☰ open Loading... 19 April 2024|  

देशभर भर्ना अभियान सञ्चालन
  | २९ चैत्र २०७३, मंगलवार १३:५०

भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सुरु गर्ने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका पाँचदेखि नौ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मको पाँचदेखि १२ वर्ष उमेर समूहका नौ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन अभियान सञ्चालन गरिने बताए । विभागले विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी र सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्यका साथ यस वर्षको अभियान सुरु गर्नेछ ।

महानिर्देशक पोडेलका अनुसार २०७३ सालमा प्राथमिक उमेर समूह पाँचदेखि नौ वर्षका विद्यार्थीको खुद भर्ना दर राष्ट्रिय औसत ९६.९ प्रतिशत रहेको र आधारभूत तह कक्षा १ देखि ८ सम्मको पाँचदेखि १२ वर्ष उमेर समूहको खुद भर्नादर राष्ट्रिय औसत ९१ प्रतिशत रहेकोे बताए । विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरुलाई विद्यालयमा ल्याउने र विद्यालयमा टिकाइराख्न भर्ना अभियान सञ्चालन गर्न लागिएको उहाँले बताए ।

विभागका उपनिर्देशक एवम् अनिवार्य शिक्षा तथा बालअधिकार शाखाका प्रमुख नरहरि अर्यालले जुम्ला, हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा भने गत फागुन १ गतेदेखि नै भर्ना अभियान सुरु भए पनि अन्य ७० जिल्लामा भने वैशाख २ गतेदेखि सुरु हुने बताए ।

भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, दिवा खाजा कार्यक्रम, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम, वैकल्पिक शिक्षा कार्यक्रम, प्राथमिक बाल शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।