☰ open Loading... 18 April 2024|  

छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै
  | २३ फाल्गुन २०७३, सोमबार १६:२०

काठमाडौँ । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लागेका छन् ।  ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेका बताए ।

उनले भने, “सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन अहिले अभियान नै बनाएर उहाँलाई सगरमाथा पठाउन लागेका छौँ ।”

आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताए ।  उनले भने, “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु ।”

यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढेका थिए । उनलाई सगरमाथा आरोहण गर्न म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत सङ्घ संस्थाको सहयोग रहेको छ ।

सम्मेलनमा समाजशास्त्री प्राडा कृष्ण भट्टचनले वृद्ध उमेरमा पनि नेपाल र नेपालीको नाममा शेरचनले गरेको अठोटलाई सरकारले सहयोग र सम्मान गर्नुपर्ने बताए ।