☰ open Loading... 19 April 2024|  

बाढीपीडितलाई ३२ करोड बाँडियो, ४७ परिवार पालमै
  | ३० चैत्र २०७३, बुधबार १०:०७

बर्दिया । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुन सकेको छैन ।

विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोबास गरिरहेका ४७ घरपरिवारका करिब ३०० जना नागरिक विस्थापित भएका हुन् । अरबौँ रुपैयाँ राहत बाँडिए पनि बाढीबाट घरबारविहीन भई शिविरमा बसेका पीडितको व्यथा उस्तै छ ।

त्यतिबेला आएको विनाशकारी बाढीका कारण बर्दियामा ३४ जनाले ज्यान गुमाएका थिए भने १३ जना बेपत्ता भएका थिए । मृतक ३४ जनामध्ये १९ जनाको मात्रै पहिचान भएको थियो । बाढीका कारण तीन हजार ८५९ घर पूर्णरुपमा क्षति भएका थिए भने १३ हजार ५१७ घरमा आंशिक क्षति पुगेको थियो ।

अहिले सामान्य र आंशिक क्षति हुनेहरु आ–आफ्नो घर फर्केर पनि घरबार सम्हालिसके तर बाढीले घरखेत बगाई उठीबास भएर शिविरमा बस्दै आएका बाढीपीडितलाई सरकारले पुनःस्थापना नगर्दा उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन् ।

शिविरमा बस्दै आएका गुलरिया नगरपालिका, रामपुर टप्परका ४७ घरपरिवार, बनियाभारका ९८ घरपरिवार र चेपाङका २१ घरपरिवार गरी १६२ घरपरिवार बाढीपीडितमध्ये गुलरिया नगरपालिका रामपुरका ४७ घरपरिवारको मात्रै पुनःस्थापना हुन सकेको छैन । अन्य शिविरमा रहेकाहरुको पुनःस्थापना भइसकेको छ । आफनो घर जग्गा सबै बगाएपछि अहिले पालको बास भएको बताउँछन् सवीन्द्र शाही ।

बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लाका बाढी पहिरो प्रभावितलाई पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि मध्यपश्चिम क्षेत्रका सभासद्हरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । तर पनि आवास व्यवस्थापनअन्तर्गतको रोकिएको अनुदान रकम निकासा नहुँदा बाढीपीडितले दुःख व्यहोर्नुपरेको छ ।

सरकारले बाढीपीडितका लागि भनेर विभिन्न चरणमा गरी रु ३२ करोड ५६ लाख २१ हजार ९०० बाँडिसकेको जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासकीय अधिकृत एवम् विपद् सम्पर्क व्यक्ति डिल्लीराम आचार्यले बताए ।