☰ open Loading... 19 April 2024|  

शुद्ध पानी उपलब्ध गराउन कम्प्युटरयुक्त मेसिन
  | १३ बैशाख २०७४, बुधबार ०९:२८

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको झलारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्तालाई कीटाणुरहित पानी उपलब्ध गराउन कम्प्युटरयुक्त मेसिन जडान गरेको छ । ‘वाक टेक’ नामक कम्प्युटरयुक्त मेसिन जडान गरी समितिले उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउन थालेको हो । “मेसिनको सहायताले पानीमा रहेको अम्लीयपन, क्षरियपन, धमिलोपन र क्लोरिनजस्ता पदार्थ पत्ता लगाई गुणस्तरीय पानी उपभोक्तालाई उपलब्ध गराउन थालेका छौँ”, समितिका अध्यक्ष कमलापति भट्टले भने।

मेसिनको सहायताले पानीको अशुद्धता हटाउनाका साथै पानी शुद्ध पारी उपभोक्तालाई उपलब्ध गराउने कार्य सुरु गरिएको उनले बताए । रु चार लाख ५० हजार मूल्य पर्ने मेसिन खानेपानी तथा गुणस्तर विभागले दुई महिनाअघि उपभोक्ता समितिलाई उपलब्ध गराएको हो । समितिले हालसम्म मेसिनको सहायताले जडान गरिएका दुई दर्जनभन्दा बढी धाराको पानी चेकजाँच गरेको छ ।

चेकजाँच गर्दा धारामा कुनै किसिमको पानीमा अशुद्धता र कीटाणु नभेटिएको अध्यक्ष भट्टले बताए । दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीमार्फत चारसय ९० धारा रहेको आयोजनाले हाल एक लाख ५० हजार लिटर पानीको खपत गर्दै आएको छ । विसं २०५७ सालमा कार्य प्रारम्भ भई विसं २०६८ सालमा आयोजना निर्माण सम्पन्न गरिएको थियो ।