☰ open Loading... 18 April 2024|  

दलका चुनावी गीतदेखि इस् तँलाई भोटसम्म गीत भाइरल
  | १५ बैशाख २०७४, शुक्रबार १४:१८

‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ भन्दै भाका हाल्ने बद्री पंगेनी अहिले चुनावी गीतमा स्वर घुमाउँदैछन् । नेकपा एमालेको चुनावी प्रचारलाई सघाउने गरी उनले गाएका छन्, ‘हजुरबाले भन्नुहुन्छ, सूर्यमा भोट हाल्ने ।’ यो गीत अहिले युट्युबमा पनि अपलोड भएको छ ।

‘सुर्के थैली खै’, ‘पूर्व पश्चिम रेल’ जस्ता सर्बाधिक चर्चित गीतका सर्जक राजनराज सिवकोटी पनि ‘भोट माग्ने’ गीतमा लय हाल्दैछन् । उनले मनिषा पोखरेलसँग गाएका छन्, ‘रुख छापमा भोट लगाउँ ।’

यो दौडमा माओवादी किन पो पछि हट्थे र ? ‘आयो आयो माओवादी’ गीति एल्बम नै बजारमा ल्याएको छ । गीतमा स्वर दिएकी छिन्, स्मिता दहालले । यिनी प्रचन्डका साख्खै नातिनी हुन् । दुइ वटा गीत संग्रहित एल्बममा संगीत भने बि. बि. अनुरागीको छ ।

दुई चरणमा हुने भनिएको चुनावको तिथी जति-जति नजिकिदैछ, चुनावी गीतको ध्वानी चर्कदैछ । आ-आफ्नै भाका, आ-आफ्नै तालमा गीतहरु घन्किदैछन् । कलाकर्मीहरु को भन्दा को कमको शैलीमा उत्रिएका छन् । यद्यपी ती सबैको सार भने एउटै छ, ‘हाम्रो पार्टीमा भोट हालौं ।’

अहिले कुन गीत कति चर्चित भयो भनेर नाप्ने साझा इकाई हो, युट्युव । त्यसैले अहिले गीतको अडियो मात्र चल्दैन, भिडियो पनि चल्छ । अहिले यी प्रमुख तीन दलकै गीत युट्युवमा राखिएको छ ।

माओवादी केन्द्रको चुनावी गीत ‘घर घरमा माओवादी’ भन्ने गीत यो आलेख तयार पर्दासम्म ३६ हजार पटक हेरिएको छ । अक्सिजन मिडियाले २०१७ अपि्रल १९ मा अपलोड गरेको यो गीत झंकार बुढाले गाएका हुन् ।

नेपाली कांग्रेसको चुनावी गीत ‘उठ ए उठ नेपाली, जाग ए जाग नेपाली, कांग्रेसलाई जिताउन लाग नेपाली’ गीत युट्युबमा ६८ हजार पटक हेरिएको छ । यो गीत आचार्य डिजिटलले २०१७ अपि्रल १५ मा अपलोड गरेको हो ।

यो दौडमा सबैभन्दा अगाडि छ, एमाले । उसको ‘मै पनि एमाले’ भन्ने गीत एक लाख ९३ हजार पटक हेरिएको छ । बर्दन डिजिटलले २०१७ अपि्रल २४ मा अपलोड गरेको भिडियोमा बद्री पंगेनी र पि्रय भन्डारीले स्वर दिएका छन् ।

इस् तलाई भोट बोलको गित ११ हजार पटक हेरिएको छ ।