☰ open Loading... 19 April 2024|  

शुक्लाफाँटाका बाह्रसिङ्गे बर्दिया र चितवन स्थानान्तरण
  | १३ बैशाख २०७४, बुधबार १४:५०

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबार दुईवटा पोथी बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयको २०७१ कात्तिक १८ गतेको निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जका लागि पहिलो चरणमा दुईवटा बाह्रसिङ्गे पठाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

मन्त्रालयको निर्णयअनुसार शुक्लाफाँटाबाट बर्दिया राष्ट्रिय निकुञ्जमा १० वटा तथा चितवन राष्ट्रिय निकुञ्जमा २५ वटा बाह्रसिङ्गे स्थानान्तरण गर्ने भनिएको थियो । पहिलो चरणमा गत वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा तीनवटा पोथी र दुईवटा भाले बाह्रसिङ्गे स्थानान्तरण गरिएको छ ।

“मन्त्रालयको निर्णयअनुसार बर्दियामा पाँच÷पाँच भाले र पोथी गरी १० तथा चितवनमा २० पोथी र पाँच भाले स्थानान्तरण गरिनेछ,” ढकालले भन्नुभयो । चितवनका लागि स्थानान्तरण कार्य प्रारम्भ भएको छ । बाह्रसिङ्गे स्थानान्तरण कार्यमा पाँचवटा हात्तीका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानी बक्सगणका ५० जना प्राविधिक तथा सहयोगी कर्मचारी परिचालन गरिएको निकुञ्जले जनाएको छ ।

स्थानान्तरणमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत युएसएड हरियो वन कार्यक्रमले आर्थिक सहयोग गरेको छ । तराई क्षेत्रमा रहेका घाँसे मैदान नेपालका अति सङ्कटापन्न वन्यजन्तु प्रजाति पाटे बाघ, गैँडा, हात्ती, बाह्रसिङ्गेका प्रमुख बासस्थान भएको हुनाले जैविक विविधता संरक्षणको दृष्टिकोणले अति महत्वपूर्ण मानिएका छन् ।

सन् २००० देखि हालसम्म चितवन राष्ट्रिय निकुञ्जबाट पनि शुक्लाफाँटामा एक सिङ्गे नौवटा गैँडा स्थानान्तरण गरिएको छ । योसँगै शुक्लाफाँटामा गैँडाको सङ्ख्या १६ पुगेको छ । मुलुकमा चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेको प्रमुख बासस्थान मानिन्छन् ।

मानवीय क्रियाकलापले गर्दा सन् १९६० को दशकमा चितवनबाट बाह्रसिङ्गे प्रजाती लोप हुनपुगेको थियो । शुक्लाफाँटामा अहिले दुई हजारभन्दा बढी र बर्दियामा १०५ को सङ्ख्यामा बाह्रसिङ्गे रहेका छन् । बासस्थानमा भएका अति सङ्कटापन्न वन्यजन्तु जलवायु परिवर्तन, रोग महामारी तथा अन्य प्राकृतिक तथा मानव सिर्जित विपत्तिका कारणले लोप हुनबाट जोगाउनका लागि वैकल्पिक बासस्थानमा स्थानान्तरण गरी व्यवस्थापन गर्नु आवश्यकता रहेको शुक्लाफाँटाका प्रमुख संरक्षण अधिकृत ढकालको भनाइ छ ।