दैलेखलाई बदल्ने कि यथास्थितिमा राख्ने ?

        सुरेन्द्रकुमार अधिकारी   |   प्रकाशित मितिः बुधबार, कार्तिक ३, २०७३     12:54:26 PM

Surendra Adhikariऐतिहासिक तथा धार्मिक दृष्टिकोणबाट दैलेख दधिची नामका ऋषिले तपस्या गरेको अत्यन्त पवित्र भूमि अर्थात् पञ्चकोशी नामले परिचित स्थल हो । यो भूमि देवताहरुले बास गर्न योग्य भएको हुँदा देवताहरुले बासस्थान गरेकोले नै देवलोक भनिएको हो भन्ने भनाइ पनि रहेको पाइन्छ ।

साथै प्राचीन कालमा दैलेख भूमि वस्तुभाउका लागि उर्वर तथा चरनयोग्य भएकोले गाई भैसींहरु प्रशस्त मात्रामा पालिने भएको हुँदा दुध, दही अर्थात गोरस प्रशस्त मात्रामा पाउने र दुधबाट दही बनाइने अर्थात गोरस अन्तरगत दहीको उपलब्धताका दृष्टिले दैलेख नामाकरण भएको भन्ने भनाई पनि उत्तिक्कै सान्दर्भिक छ ।

अत्यन्त प्राचीन धर्म ग्रन्थ पुराणमा दैलेख शब्द प्रयोग भएबाट दैलेख स्थानको महत्व बेग्लै छ । त्यति मात्र होईन विभिन्न विषयहरुमा गरिएका शोधहरुमा पनि यस दैलेख स्थानको गरिमा वर्णित छ ।

दैलेख भूमि प्रकृतिद्वारा नै निर्मित पर्यटकीयस्थल हो । यहाँको प्रसिद्ध ज्वाला जुन निरन्तर रुपमा पानी माथि बलिरहन्छ यो नेपालकै लागि प्राकृतिक रुपमा उपलब्ध भएको अनुपम उपहार हो र यस्ता तमाम खानी तथा जडीबुटीहरु उपलब्ध हुने राष्टिय महत्व बोकेको स्थान हो भन्दा शायद अत्युक्ति हुदैन ।

तसर्थ उल्लेखित मूल्य अर्थात् महत्व राष्टि«य तहमा मात्र राख्दैन । राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक रुपमा दैलेखको बारेमा प्रसङ्ग उठ्ता मलाई लाग्दछ जो कोहीका मन मस्तिष्कमा यीनै कुराले छोइराखेको पाइन्छ । यस्तो स्थानलाई हामी दैलेखबासी अर्थात् दैलेखी भूमिमा जन्म दिएर कर्मथलो देश तथा विदेश बनाउनेहरु अझ भनौं  विविध विषयमा विशेषज्ञता हासिल गर्नेहरु अर्थात हामीहरु कति आफ्नो जन्मभूमिप्रति जिम्मेवार भयौ ?

के, कति महत्व दिइराखेका छौ  ? विशेषगरी मैले यस लेखमा उठाउन खोजेको मूल अथवा केन्द्रीय प्रसङ्गहरु यीनै हुन् । यसो भनिरहँदा कसैलाई पाच्य नहुन पनि सक्छ । पाच्य हुनु नहुनु अर्के कुरा हो । पाच्य होला वा नहोला, तर सत्य कुरा आफ्ना ठाउँमा छ र हुनुपर्छ । इतिहासले यसको हिसाब किताब अवश्य पनि राख्दछ समयमा नै सोच्न आवश्यक छ भन्ने मलाई लाग्दछ ।

   दैलेखलाई बदल्ने कि यथास्थितिमा राख्ने ? यो प्रश्न टड्कारो रुपमा हाम्रो अगाडि उपस्थित छ। यस प्रश्नको उपयुक्त समयमा उपयुक्त ढंगले छिनोफानो गरिएन वा वेवास्ता गरियो भने यहाँको इतिहासले हामीलाई धिक्कार्ने कुरामा दुई मत छैन ।

राज्य वा सरकारका तर्फबाट विनियोजित विकासको रकम धेरै वा थोरै जति होस् वितरित रकममध्ये करीव ५०% दुरुपयोग गरिनु एकातिर नेपालको विकासको क्षेत्रमा देखिएको एउटा तीतो सत्य हो भने अर्कोतिर यस सत्यप्रति सम्बन्धित निकाय तथा सरोकारवालाबाट आँखा चिम्लनु वा वेवास्ता गर्नु अर्को गम्भीर तीतो सत्य हो ।

dailekh-bazar

त्यसलै शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाईं, सडक, विद्युत, सञ्चार, साना तथा मझौला उद्योग आदि विकासका पूर्वाधारहरुलाई सम्बन्धित विषय विशेषज्ञहरुले अध्ययन विश्लेषण गरी यथोचित समयमा यदि पृष्ठपोषण गरिएमा दैलेलको मुहार परिवर्तन हुनेछ अर्थात् दैलेखले विकासको सन्दर्भमा यथास्थितिवादी चिन्तनबाट मुक्त हुने अवसर पाउने कुराको अपेक्षा गर्न सकिन्छ ।

यस प्रसङ्गमा १ वर्ष अगाडि दैलेखका स्थानीय क्षेत्रहरुमा समेत खुला दिसा पिसाब मुक्त क्षेत्र घोषणा गर्ने अर्थात् अंग्रेजीमा भाषामा ‌ओडिएफ (open Defection free) अभियान नै थालियो । दैलेख जिल्लामा स्थापित तथा अवस्थित अधिकांश सरकारी तथा गैर सरकारी निकायहरुको निकै सकारात्मक भूमिका पनि देखियो । यस प्रकारको सकारात्मक प्रभावले सबै हामी एकदमै हौसियौ ।

तर समय बित्दै जाँदा अब उक्त अभियानबाट जागेको उत्साह क्रमशः कमजोर हुँदै गएको आभास भइरहेको छ । यस कुराको अनुभव गर्दे एक दिन यस लेखका लेखकले दैलेख जिल्लाको मुटुमा अवस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक राखिएको देवकोटा चोकसंग जोडिएको दैलेख जिला अदालतको अगाडि थुपारिएको फोहोरको प्रसङ्गलाई लक्षित गर्दे फेसबुकमा लेखिएको स्टेटसको कमेन्टमा केही यथार्थ र सकारात्मक तथा केही भिन्न खालका वाक्यहरु प्रयोग गरिए जसले दायित्वबाट पन्छिन खोजेको देखिन्थो यद्पि उहाँलाई पनि दैलेखले जन्म दिएर दैलेखलाई नै उर्वर कर्मभूमि बनाएको ताजा उदाहरण हामीसैगै छ ।

भनाईको मतलव यति मात्र हो कि उहाँलाई कुनै पनि कोणबाट उम्किन सक्ने ठाँउ थिएन र छैन पनि । यसबाट समग्र रुपमा बुझिन्छ कि यस स्थानमा चाहे फोहोर व्यवस्थापन गर्न होस् वा महङ्गी नियत्रन्त्रण होस् वा अन्य कुनै पनि ।

यस्ता कुराको दीर्घकालीन समाधान न त यहाँ नेपाल सेनाबाट न त प्रहरीबाट सधैं संभव छ, न त यस जिल्लामा निश्चित अवधीका लागि काम गर्न खटाइएका प्रशासनिक प्रमुख वा अन्य कर्मचारीहरुबाट ।

उहाँहरुको सरकारी तथा गैर सरकारी जिम्मेवारी नहुने त कुरै भएन । तर अन्तिम सत्य र संभव कुरा यो छ कि स्थानीय समूदाय त्यो स्थायी समाधान हो जसमा भरपूर चेतना र सकारात्मक दृष्टिकोण होस् ।

भरपूर चेतना र सकारात्मक दृष्टिकोण दिने दायित्व भनेको शिक्षित र सचेत वर्गको जुन जिल्ला बाहिर र भित्र छन् । भाषण र बचनबाट भन्दा कर्ममा विश्वास गर्ने वातावरण सृजना कसरी गर्ने ? वास्तवमा यही नै हाम्रो समस्या र चुनौती हो ।

यीनै समस्या र चुनौतीहरुलाई अवसरमा रुपान्तरित गर्न अब पनि तम्सिएनौ भने अर्थात विकसित देशहरुबाट हामीले ढिला नगरिकन शिक्षा लिएनौ भने अझ हामी अति कम विकसित राष्टको सूचीको अन्तिम हरफमा वर्णित हुनेछौ ।तसर्थ सिंगापुर कसरी बन्यो भन्ने पाठ ली क्वान जस्ता व्यक्तिहरुबाट सिक्न जरुरी छ ।

अन्तमा दैलेख भूमिमा जन्म लिएर अन्ततः यसै भूमिलाई सफलताको सपना देख्दै गन्तव्य बनाउन चाहनेहरु परिस्थितिवश जहाँ भएपनि दैलेखबाट सबैलाई यस लेख मार्फत दैलेखलाई यथास्थितिबाट मुक्त गरी परिवर्तनको दिशामा रुपान्तरण गर्न ध्यानाकर्षणका लागि अपिल गर्दे अन्तमा वडा दशैं दीपावली छठ तथा अन्य चाड पर्व, २०७३ को उपलक्ष्यमा दैलेख अर्थात नेपालको भविष्य उज्वल होस् भनी शुभ कामना व्यक्त गर्दछु ।

लेखक अधिवक्ता हुन् ।

Leave a comment

Your email address will not be published.


*