☰ open Loading... 19 April 2024|  

मट्टीतेल भण्डारण गर्ने ट्यांकी प्रयोगविहीन
  | १० बैशाख २०७४, आईतवार १४:१०

धनगढी । पेट्रोलियम पदार्थ भण्डारण गर्न बेला बखत ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा छ ।

सात लाख ६० हजार लि क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए पनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले बताउनुभयो । “निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भयो”, डङ्गोलले भने, “डिजेल भण्डारण गर्ने भनेर खाली गरिएको भए पनि अहिलेसम्म निर्णय हुन नसक्दा ट्यांकी बन्द अवस्थामा छ ।”

आयल निगम क्षेत्रीय कार्यालय धनगढी पुगेको निगमको केन्द्रीय कार्यालयको चार सदस्यीय टोलीले चार वर्षअघि उक्त ट्यांकी बन्द गर्न लगाएको थियो । त्यसबेला ट्यांकीको पाइप लाइनमा करिब तीन हजार चार सय लि मट्टीतेल मौज्दात रहेको बेला ट्यांकी बन्द गरिएको बताइएको छ । खाली ट्यांकीमा डिजेल भर्ने भनेर पटक पटक आग्रह गरिएकामा केन्द्रको टोलीले निर्णय नगर्दा समस्या भइरहेको डङ्गोलले बताए ।

डिजेलको माग बढेका समयमा यस क्षेत्रमा डिजेल भण्डारण गर्न ट्यांकीको अभाव हुने गरेको छ । यस क्षेत्रमा पेट्रोल र डिजेलको माग बर्सेनि बढ्दो छ । मट्टीतेलको माग भने घट्दो छ । मट्टीतेलको माग भएका केही क्षेत्रमा तेलको ढुवानी गर्ने ट्यांकरबाट नै सिधै आपूर्ति गर्ने गरिएको छ । निगमको क्षेत्रीय कार्यालय परिसरमा सात लाख ६० लि क्षमताको सो खाली रहेको मट्टीतेलको ट्याङ्कीसहित डिजेलका दुई ट्याङ्की छन् ।

सोबाहेक ‘अन्डरग्राउन्ड’ ट्यांकी डिजेलको एक लाख ४० हजार लि क्षमताको र पेट्रोलको ७२ हजार लि क्षमताको एक एक छन् । करिब चार दशकअघि धनगढीको चटकपुरमा स्थापित निगमको क्षेत्रीय कार्यालय र परिसरमा निर्माण गरिएका सो ट्यांकी वरिपरि यतिबेला मानव बस्ती पनि निकै बाक्लो भइसकेको छ । निगमले कैलालीका अत्तरिया, गोदावरी, गेटा र मोहनपुरमध्ये उपयुक्त हुने क्षेत्रमा २० बिघा जग्गा खरिद गरेर नयाँ भर्टिकल ट्यांकी निर्माणको पहल पनि थालेको छ ।