दुःख दिने दुई ‘अ’ (अनुभूति)

        डा. जया सत्याल   |   प्रकाशित मितिः आइतवार, मंसिर १९, २०७३     8:03:30 AM

म र मेरा मित्र कसैले पनि पाइला टेक्नु नपरोस् भन्ने गरिएका दुई ‘अ’बाट सुरु हुने ठाउँमा जागिर गर्दछौं । म अस्पताल र उनी अदालतमा । बेलाबखतमा हामी मित्रताका कुरा सँगसँगै देश विदेश र आ–आफ्ना कार्यक्षेत्रका घटनाक्रमलाई लिएर बादविवाद गर्दछौं ।

म मेरो मित्रलाई लक्षित गर्दै भन्छु, ‘अदालतमा त कसैलाई पनि पाइला टेक्नु नपरोस्, पैसा र समय दुवैको बर्बाद ।’ न्याय पाउन नसक्दाको त्यो पीडा र छटपटीको उपचार नै सम्भव नहुने भन्दै उनलाई व्यंग्य गर्थें ।

jaya-satyal
उनी भन्थे, ‘अस्पताल चाहिँ कहाँ गतिलो ठाँउ हो र ? लुटेरा डाक्टर पनि त्यहीं छन् । पैसाको लोभमा लिंग पहिचान गर्दै गर्भपात गराउनेदेखि क्यान्सरको अन्तिम अवस्थामा पनि अप्रेसन गर्नुपर्छ भन्दै शरीर खोतल्ने दलालसम्म त्यहीँ छन् । तिमी मात्रै राम्रो भएर हुन्छ ?’

उनको चिकित्सा क्षेत्रप्रतिको यो सोचाई मलाई पटक्कै मन पर्दैनथ्यो । मेरो अस्पतालले त जीवन दिन्छ, बचाउन सक्नेलाई बचाउँछ । स्वस्थलाई रोगी चाहिँ बनाउँदैन ।

अस्पताल जीवनदानको मन्दिर हो भन्दै म प्रतिवाद गर्थें । अस्पतालमा पाइला टेक्नु नपसोस् भन्ने उनी धेरै पटक आफ्नो र आफन्तको उपचारको लागि आजपनि अस्पताल नै धाइरहेका छन् ।

अर्कोतर्फ अधिकारको खोजीमा न्यायालय छिरेकी तर न्यायको गलत व्याख्या गरिँदा अन्यायमा परेकी म पनि फेरि न्यायको आशामा अदालतकै लाइनमा छु । हामी दुवै यी दुईथरी ‘अ’ बाट टाढिन सकेका छैनौं ।

बिरामीको उपचारका क्रममा अधिकांश समय मैले अस्पतालमा बिताउने गर्दछु । रात्री ड्युटीहरु पनि बिरामीसँगै विताएकी छु । म आफू र परिवारका सदस्यहरु बिरामी भई अन्य अस्पतालमा उपचारको क्रममा कम्तिमा एक हप्ता बस्नुपर्दा बल्ल बिरामी र बिरामी पक्षका पिडा बु्झ्दै छु । अस्पतालको यो बसाइमा झण्डैं चार वर्ष अगाडि अस्पताल भर्ना भई बसेकी मेरी बहिनीले दिनहुँ भन्ने गरेका वाक्यांशहरु पनि सम्झिदैछु । उनी पटमपटक भन्ने गर्थिन, ‘कसैले आउनु नपरोस् यो भूतघरमा । जेलको जीवन सहज होला तर यहाँ… ।’

घटना–१

चार महिने गर्भवती बहिनीको एकाएक पाठेघरबाट रगत बग्न थालेपछि म आत्तिदै उनलाई घर नजिकैको सरकारी अस्पतालको आकस्मिक कक्षमा लिएर गएँ । बिरामीको खचाखच र शैया अभावका कारण उनलाई विरामी परिक्षण गर्ने बेडमा नै राखेर उपचार गर्न थालियो ।

यत्तिकैमा आकस्मिक क्षमा ठूलो खैलाबैला मच्चियो । कुरा के रहेछ भने ओखलढुंगाबाट विहान ४ बजेतिर नै आकस्मिक कक्षमा बिरामी ल्याइएको रहेछ । बिरामी पेट दुखेर छट्पटाइरहेका थिए । बिरामीलाई दिनभरी अब्जरभेसनमा राखी साँझको ६ बजेतिर शैया अभाव देखाई विरामीलाई अन्य अस्पतालमा लैजान स्वास्थ्यकर्मीहरुले दवाव दिइरहेका थिए । विरामी पक्ष भने, कि त शुरुमै उपचार गर्दिन भन्नुपथ्र्यो, दिनभरी राख्ने अनि अहिले अन्यत्र जा भन्ने यत्रो ठूलो अस्पताल छ के हामीजस्ता सर्वसाधारणका लागि बनेको होइन सरकारी अस्पताल ? भन्दै गुनासो गरिरहेका थिए । यत्तिकैमा झण्डैं २३/२४ वर्षे र भर्खरै डाक्ठर पास गरेर आएका र सेटो कोटमा सजिएका एक डाक्टर आए ।

ती त झन ठूलो स्वरमा झर्किदै कड्किन थाले– हैन के ठान्छन् हो मानिसहरु ? के डाक्टर भगवान हो र ? परिक्षण विना नै विरामी जाँच गर्ने ? अनि हामी प्राइभेट अस्पताल हौं र ? सरकारी हो यो अस्पताल त । तपाँइहरु जस्ता विरामी त फालाफाल छन् यहाँ । हाम्रो अस्पतालमा बिरामीको कहिल्यै खाँचो छैन । उनी विरामी पक्षलाई खुबै हकार्दै थिए । म भने अचम्मित भएर भित्रबाट नियालीरहेकी थिएँ ।

अर्का करिव २४/२५ वर्षका पिसाब रोक्किएर पेट दुखी छट्पटाइरहेका बिरामी आकस्मिक कक्षमा ल्याइएको थियो । आतको आठ बसिसकेको थियो र विरामीको चाप बढी भएको भन्दै अस्पतालका स्वास्थ्यकर्मीहरुले विरामीलाई छाम्न पनि मानेनन् । उनीहरुले अन्यत्रका अस्पतालमा लैजान दवाव दिए । विरामी उता रोइकराई गर्दै थिए ।

कृपया रोकिएको पिसाव त कम से कम निकालीदिनुहोस विरार्मी मर्नै लाग्यो । अनि बरु हामी अन्यत्र लान्छौं । कसैले उनको समस्या नबुझेपछि ती बिरामी पक्षधरहरु दिक्क मान्दै उजुरीका लागि अस्पताल प्रमुखकहाँ जान लागे । यत्तिकैमा डियुटीमा रहेका एक व्यक्ति आए र कराउन थाले । हामीले तपाईको उपचार गर्न सक्दैनौं । तपाई प्रधानमन्त्रीकोमा जानुहोस् कि प्रमुखकहाँ जानुहोस् हामीलाई केही मतलब छैन ।

…………………………..
स्वास्थ्यमन्त्री वा प्रधानमन्त्रीकै फोन आएपनि केही हुनेछैन भन्दै उल्टै धामस्न थाले । विरामीपक्ष लाचार भए उनीहरुले अनुनय विनय गरे पनि केही चलेन । अन्त्यमा बाध्य भई विरामी लिई नजिकैको मेडिकल कलेजतिर लागे ।

हामी स्वास्थ्य मन्त्रालयका कर्मचारी र जनप्रतिनिनिधीहरु स्वास्थ्यलाई मौलिक हकका रुपमा परिभाषित गर्दै गुणस्तरिय स्वास्थ्यका कुरा गर्दछौं । तर कस्तो विडम्बना । सर्वसाधारण नेपालीले आधारभूत स्वास्थ्य सेवाका लागि पनि काठमाडौं ल्याएर सरकारी अस्पतालमा उपचार गराउन स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीको निजी सचिवको फोन बनाउनुपर्ने बाध्यता सिर्जना हुँदा मेरो मन अति खिन्न भयो ।

अर्को संवेदनशिल घटना यस्तो थियो– बहिनीको बाठेघरबाट रगत बगिरहेको थियो । रगतको कमी हुनसक्ने भनी चिकित्सकहरुले रगत बैंकबाट तुरुन्त लगत ल्याउन सल्लाह दिए । रगत समूह छुट्याइएको ल्याबको रिपोर्ट लिएर म ब्लड बैंकमा पुगे । झण्डैं ३ घण्टाको पर्खाईपछि बल्ल मेरो पालो आयो । त्यहाँ रगत दिने बेलामा क्रस म्याचिङ गर्दा त रगत समूह नै फरक परेछ । म आत्तिदै रगत नलिई पुनः रगत समूहको निश्चय गर्न अस्पताल फर्किएँ । फर्कदा रातको १ बजिसकेको थियो । सधैं हल्लाखल्ला, भिडभाड र विश्वासको केन्द्र त्यो ल्याबको कत्रो लापरवाही ?

मेरो मान आत्तिइरहेको थियो । समस्या निराकरणका लागि मैले यो कुरा गुनासो गर्दा उल्टै ल्याबका कर्मचारी रिसाए । उनीहरुले एकस्वरमा ‘तपाई परिस्थिती बुझ्नुहुन्न ? के भएको छ र ? भिडभाडमा भूल भएको त हो नि भन्दै मलाई झपारे ।’ मेरो पुरानो रिपोर्ट मागे ।

ढड्डाको रेकर्ड टिपेक्सले सच्याएर पुन नयाँ रिपोर्ट बनाइदिए । म रातभरि रगत प्राप्तिका लागि ओहोर दोहोर गरिरहेँ । म जस्तालाई त हकार्ने उनीहरुको यो चाला चानचुने हो त ? लापरवाहीका कारण एउटा रगत समूह भएको व्यक्तिलाई अर्कै समूहको रगत दिदा जीवन नै धरापमा पर्दैन ? के उनीहरुलाई यो कुरा थाहै नभएको हो त ? मैले बल्ल अनुभव गरेँ ।

भनाई र गराईमा आकाश पातालको फरक रहेछ । हामीमा स्वास्थ्य सेवा र पेशाप्रतिको संवेदनशिलता वास्तवमा हराउदै गएछ । अस्पतालका ल्याबमा म जस्ता धेरैको गुनासो सुनियो । कसैको रिपोर्टमा नाम नै फरक पर्ने, एउटा परिक्षण गर्दा अर्को परिक्षणको रिपोर्ट आउने, सामान्य रगत परिक्षणका लागि पनि पटक–पटक रगत झिक्नुपर्ने, रिपोर्टहरु हराउने यस्तै, यस्तै….।

………………………………..
रगत बग्नुको कारण र भित्रको बच्चाको स्वास्थ्य अस्था बुझ्न मेरो बहिनीको प्रत्येक दिनजस्तो भिडियो एक्सरे गरिन्थ्यो । प्रत्येक दिन सामान्य भन्ने रिपोर्ट आउथ्यो तर उनका लक्षणहरु भने जस्ताका तस्तै थिए । विरामी छट्पटाएको देखेर उनलाई परीक्षण गर्ने विशेषज्ञ डाक्ठर पनि खास कारण पत्ता नलागेको देखेर छक्कै परेका थिए । प्रत्येक दिन भिडियो एक्सरे गर्दा पनि कस्तो अचम्म ? एक चिकित्सकले सामान्य अवस्था(नर्मल फाइण्डिङ) लेखेको रिपोर्ट देख्नासाथ अर्को चिकित्सकले हेर्न नखोज्ने ?

अल्ट्रासाउण्ड गर्दा प्रोब घुमाएजस्तो गर्ने अनि ठिक छ भन्दै आँखा चिम्लेर रिपोर्ट दिने गरेको देखियो । घर परिवारका सदस्य समेत विरामीको अवस्था देखेर दिक्क भइसकेका थिए । अझै उल्टै बहिनीलाई सबै तिमीले नचाहिदो टेन्सन गरेर धेरै सोचेर रगत बगेको हो, भित्री कारण केही नभएको भन्दै गाली गर्थे । केही स्वास्थ्यकर्मीहरुले पनि तपाई अनावश्यक चिन्ता लिनुहुन्छ भन्दै बहिनीलाई निद्रा लगाउने एन्टी डिप्रेसिभ औषधीका गोलीहरु प्रेस्क्राइव गर्न थाले ।

म स्वयं चिकित्सक बहिनीको अवस्था मलाई राम्ररी थाह थियो । सामान्य मानसिक तनावले मात्र पेट भित्रको बच्चाकै स्वास्थ्य अवस्थालाई असर पर्नेगरी रगत बग्ने अनि बच्चाको स्वास्थ्य अवस्था भने सामान्य हुनै सक्दैन भन्ने लाग्यो । मैले जवर्जस्ती आफ्नै जोखिममा बहिनीलाई अस्पतालबाट निकाली अर्को नाम चलेको रेडियोलोजिष्टकोमा लगे । ती विशेषज्ञ डाक्टरले प्रोब मात्र के घुमाएका थिए, तिम्रो बच्चाको अवस्था ठिक छैन भने बच्चालाई आवश्यक पर्ने पानीको मात्रा शुन्य भएको, मुटुको ढुकडुकी नै नभएको भन्दै तुरुन्त यो समस्याको समाधान गर्नुपर्ने सल्लाह दिए ।

मैले यो घटनापछि चिकित्सा क्षेत्रमा गुणस्तरको अवस्थालाई बेवास्ता गरी मात्रात्मक वृद्धिलाई मात्रै जोड दिदा उब्लिएको समस्या हो भन्ने कुरा बुझ्ने मौका पाए । काठमाडौंमा टोल टोलमा भिडियो एक्सरे गरिन्छ, रगत परिक्षण गरिन्छ । अन्य कुनाकाप्चातिर पनि फिजियोथेरापी, अक्यूपञ्चर, आयुर्वेदिक उपचार गर्न भन्दै खोलिएका बोर्डतिर मेरो आँखा अडकिन थाले । विशेषज्ञता नै हासिल नगरेका डाक्टरदेखि दुई तीन महिनाको सामान्य तालिम लिनेहरुको भरमा भीडलाई सेवा दिनु परेको छ । मेहनत गरी विशेषज्ञता हासिल गरेका क्षेत्रहरुमा पनि उत्तिकै क्लिनिक अस्पताल खुलेका छन् । नीति निजमको उपयुत्त, पालना नहुदा स्वास्थ्य क्षेत्रले मात्रात्मक वृद्धि गरेर कागजी रुपमा त प्रगति देखियो तर गुणस्तर भने हराउर्दै गएकोमा म चिन्तित भएकी छु ।

………………………………………

अर्को प्रसंग
पाँच वर्ष अगाडी मेरा समकक्षी भर्खरै मेडिकल विषयमा इन्टर्नसिप सकेपछि निकै नाम चलेको अस्पतालमा काम गर्न थाले । उनी इमान्दार थिए । उनले मासिक तलब राम्रौ पाएता पनि दिन दहाडैं बिरामीलाई स्वास्थ्यलाभका नाममा लुट्न पल्केका अस्पताल सञ्चालकप्रति दिक्क भएर दुई महिना पुग्दा नपुग्दै जागिर छाडे । यो खवर सुनेपछि मैले किन जागिर छाडेको भन्ने प्रश्नमा उनले दिएको उत्तरलाई आज म केलाउदै छु ।

उनी भन्थे–, ‘सक्दिन साथी म यसरी विरामी ठग्न । मलाई अल्ट्रासाउण्डको अ पनि आउँउदैन । प्रोब राम्ररी घुमाउन समेत जान्दिन तर अस्पताल सञ्चालकले दबाब दिन्छन् । हामीलाई विरामीको पेटमा अल्ट्रासाउण्डको प्रोब घुमाए झै गरी प्रतिव्यक्ति रु पाँच सय लिन । विरामीको अनुहार हेरी रिपोर्ट दिन्छौं । प्रायःलाई सामान्य अवस्था छ भन्छौं । गर्भ रहेको शंका गरी आत्तिदै आएकालाई गर्भवती भएको, छोराको चाहना राख्नेलाई छोरी छ भन्दै गलत रिपोर्ट दिने गर्छ । आफ्नो अस्पतालमा गर्भपात गराउन पल्केको छ त्यो सञ्चालक । तिमी सोच त मबाट कत्रो खेलवाड भएको छ बिरामीको जीवनप्रति ? गत हप्ता रिपोर्ट सामान्य भनी दिएको अरुचीको लक्षण भएको विरामीलाई पेटको क्यान्सर रहेछ ।

एपेण्डिसाईटिस भएको विरामीलाई सामान्य भनिदिँदा अकस्मात विरामीको मृत्यु भयो । तिमीलाई थाह छ ? यस्तै काम गर्ने कतिपय हाम्रा साथीहरु आज मालामाल भएका छन् । उनीहरुका बंगला छन्, निजी गाडी छन्, कतिले त आफ्नै पोलिक्लिनिक समेत खोलीसके । मैले काम गर्ने अस्पतालको सञ्चालक स्वास्थ्यको नाममा लुटेको सम्पत्तिबाट आज जनताको जनप्रतिनिधी बनेर सभासद् बनेको छ । अझ हर्बल औषधीको नाममा त उसले लुट्न सम्म लुट्यो । यतिसम्मकी त्रिफलाको धुलोमा(चुर्ण औषधी) निद्रा लगाउने अल्प्राजोलमका गोलीहरु पिसेर मिसाई साईड इफेक्ट रहित तनाव हटाउने अनिद्रा भगाउने औषधी भन्दै एक दिनमै लाखौंको व्यापार गर्यो । विभिन्न जिल्लाहरुमा समेत सम्पर्क बढाएर निकासी गर्यो ।

……………..
साथीका कुरा सुनेर म छक्क परेँ । मैले उनलाई उल्टै प्रश्न गरे । के तिमी यस्ता घटना सम्झिएर निदाउन सक्यौं त ? उसले साह्रै दुख मान्दै जवाफ दियो, कहा निदाउन सक्नु ? एक दिन त भिडियो एक्सरेको गलत रिपोर्ट दिँदा विरामीको मृत्यु भई विरामीका आफन्त घेर्न आए । सञ्चालकले पाँच लाख दिएर बल्ल बल्ल कुरा मिलाए । घटनाचक्रले म धेरै रात निदाउन सकिन । साईड इफेक्ट नहुने भन्दै हामीले बेचेका अल्प्रंोजोलम युक्त त्रिफलाको धुलो विरामीहरु खान्थे । भने म चाहि निन्द्राको गोली सोझै खान्थे । मेरो मनले दर्दनाक स्थिती थाम्नै सकिन । लुटपाटको खेलबाट अलग्गिन चाहेँ र जागिर छाडेँ ।

मलाई यी घटनाले पिरोल्नु पिरोलेका छन् । ठुला ठुला सेमिना र गोष्ठीमा जनताका गुणस्तरिय स्वास्थ्यका कुरा गर्ने जनप्रतिनिधी र डाक्टरको आचार संहिता घोक्ने स्वास्थ्यकर्मीहरुले त मानव स्वास्थ्य र जीवनको संवेदनशिलता बुझ्न सक्दैनौ भने कसरी हुन्छ स्वास्थ्य क्षेत्रको सुधार ? सेवामूलक भावना भन्दापनि व्यापारी नाफा नोक्सानको लेखाजोखाले साँच्चै नै हाम्रो क्षेत्रमा प्राथमिकता पाएको देखिन्छ ।

अन्तमा न्यायको खोजिमा अदालत छिने र उपचारको खोजीमा अस्पताल धाउनेको पीडा एउटै हुन्छ । अतः मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता संवेदनशिल निकायहरु र सो निकायसँग सम्बन्धित सबैले आ–आफ्नो मर्यादा र आचार संहितालाई पालना गर्नैपर्ने हुन्छ । अनिमात्र विश्वस्त वातावरणमा पिडक पक्षलाई यी दुईथरी ‘अ’ भित्र छिर्ने वातावरण तयार हुन्छ र नेपालको संविधान २०७२ ले व्यवस्था गरेको स्वास्थ्य अनि न्याय र समानताका मौलिक हकहरु प्राप्त गर्न सहज हुन्छ ।

स्राेत स्वास्थ्य खवर

Leave a comment

Your email address will not be published.


*