनलाई निरन्तर लगाउने गरेका छन । तर हामीले त जनतालाई, सेवाग्राहीलाई सुलभ रुपमा सेवा प्रदान गर्नुपर्छ भनेर आवाज उठाउदै आएका छौं ।

हामीले व्यवहारमै हाम्रा सदस्यहरुलाई परिवर्तन देखाउन भनेका पनि छौं र उहाँहरुमा त्यस्तो परिवर्तन पनि देखिएको छ । हामीसँग विभिन्न क्षेत्रका विज्ञहरु हुनुहुन्छ । हामीले आइटि सम्वन्धी, सेवा प्रवाह सम्वन्धी बेला बेलामा तालीम प्रदान गर्दै आएका छौं ।

नेपालको ट्रेड युनियन आन्दोलनमा महासंघको भूमिका के छ ?
अहिले तथ्याकंमा आधारित रहेर कुरा गर्ने हो भने नेपालमा काम गर्ने १ करोड २५ लाख श्रमिकहरु छन । तर २० लाख मात्र संगठित छन । हामीले विभिन्न ११ ओटा संघको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र नामक फोरम बनाएका छौं । त्यसको रोटेशनमा अध्यक्ष हुन्छ । अनि त्यसको कार्यकाल १ वर्षको हुन्छ ।

त्यो फोरम भित्र हाम्रो सशक्त प्रतिनिधित्व छ । हामीले त्यहाँ दुइ कुरा उठाउने गर्छाैं । पहिलो कुरा त्यहाँ काम गर्नेको भविष्य सुनिश्चित हुनु पर्छ, उनिहरुको सुरक्षा हुनुपर्छ भन्ने हो । जस्तो कि यहाँ काम गर्नेहरुले नियुक्ति पत्र पाउदैनन, उनिहरुलाई न त पेन्सन सुविधा हुन्छ न त अन्य कुनै सेवा सुविधा नै ।

अर्को कुरा राज्यले अघि सारेका मूल्य मान्यता कसरी स्थापित गर्ने भन्नेमा पनि भूमिका हुन्छ । सामाजिक रुपान्तरणका, सामाजिक सचेतनाका, एकताका कुराहरु हामी गछौं । तसर्थ हामी त्यसमा निरन्तर स्थापना कालदेखि नै लागिपरेका छौं । अहिले हाम्रा करिब ४ लाख बढि सदस्यहरु हुनुहुन्छ ।

संघिय संरचनामा पेशागत महासंघको आगामी संरचना कस्तो रहन्छ ?
महत्वपूर्ण कुरा उठाउनुभयो । हामीले भर्खरै छैटौं महाधिबेशन सम्पन्न गरेका छौं । सातवटा प्रदेशका लागि ७ जना उपाध्यक्षहरुलाई संगठन निर्माण, संरचनागत क्रम मिलाउन भन्दै जिम्मा पनि दिएका छौं ।

अबको केहि समयपश्चात हामीले प्रदेश स्तरमा नेकपा एमालेको अभियान जस्तै कार्यक्रमहरु गछौं र त्यसमा महासंघमा आवद्व राष्ट्रिय समितिका सदस्यहरु, सबै जिल्ला अध्यक्षहरु लगायत उक्त समितिमा बस्छन ।

चैत सम्म तीन महिने अभियान सम्पन्न हुन्छ र त्यो बीचमा हामीले संघका भेलाहरु बोलाउने, प्रशिक्षण दिने, अन्य कार्यक्रमहरु गर्ने, प्रदेश समिति निर्माण गर्ने लगायतका कामहरु सम्पन्न गर्छौं र संघमा आवद्व हुन चाहनेलाई पनि आवद्व गर्दै हामी बलियो संरचना निर्माण गरेर जान्छौं ।

नेपालको संविधान संशोधन गरेर मधेशी मोर्चाको माग सम्वोधन गर्ने सरकारको तयारी छ । के यो संशोधन आवश्यक छ ?
संविधान संशोधन के का लागि ? कसका लागि ? भन्ने कुराको कुनै टुगाें नलागिकन, केहि तत्वका चाहना परिपुर्ति गर्न किन संविधान संशोधन गर्ने ? हामीले बारम्बार भन्दै आएका छौं कि औचित्यका आधारमा संविधान संशोधन हुनुपर्छ । संविधान गतिशिल दस्तावेज हो । जस्तो अहिले केहि तत्वहरुले तराइलाई पहाडबाट अलग्याउनु पर्ने माग राखेका छन त्यो आम नेपाली जनताको माग होइन ।

आम नेपाली जनताले अहिले यो संविधानलाई कार्यान्वयन गरेर देशलाइ आर्थिक सम्वृद्वि तर्फ लैजानु पर्छ भन्ने चाहेका छन । अर्को कुरा सरकार एक्लैले चाहेकै भरमा संविधान संशोधन गर्न सक्दैन । एमालेले समर्थन नदिएसम्म संसदमा दुइ तिहाइ पुग्दैन र एमाले देश र जनताको चाहना विरुद्व कुनै पनि मुद्दामा अन्ध सर्मथन गर्दैन ।

देशको हितमा, स्वाभीमानको पक्षमा कुनै त्यस्ता विषयहरु संविधानमा राख्नैपर्ने रहेका छन भने त्यो कुरा बेग्लै हो । तर प्रभूहरुका चाहना परिपुर्ति गर्न संविधान संशोधन गर्नु कुनै आवश्यक छैन । यो हाम्रो निर्णय हो । यदि सरकारले ११ जना संसदको माग पुरा गराउन संविधान संसोधन गर्छ भने एमालेका पनि त सभासद छन नि ? होइन र…

प्रमूख प्रतिपक्षी एमालेको वर्तमानको भूमिका ठिक छ ?
हो शत प्रतिशत सहि छ । आम नेपाली जनताका पक्षमा, सर्वहारा वर्गका पक्षमा, संविधान कार्यान्वयनका पक्षमा, देशभक्तिका पक्षमा, राष्ट्रियता, धर्मनिरपेक्षता र संघियता लागु गर्ने पक्षमा एमालेले लिएको लाइन सहि छ ।

एमालेको कारण नै संविधान जारी भएको हो । नेपालमा जनताको चाहना, इच्छा बमोजिम सञ्चालन हुदै आएको एक मात्र लोकप्रिय पार्टी एमाले हो । र वर्तमान समयमा एमालेले लिएको कार्यनीति एकदम सहि छ । यसले देशलाई आर्थिक सम्वृद्वि तर्फ अग्रसर गराएको छ ।

लेफ्ट राइट ध्रुविकरण चरमोत्कर्षमा छ भनिन्छ तर का“गे्रस र माओवादी समिकरणले बाधा गरिरहेको भनिन्छ यसमा तपाईको धारणा के छ ?
यो चाही देशी विदेशी दक्षिणपन्थिहरुको धारणाका कारण यस्तो भएको हो । कतिपय समूदायका मागहरुलाई यो संविधानले पुर्णता प्रदान नगरेको होला तर पनि अधिकांशतः यो संविधान पूर्ण छ र यो संविधान प्रगतिशिल पनि छ अग्रगामी पनि छ । संविधानमा उल्लेख गरिएका अधिकारहरु सुनिश्चित गर्न गाह्रो हुन्छ कि भन्ने मात्र चिन्ता हो ।

कानुनमा त धेरे अधिकारहरु सुनिश्चित गरिएको छ । अबको अर्थतन्त्र भनेको समाजवाद उन्मूख अर्थतन्त्र हो भनिएको छ । त्यहाँ राज्यको भूमिकाका कुरा छन ।

यो कुरो केहि तत्वलाई पचेको छैन । करबलले गर्दा काँग्रेसले यो कुरा स्वीकार गरेको स्थिति हो । त्यसैले ति दक्षिणपन्थिहरुलाई एक ठाँउमा बस्न नदिने, जस्तो हिजो एमाले र माओवादी एक ठाँउमा थियो ।

तर माओवादीले यो खेल बुझ्न सकेन । यो संविधान कार्यान्वयन गर्न एमाले र माओवादी केन्द्र एक साथ हुँदा जति सहज हुन्छ त्यति सहज काँग्रेससँग हुदैन । त्यो कुरा माओवादी भित्र पनि उठेको थियो । तर प्रचण्डलाई पद नै चाहियो यसमा हाम्रो भन्नु के नै छ र ?

पेरुमा अहिले कम्युनिष्ट खोज्न दिउसै बत्ति बाल्नुपर्ने अवस्था छ । भारतमा पनि कम्यूनिष्टलाई असाध्यै कमजोर बनाइसके । अमेरिकामा दुइ पार्टीबाहेक कम्यूनिष्ट सत्तामा आएको छैन, हो ठिक त्यसरी नै एमालेको लोकप्रियतालाई देखेर देशी विदेशी तत्वहरुले नेपालका कम्यूनिष्टहरुमा फूट गराउने, उनिहरुलाई कमजोर गराउने र नेपाललाई तहस नहस गराउने तानाबाना बुन्ने गर्छन ।

अहिले एमालेलाई कमजोर बनाउन खोजिदैछ तर एमालेको जत्तिको संगठन बलियो अरु कसैसँग छैन । नेकपा एमाले राष्ट्रियता, अखण्डता, संविधान कार्यान्वयन लगायतका अन्य चासोका विषयमा इमान्दार छ । त्यो कुरा सबैले स्विकार्छन । एमालेलाई कमजोर बनाउने र दक्षिणपन्थि शक्तिहरुलाई उक बनाएर देशलाइृ अधोगति तर्फ धकेलने प्रभूहरुको चाहना हो ।

अहिलेको राप्रपाको एकिकरणलाई पनि त्यहि रुपमा लिनुपर्छ । त्यसैले वुज्रुवा शक्तिको विकल्प वाम होइन भनेर बुज्रुवाहरुलाई उक ठाँउमा ल्याउने प्रयत्नहरु छन । वामपन्थीहरुले यो कुरा बुझ्नु पर्ने जरुरी छ । वामपन्थिहरु एक हुनैपर्छ र त्यसो भएमा मात्र नेपालको विकास हुनसक्छ ।

यो सरकारले चुनाव गर्ला त ?
चुनाव आयोगले प्रस्ट पारीसक्यो चुनाव चैत्रमा हुदैन भनेर । अब यो सरकारले चुनाव गर्न सक्ने अवस्था रहेन । यो सरकार चुनाव गर्न बनेकै होइन भनेर हामीले बारम्वार भनेका थियौं नि त । यो सरकार त प्रभूहरुको भलो गर्न मात्रै बनेको हो । न संविधान कार्यान्वयनको चिन्ता छ न अन्य तयारी गरिएको छ । तर अब सबै दल सहमत भएको खण्डमा मात्रै नियमावली संशोधन गरेर चुनाव गर्न सकिएला तर अहिलेको यो अवस्थामा सम्भवै छैन ।

सिद्धदर्शन दैनिकबाट