☰ open Loading... 20 April 2024|  

‘सक्षम प्रतिनिधि छनौट गर्न सकेनौं भने स्थानीय तहको अवधारणा विफल हुन्छ’
  | ३० चैत्र २०७३, बुधबार १९:३७

प्रचण्ड पोखरेल सुर्खेती राजनीतिको चर्चित नाम हो । १९ दिने ऐतिहासिक ०६२÷६३ को जनआन्दोलनमा अग्रमोर्चामा सहभागी भएका उनलाई जनआन्दोलनका जिउँदा सहिद भन्दा अन्यथा हुँदैन । छैंठौं प्रदेश स्थापनाका लागि सुर्खेतमा भएको आन्दोलनको सुत्रधार उनी लगायतको एक समूहले गरेको हो । त्यसैले उनलाई प्रदेशको जन्मदाता भन्ने पनि गरिन्छ । अखिलबाट विद्यार्थी राजनीति सुरु गरेका पोखरेल हाल नयाँ शक्ति नेपाल केन्द्रीय परिषद सदस्य, ६ नम्बर प्रदेशका शिक्षा विभाग प्रमुख, पार्टीको स्थानीय तह निर्वाचन परिचालन अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको सयोजकको समेत जिम्मेवारी पाउनुभएको छ । उनीसंग स्थानीय तह निर्वाचन र, वीरेन्द्रनगर नगरपालिकाको भावी रुपरेखा निर्माणका सन्दर्भमा गरिएको कुराकानी :


१. स्थानीय तह निर्वाचनको मिति नजिकिँदो छ । नयाँ शक्ति नेपालको चुनावी तयारी कस्तो छ ?
झण्डै २० वर्षपछि हामी स्थानीय निर्वाचनमा जाँदैछौं । संविधान जारीसंगै राज्यको पुनःसंरचना र संविधान कार्यान्वयनको चुनौतीपूर्ण अवस्थाका बीचमा स्थानीय तहको निर्वाचन हुँदैछ । यसले हामीलाई उत्साही नै बनाएको छ । अझ नयाँ शक्ति वैकल्पिक शक्ति हुनुका नाताले हामी चुनावको तयारीमा सुक्ष्म ढंगले जुटिसकेका छौं ।

घोषणापत्र निर्माण हुँदैछ । उम्मेदवारहरुको छलफल जारी छ । प्रत्येक स्थानीय तहमा केन्द्रीय परिषद सदस्यको नेतृत्वमा उम्मेदवार छनौट तथा चुनावी तयारी गर्न पार्टीले परिचालन गरेको छ । उम्मेदवार मनोनयन दर्ता गर्ने मितिसम्म हाम्रो पार्टीले पनि सबै उम्मेदवारहरुबारे टुंगो लगाईसक्छ ।

२. तपाईहरुले अहिलेसम्म चुनाव चिन्ह पाउनु भएको छैन ? कसरी जनतामाझ जानुहुन्छ ?
चुनाव चिन्हका विषयमा हाम्रो पार्टीले आँखा चिन्हलाई रोजेर निर्वाचन आयोगमा दर्ता गरेका छौं । जहासम्म अहिलेको प्रचण्ड सरकारले हामीलाई चुनाव चिन्ह दिन बञ्चित गरेर हराउने प्रपञ्च गरियो । संविधान, लोकतन्त्रको विरुद्धमा ऐन ल्याएर नयाँ दर्ता भएका दललाई चुनाव चिन्ह नदिने सरासर षडयन्त्र गरियो । त्यसका विरुद्धमा संघर्ष जारी छ । हामी चुनाव चिन्ह लिएरै छाड्छौं । उम्मेदवारले आँखा चुनाव चिन्ह लिएर जनतामाफ जानुहुन्छ । र, जित्नुहुन्छ । जित हाम्रो सुनिश्चित छ ।

३. वीरेन्द्रनगर छैटौं प्रदेशको राजधानी सहर हो । यहाँको मेयर र, अन्य नगरपालिकाको मेयरमा केही फरक क्षमता भएको हुनुपर्छ ? तपाईको विचारमा यहाँको मेयर कस्तो हुनुपर्छ ?
पहिलो कुरा म के राख्नु चाहन्छु भने वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणा गर्नुपर्छ । अर्को कुरा, यस क्षेत्रका जनताको रगतबाट जन्मिएको यो प्रदेशको सम्भावित राजधानी हो । यसका लागि अहिले भैहरेका पूर्वाधार पर्याप्त हँुदैनन् । त्यसैले उपमहानगरका लागि उपर्युक्त हुने खालका नीति, योजना तथा कार्यक्रम बनाइनुपर्छ ।

राजधानीको पे्रसरलाई थेग्ने गरी सडक, खानेपानी, विद्युत, शिक्षा, बसपार्क, सिटीहल, सार्वजनिक भवन, लगायतका पूर्वाधार जरुरी हुन्छ । त्यसैले मेयरको दावेदारहरुमा सक्षम, योग्य, दुरदर्शी, सिर्जनशिल समन्वयकारी हुनुपर्छ । पछिल्लो समय राजनीतिक पदमा बस्नेहरु भ्रष्टाचारमा मुछिएका थुपै्र दृष्टान्त भएकाले निष्कलंकित, सदाचारी हुनुपर्छ ।
४.संवैधानिक रुपले स्थानीय तह अधिकारसम्पन्न छन् । स्थानीय सरकार गठन हुँदैछ । यस्तो अवस्थामा विशेष गरी आम मतदाताले आफ्ना प्रतिनिधि चुन्दा के कुरामा ध्यान दिनुपर्ला ?
सबैभन्दा पहिले म आम जनसमुदायलाई के अपिल गर्न चाहन्छु भने हिजोकै जस्तै गाविस वा नगरपालिकाको जस्तो चुनाव गर्दै छैनौं । हिजो स्थानीय निकाय भनेका सरकार नीति, निर्देशन र सर्कुलरलाई कार्यान्वयन गर्ने इकाई थिए । अहिलेको स्थानीय तहको निर्वाचन भनेको स्थानीय सरकार हो ।

जसलाई संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारसमेत स्थानीय सरकारलाई दिएको छ । यसले सिंहदरबारको सरकारलाई भन्दा गाउ तहमा ल्याएको छ । हामी पहिलोपल्ट स्थानीय सरकारको अभ्यास गर्न लागिरहेकाले यसका चुनौतीहरु धेरै छन् । नीति, निर्माण, योजना तय गर्न सक्ने र कार्यान्वयन दुवै गर्न सक्ने व्यक्ति रोज्नुपर्छ । अन्यथा, जसरी अधिकार विकेन्द्रित गरियो । त्यसको औचित्य पुष्टि हुदैन् । यदि सही प्रतिनिधि छनौट गर्न सकेनौं भने स्थानीय तहको अवधारणा विफल हुन्छ ।

५.अन्त्यमा मतदातालाई के भन्न चाहानुहुन्छ ?
संविधान जारीसंगसंगै नेपाली जनता अधिकारसम्पन्न भएका छन् । जनताले पाएको अधिकारमाथि टेकेर प्रत्यक्ष जीवन प्रभाव अबको स्थानीय सरकारमार्फत् हुने भएकाले अबका जनप्रतिनिधि सक्षम, सबल र दुरदर्शी क्षमताका चुन्न आग्रह गर्छु । साथै, त्यसका लागि हाम्रो पार्टी वैकल्पिक शक्तिको रुपमा जनताको बीचमा छ । हामीले विकास र सम्वृद्धिलाई मुख्य नारा बनाएका छौं । विकास गफ गरेरमात्र हुने कुरा होइन् । त्यसका लागि भ्रष्ट आचरण त्याग्न सक्नुपर्छ ।

राजनीतिका पुराना मुल्य मान्यता त्याग्नुपर्छ । तत अनुरुप विकास निर्माणका निमित्त रचनात्मक क्रियाकलाप संगसंगै सकारात्मक सोच र सिर्जनशिलतालाई जोड दिएका छौं । पुराना शक्तिहरु विशेषगरी कांगे्रस, एमाले, माओवादी राप्रपाबाट तपाईहरुले बारम्बार धोका पाउनुभएको छ । जुन आशाले जिताएर पठाउनुभयो तपाईहरुले केही पाउनुभएन । कमिशन भ्रष्टाचारमा लिप्त छन् । तिनैलाई फेरी जिताउनुभएन । राजनीतिक भागबण्डा, अवसरहरुमा नातावाद कृपावाद, गुटगत व्यवस्थापनमै लिप्त नेतालाई पटकपटक अवसर नदिऔं । त्यसैले एकपटक नयाँ शक्तिलाई भोट दिनुस । नयाँ शक्तिले तपाईहरुको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता दिलाउनु चाहन्छु ।