कसरी रह्यो अछाम जिल्लाको नाम ?

        के.वि.मसाल   |   प्रकाशित मितिः शनिबार, भदौ १८, २०७३     1:59:02 PM

अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो ।

यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको थियो । समुद्री सतह बाट ५४० मिटर देखी ३८२० मिटर सम्म पहाडी श्रृखलामा रहेको अछाम जिल्ला कुल क्षेत्रफल १६९२ वर्ग किलोमिटरमा फैलिएको छ ।

अछाम जिल्ला पुर्वमा कालीकोट र दैलेख, पश्चिममा डोटी, उत्तरमा वाजुरा र बझांग र दक्षिणमा दैलेख जिल्ला रहेको छ । अछाम ७५ वटा गाविसहरु मा विभाजित गरिएको छ ।

acham

अछामी राजाको मुलथलो बड्ढी (बुढो) अछाम अर्थात हाल सेरा गाविसको कवालेख भन्ने ठाउमा थियो । त्यस पछि बान्नी गढी, पुनः कवालेख हुदै वर्तमान अवस्थामा अछामको सदरमुकाम मंगलसेनमा रहेको छ ।

मंगलसेनमा तत्कालीन समयमा बनेको भब्य दरवार २०५८ सालमा द्धन्दका क्रममा ध्वस्त भई हाल निर्माणधिन अवस्थामा रहेको छ ।अछाम जिल्ला पहाडी श्रृखलामा भएकोले प्राकृतीक दृष्टिकोणले रमणिय छ ।

यो जिल्लामा रहेका खप्तड¸ बिनायक¸ रामारोशन¸ बैजनाथ जस्ता धरोहर प्रमुख प्रर्यटकिय स्थल मानिन्छन । अछाम जिल्लाको नामाकरणका बारेमा रोचक प्रशगं रहेको छ । अछामी राजाको प्रारम्भिक राजधानी सेरा वुढी धर्पुलाई लिईन्छ ।

सेरा वुढी धर्पूवाट केही तल पास्तोली गाडवाट खसेका तीन वटा छहरामध्ये एउटा अली ठूलो र डर लाग्दो छ । ति तीनवटा छहराहरुको पानी आउंने मुल लाई प्राचिन कालमा अस्माम्वु भनिन्थ्यो ।

त्यही अस्मावु शव्दवाट अपभ्रंस भई अस्माम्व–अछाम्म र अछाम भएको हो भन्ने कुरा रहेको छ । त्यसैगरी अर्को डोटी जिल्लाको ब्रह्मण खानदानका गोपाल खतिवडा भट्टका चार भाई छोराहरु थिए ।

कान्छा छोरा प्रभाषका छोरा देवेन्द्र संग प्रसिद्ध जुम्ली राजा अशोक मल्लकी छोरी हर्मता मैयासंग प्रेम विवाह भएको थियो । उनी केहि बर्षसम्म जुम्लामा बसे ।

बांगे छडा ।

बांगे छडा ।

जुम्लामा बस्दा उनले पछि नौखुवा राज्य पाए । त्यसपछि उनले नौखुवामै शासन गर्न थाले । उनिवाट जन्मेका छोरा राजाहुने र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकाले उक्त अचम्म शव्द कालान्तरमा अपभ्रंस हुंदै अछाम भएको हो भन्ने तकै पनि अछाममा सुनिन्छ ।

प्राचिन कालमा तत्कालिन मुगल सभ्राज्यको चर्को दमन सहन नसकी केही भारतीय हिन्दुहरु नेपाल पस्न बाध्य भए । घुम्दै हिंड्ने क्रममा तिनिहरु नेपालको पश्चिमी क्षेत्रको नौखुवा – वर्तमान अछाम पुगे ।

त्यस ताका नौखुवा क्षेत्र प्रशस्त मिठो आप पाईने क्षेत्रको रुपमा परिचित थियो । अनुकुल हावापानी र प्रशस्त मिठो आप पाईने भएको कारण भारतीयहरु नौखुवामैं बसोवास गर्न थाले । हिन्दी भाषामा मिठो आपलाई अच्छा आप भनिने हुदा उक्त शब्द पछि अपभ्रंश हुदै अछाम भन्न थालिएको भनने पनि गरिन्छ ।

जिंगाले ताल ।

जिंगाले ताल ।

प्राचीनतम नेपालको इतिहास संगसंगै अछाम जिल्लाको इतिहास पनि जोडिएको छ । नेपालको सुदुरपश्चिम बिकास क्षेत्र अन्तर्गत सेती अंचलमा पहाडी जिल्लाको रुपमा रहेको अछाम जिल्लको ऐतिहासिक एवं सांस्कृतिक दृिष्टकोणले ठूलो महत्व रहेको छ ।

प्राचीन कालमा हालको अछामलाई नौखुवा को नामले चिनिन्थ्यो । नौखुवाको अर्थ नौ वटा खण्डहरु भन्ने वुझिन्छ । त्यस समयमा अछामलाई विभिन्न नौ वटा खण्डहरुमा विभाजन गरी स–साना राज्यहरु संचालनमा रहेका थिए ।

नेपालको एकिकरणको समयमा अछाम बाईसी राज्य समुहको एउटा एकाई सदस्यको रुपमा रहेको थियो । कर्णाली प्रदेशमा नागराजवंशीय मल्लहरुले शासन गर्नूपुर्व अछाममा पालहरुले शासन गरेका थिए ।

त्यसपछि मल्लहरुको शासनकालमा अछाममा सभ्यताको बिकास भयो । तत् पश्चात उनिहरुको शक्ति कम हुदै जादा कर्णाली र गण्डकी प्रदेशमा स–साना राज्यहरुको उदय हुने क्रममा अछाम पनि स्वतन्त्र हिन्दु राज्यको रुपमा स्थापना भएको थियो ।

अछाम क्षेत्र मध्य कालमा बिकसित भएको खस सभ्यताको उद्गम स्थलको रुपमा रहेको थियो । राणाँ कालमा अछामको कैलाश नदि पूर्वको भू–भाग दैलेख जिल्ला र पश्चिम तिरको भू–भाग डोटी जिल्ला अन्तर्गत रहेको थियो ।

किनीमिनी पाटन ।

किनीमिनी पाटन ।

अछाम जिल्लाको उत्तरमा अवस्थित रामारोशन क्षेत्र प्रकृतिप्रेमीहरुको लागि साच्चीकै वरदान स्वरुप छ । कालिकोट र बाजुरा जिल्लाको दक्षिणमा अवस्थित यो क्षेत्र अछामका रामारोशन र भाटाकाटिया गाविस सग जोडिएकोे छ ।

१२ ओटा ताल र घासे मैदानले भरिएका रमणीय उपत्यका जस्तो देखिने १८ ओटा आकर्षक प्राकृतिक पाटनहरुले सुुसज्जित यस क्षेत्रलाई स्थानीय भाषामा १२ बण्ड र १८ खण्ड पनि भनिन्छ ।

समुन्द्री सतहदेखि करिब ३००० मीटरको उचाइमा रहेको रामारोशन पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावनाहरु बोकेको एक महत्वपूर्ण प्रकृतिको वरदान हो । प्रमुख आकर्षणका रुपमा रहेका १२ तालहरुमध्ये रामे, लामोदय, ताउल्या, जिङगल्या, गाग्रा ताल मनमोहक छन् ।

त्यस्तै १८ खण्ड मध्ये किनीमिन्नी मैदान फाट र रामारोशन मैदान फाट ठूला र आकर्षक छन् । उत्तरी खण्डको चट्टानी पहाडले झनै आकर्षण थपेको छ । घना वन जगलले भरिएको यस क्षेत्रमा डाफे, मुनाल, कालिज जस्ता चराचुरुङगी कस्तुरी बाघ, भालु, मृग, जरायो लगायतको वन्यजन्तु , पाचऔले, पदमचाल जस्ता महत्वपूर्ण जडीबुटीहरु प्नि पाईन्छन् ।

गर्मी को समयमा तराईको प्रचण्ड गर्मी छल्न रामारोशन क्षेत्र अति नै उपयुक्त मानिन्छ । अछामको सदरमुकाम मंगलसेनबाट झन्डै ४० किलोमिटर पूर्व–उत्तरमा अवस्थित रामारोसनसम्म मोटरबाटो पुगेको छ ।

p1
खप्तड लेक प्राकृतिक, धामिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ । डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाको २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज रहेको छ । खप्तड क्षेत्र अछाम जिल्लामा पनि पर्दछ ।

यातायातको सुविधाले धेरै मानिसहरु डोटी बाट खप्तड जाने गरेपनि आजभोली अछामको साफेवगर बाट पनि खप्तड जाने मार्ग बनेको छ । कतै अग्ला डाडा, कतै समथर पाटनमा फैलिएको रमणीय छ खप्तड ।

त्यहा ३७२ प्रजातिका वनस्पति पाइन्छ । कालकुट, पाचऔंले, नीरमसीजस्ता १२५ थरी जडिबुटी, २३ किसिमका वन्यजन्तु र २८७ प्रजातिका चराहरु खप्तड क्षेत्रमा पाइन्छ । खप्तड खस्रे भ्यागुता र बझाङे पाका लागि समेत प्रख्यात छ । स्कन्द पुराणमा खप्तडलाई खेचराद्धारी भनिएको छ । खेचरको अपभ्रश हुदै जादा खप्तड भएको मानिन्छ ।

खप्तडको उचाइ १२६२ देखि ३२७६ मिटरसम्म छ । यहा २२ वटा पाटन छन् । जेठ–असारमा बुकी फूलले खप्तडको पाटनक्षेत्र ढकमक्क देखिन्छ । त्यसवेला खप्तडमा फूलैफूलको गलैंचा बिच्छयाएजस्तै दृष्य देखिन्छ । गंगा दसहरा मेला भर्न हजारौं मानिसहरु खप्तड पुग्ने गर्दछन ।

DSC02397

रामारोशन अछाम

खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ । त्यहा नागढुंगा, खापर दह, खप्तड आश्रम, सहश्र लिंग, त्रिवेणीधाम रहेका छन् । त्रिवेणीघाटमा नुहाए पाप पखालिन्छ भन्ने मान्यता रहेको छ । त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम रहेको छ ।

सरस्वती नदी गुप्त बगेको भन्ने विश्वास गरिन्छ । त्यस्तै युधिष्ठिर स्वर्ग जादा खप्तड हुदै गएका थिए भनिन्छ । खप्तड पुगेर हेर्नैपर्ने ठाउ खप्तड बाबा आश्रम पनि हो । त्यहा खप्तड बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन् ।

बाबाले खप्तडमा ५० बर्ष बिताउनु भएको थियो । उहाले योग र ध्यान गर्नुभयो । किताब लेख्नुभयो । उहाले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेख्नुभएको छ ।

आश्रम हाताबाट अपी शैपाल हिमशृंखला देखिन्छ । खप्तडका अन्य ठाउबाट पनि हिमाल देखिन्छ । त्यहा क्यान्सरका लागि उपयोगी मानिएको लौठ सल्लाको जंगल छ ।

अछाम जिल्लाको सदरमुकाम मंगलसेन १३२६ मीटर उचाईमा रहेको छ । साफेबगर¸ कमलबजार¸ बिनायक¸ मंगलसेन अछाम जिल्लाको प्रमुख ब्यापारिक केन्द्रहरु हुन् । यो बाहेक आजभोली अछाम जिल्लामा ग्रामीण सडक विस्तार भएका स्थानमा समेत ब्यापारी केन्द्रहरु विस्तार हुदै गएका छन ।

पछिल्लो समयमा अछाम जिल्लामा ग्रामीण सडक निर्माणको क्रम बढेको छ । साफेबगर देखि इक्डिगाड १५ कि।मि।साफेबगर देखि मंगलसेन ४२ कि.मि.मंगलसेन देखि गैरीटांड खण्ड २३ कि.मि.गैरीटांड देखि तुर्माखाद खण्ड ३४ कि.मि.गैरीटांड देखि बिनायक बेलखेत २६ कि.मि.मार्कु चौरपाटी १४ कि.मि.मंगलसेन गैरीटांड कमलबजार ३१ कि.मि.चौखुट्टे साफेबगर फिडर रोड ३५ कि.मि.बयलपाटा कैलाश खोला ७ कि.मि.कमलबजार ढकारी बलाता २ कि.मि. मंगलसेन ओलीगाउ जुपु बान्नातोली कालागाउ १८ कि.मि. र कमलबजार जंगलघाट २६ कि.मि. मोटर मार्ग बिस्तार भएको छ ।

बटुला ताल ।

बटुला ताल ।

अहिले सरकारले केन्द्रीय प्राथमिकतामा राखेको चिसापानी –गुटु– मंगलसेन फास्ट ट्रयाक निर्माण सुरु भएको छ । फास्ट ट्रयाक अन्तर्गतमा गुटु– घाटगाउ सडक र कैलालीको सुगरखाल तथा सुर्खेतको घाटगाउ गाविसमा पर्ने कर्णाली नदीमा निर्माण कार्यले तीब्रता पाएको छ ।

अहिले मंगलसेनबाट चिसापानी पुग्न बसमा करिब २० घन्टा लाग्छ । मंगलसेनबाट डोटीको दिपायल र कर्णाली राजमार्ग भएर जादा दैलेखको डुंगेश्वरभन्दा चाडो कर्णाली चिसापानी पुग्न सकिनेछ ।

फास्ट ट्रयाक सुरु भएपछि झन्डै आधा समयको बचत हुनेछ । चिसापानी– गुटु– मंगलसेन फास्ट ट्रयाक निर्माण कार्यलाई गतिदिन लागिएको छ । कैलाली, सुर्खेत र अछाम तीनै जिल्लाबाट एकैसाथ काम भइरहेकाले छिटै सडक यातयातको सेवा उपभोग गर्न पाउने आशाले स्थानीयवासी खुशि देखिएका छन ।

फास्ट ट्रयाक निर्माण भएपछि सुर्खेत, अछाम, कैलाली, बाजुरा, डोटी र कर्णाली अञ्चलका पाचवटै जिल्लाका २० लाखभन्दा बढी स्थानीय बासीन्दा हरुले यो सडक बाट उपयोग लिन सक्ने छन ।

आकाशे विहार ।

आकाशे विहार ।

सुदूरपश्चिमका अछाम बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरुले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुदैन भन्ने अन्धविश्वास कायम छ ।

त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई स्थानीय भाषामा छाउपडी कुडी भनिन्छ । छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहलाई कसैले छुन नहुने र घर परिवारदेखि अलग बस्नुपर्ने परम्परा रहेको छ ।

यो प्रचलन लाई प्राचीनकालदेखि नै चलिआएको भन्ने गरिन्छ । अछाम जिल्लामा यो प्रथा अझै पनि दुरदराजका गाउँहरुमा कायमै छ । छुईका कारण अलग्गै बसेका बेला महिलाहरुमा पटक–पटक अप्रीय घटना घटने पनि गर्दछ ।

विशेष गरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन् । सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने हुन्छ । छाउपडी बस्ने महिलाले दही, दूध खाएमा र घर तथा भाडाकुडा छोएमा देउता रिसाउछन् भन्ने जस्तो अन्धविश्वास रहेको छ ।

सुत्केरी तथा रजश्वला भएकी नारीलाई झन सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनु पर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारी समेत रजस्वला हुदा घरका गाई–भैसीको दूध खादैनन् ।

यस्तो बेलामा घरमा पालेको गाई–भैसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास छ । अहिले भने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न सामाजिक सघरसंस्थाहरु आन्दोलनमा उत्रेका छन् ।

 

सदरमुकाम मंगलसेन अहिले प्रस्थापित नगरपालिका राखिएको छ । मंगलसेन लाई नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी नगरपालिका घोषणा गर्दा मंगलसेन, जुपु र वलीगाउ गाउ विकास समितिहरु समावेश गरिएका छन ।

मुलुकमा ४१ नया नगरपालिका थपिंदा मंगलसैन पनि नगरपालिका घोषणा भएको हो । अछामका हरेक घरका कम्तीमा पनि एकजना पुरुष कमाउनको लागि भारत गएकै हुन्छन । भारतको जुनसुकै ठाउ गए पनि बम्बई गएको छ भने महत्व मानिन्छ ।

बम्बईका बजार, अपार्टमेन्ट, कलेज आदिमा चौकिदारी गर्नु अझै पनि सम्मानकै विषय अछामीहरु लाई हुने गर्दछ । गाउँमा आर्थीक उपार्जनको रोजगारी नपाएपछि प्रत्यक बर्ष अछामीहरु भारत जाने र आउनेहरुको सख्या अत्यधिक हुने गर्दछ ।

तस्वीर सौजन्य : जिल्ला विकास समिति अछाम 

शव्द केवी मसालको ब्लगबाट

3 Comments on कसरी रह्यो अछाम जिल्लाको नाम ?

  1. Maheshraj regmi // September 6, 2016 at 12:18 pm // Reply

    Sundar lekh,achham ko barema padhna pauda sarai khusi lagyo.

  2. खाेजमुलक लाग्याे । स्राेतका रूपमा राजाराम सुवेदी, नरहरि नाथ वा अन्य कसकाे सामग्री प्रयाेग गरिएकाे हाे उल्लेख गरिदिए इमान्दारिता देखिन्थ्याे

    • सुझावको लागि धन्यवाद भरत जी । आगामी दिनमा हजूरले नै तयार पारेको आलेख पनि प्रकाशन गर्नमा http://www.paschimnepal.com आतुर छ । समग्रमा सवै समेट्दा केही अपुग हुन गएकोमा क्षमाप्रार्थी छौं ।

Leave a comment

Your email address will not be published.


*