सुत्केरी संवाद : ‘आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न’

        मीना शर्मा। प्रकाश सिंह   |   प्रकाशित मितिः बुधबार, पुस ६, २०७३     4:58:53 PM

बाजुरा, हुम्ला र मुगुका गाउँमा अहिले पनि सुत्केरीलाई गाईबस्तुको गोठमा, अमानवीय कष्टमा राखिन्छ । ‘नियमित गर्भ परीक्षण’, ‘सुरक्षित मातृत्व’ र ‘पोषणयुक्त खाना’ जस्ता सरकारी प्रचारवाजी भन्दा फरक हदै दयनीय छ सुत्केरीको अवस्था । 

नन्दसरा सार्की (२३) बाजुरा, बाँधु

10-nandasara-sarki-min

११ कात्तिक, २०७३ । आज मैले बच्चा जन्माएको १२ दिन भयो । सुत्केरी भएपछि म यो गोठमा बस्दै आएकी छु । बच्चा जन्मिसकेपछि सुत्केरी र बच्चालाई घरमा छुन नहुने भएकाले म गाईगोठमा बसेकी हुँ । छुई (महीनावारी) र सुत्केरी भएको समयमा म मात्र होइन हाम्रो घरका सबै महिला यसैगरी गाईगोठमा बस्ने गर्छौं ।

मेरो माईत हुम्ला हो, त्यहाँ पनि म जस्ता सबै गोठमा नै बस्छन् । अहिलेसम्म मैले पाँचवटा बच्चा जन्माइसकेकी छु । प्रत्येक पटक एक महीना गोठमा बस्दै आएकी छु । हाम्रोतिर सुत्केरी भएको बेलामा १० दिन मात्र घरकाले पकाएर खान दिन्छन् । ११औं दिनदेखि मैले आफैं पकाएर खान थालेकी हुँ ।

मेरा दुई बच्चा भगवानका नजिक भए । यो बच्चालाई चिसो लागेको छ । चिसोले गर्दा खोकी लागेको र पातलो दिसा गरेको छ । त्यसैले बच्चा लिएर घाममा बसेकी छु । आगो नबाल्दा कोठा धेरै चिसो हुन्छ । पहिलेका दुई बच्चा पनि चिसो हुँदाहुँदै मरेका हुन् । तर, जन्माएका सबै बच्चा कहाँ बाँच्छन् र ? सबैका बच्चा मरेका हुन्छन् त्यसैले मेरा पनि मरे ।

स्वास्थ्य चौकीमा बच्चा जन्माउँदा डाक्टरले गोठमा बस्न हुन्न भने तर पनि हामी बस्ने गोठमै हो । घरमा बस्न हुन्न । देउता रिसाउनुहुन्छ । देउता लागेपछि परिवारमा समस्या हुन्छ, बालीनाली राम्रो हुँदैन । जीवित भएका बच्चालाई पनि राम्रो हुँदैन । म पनि गोठमा जन्मिएँ, आमासँगै एक महीना गोठमा बसें । मलाई केही भएको छैन । त्यसैले गोठमा बसेर केही हुने होइन । आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न । देउता रिसाउनुभयो भने विनाश हुन्छ ।

संस्थाका ‘सर’ र ‘म्याडम’ आएर गोठमा बस्नुहुन्न भन्नुहुन्छ तर हामीलाई गोठमा बसेर राम्रो भइरहेको छ । खान पाएकै छौं, परिवारसँगै छौं । मैले अरू बच्चा जन्माएँ भने अब पनि बस्ने गोठमै हो । परिवारलाई नराम्रो हुने काम गर्नुहुँदैन । पहिलाका सबै जना गोठमा बस्दा केही भएको छैन भने हामी बस्दा के समस्या हुन्छ र ? चल्दै आएको चलन किन नमान्ने ? गोठमा बस्दा बच्चा म¥यो भने आमा मात्र चाहिं धेरै दिन गोठमा बस्नु पर्दैन । मेरा छोरी मात्र छन्, अंश खाने छोरो जन्माउनु छ । पाप ग¥यो भने छोरो जन्मिंदैन । छोरो जन्मँदा पनि गोठमै बस्ने हो ।

सरस्वती बुढथापा (२१), बाजुरा रुगिन

sarasowti-budhthapa-min

१२ कात्तिक । बच्चा जन्मिएको आज १२ दिन भयो । स्वास्थ्य चौकीमा बच्चा जन्मिसकेपछि २४ घण्टा म स्वास्थ्य चौकीमै बसें । डाक्टरले बच्चा र आमाको स्वास्थ्य राम्रो छ भनेपछि घर आयौं । घर आएदेखि म यही गोठमा बसेकी छु । बच्चा जन्माउँदा हाम्रो गाउँमा सबैजना गोठमा बस्छौं । भान्सा र घरको अन्य ठाउँमा जाँदा देउता रिसाउने हुँदा हामी गोठमा बस्ने गरेका हौं । स्वास्थ्य (चौकी) मा जाँदा सफा बस्नुपर्दछ, गोठमा बस्नुहुन्न भन्नुहुन्छ तर यस्तो छुई भएको समयमा गोठमै बस्नु प¥यो नि ! आमा, हजुरआमाले पनि गोठमै बच्चा जन्माउनुभयो, गोठमै बस्नुभयो । उहाँहरूलाई केही भएको छैन, हामीलाई पनि केही हुँदैन ।

यस्तो बेलामा म भान्सामा बसेर घरमा केही अनिष्ट भयो भने के गर्ने ? देउता नमान्दा देउता रिसाउँछन् र देउता रिसाए भने अन्न फल्दैन, बच्चाहरू अपाङ्ग हुन्छन्, खडेरी हुन्छ, पहिरो जान्छ । यस्तो थाहा हुँदाहुँदै कसरी घरमा बस्ने ?

गोठमा बस्दा भूतप्रेत नआओस् भनेर ढोकामा बन्चरो झ्ुन्ड्याउने गर्छौं र कम्मरमा हँसिया राख्छौं । देउता खुशी बनायो भने भूत डराउँछ तर कहिलेकाहीं गल्ती हुँदा भूत लाग्न सक्छ भनेर हँसिया र बन्चरोसँगै राखेका हौं । सुत्केरी बस्ने गाईगोठमा एक महीनासम्म कोही बस्दैन, आमा र बच्चा मात्र बस्छन् । सबैले गरिरहेको काम किन नगर्ने ? आफ्नो संस्कार मान्नु प¥यो । स्वास्थ्यका ‘सर’ ‘म्याडम’ ले भनेको सबै कुरा घरमा गर्न मिल्दैन ।

मागी चदारा (१७) मुगु, ह्याङ्गलु 

magi-chadara-min

१४ कात्तिक । आज छोरी जन्मिएको १३ दिन भयो । छोरीलाई गोठमा सुताएर धान काट्न खेत गएकी । अब (दिनको ११ बजेको छ) यो घाँस भैसा (भैंसी) लाई हालिदिएर, खाना खाने अनि छोरीलाई दूध खुवाएर फेरि घाँस काट्न जान्या (जाने) हो । स्वास्थ्य (चौकी) नजिकै छ, पाँच मिनेटमा पुगिन्छ । स्वास्थ्यमा गयो भने नियमित जँचाउनु पर्छ, गोठमा बस्नुहुन्न भन्नहुन्छ त्यसैले घरमै बच्चा जन्माएँ, स्वास्थ्य गइनँ ।

स्वास्थ्य र संस्थाका ‘सर’ ‘म्याडम’ हरू आएर गोठमा बस्नुहुन्न सफा ठाउँमा बस्नुपर्छ भन्नुहुन्छ तर भनेजस्तो सबै कुरा कहाँ पुग्छ र ? गाउँका मान्यजन र ठूलाले गोठमा बस्नुपर्छ भनेपछि घरमा बस्नु भएन । मलाई बच्चा जन्माउने बेथा लागेपछि गोठमा गएँ, छोरी त्यहीं जन्मिई । आमा, सासू, जेठानी, भाउजू र छिमेकी सबै जना गोठमा बस्नुहुन्छ तिनीहरूलाई केही भएको छैन, मलाई के हुन्छ र ? १५ वर्षमा भागेर विवाह गरेकी हुँ । लभ परेर बिहे गरे पनि बिहेपछि सधैं कहाँ माया गर्छन् र ? अहिले सबै काम गर्नुपर्छ ।

छुई भएर घरको काम गर्न नभए पनि मेलापातको काम गर्न हुन्छ । त्यसैले धान काट्न आएकी हुँ । धान काट्ने ठाउँमा केटीहरू मात्र हुन्छन् । हामी जस्ता छुई भएका महिलाले पुरुषलाई छुन हुँदैन । अब अर्को बच्चा जन्माउँदा पनि म गोठमा नै बस्छु । देउता रिसाउँछन् भन्ने थाहा हुँदा भान्सामा बस्छु भन्न मिल्छ र ? पढे पनि संस्कार मान्नुपर्छ । तपाईं के आफ्नो संस्कार मान्नुहुन्न ? छुई हुँदा छुनुहुन्छ देउता ? रिसाउन्नन् ? किन गोठमा बस्नहुन्न भन्नुहुन्छ ? बच्चासँग सुत्केरी सबैका अगाडि बस्दा लाज लाग्दैन र ? सबैले मानेको कुरा हामीले पनि मान्नुपर्छ ।

चिनकला चदारा (२२) मुगु, ह्याङ्गलु 

6-chinkala-chandara-min

१४ कात्तिक । आज बच्चा जन्मिएको ६ दिन भयो । बच्चा यही गोठमा जन्मिएको हो । गर्भवती भएको समयमा स्वास्थ्य (केन्द्र) मा जँचाउन गएकी थिएँ । डाक्टरले बच्चा जन्माउन स्वास्थ्यमा आउनुपर्दछ भने पनि गइनँ । स्वास्थ्यमा गएपछि पैसा दिन्छ भन्नुहुन्थ्यो । समस्या केही भएन, घरमै जन्माएँ ।

सबैजना गोठमा बस्नुहुन्छ त्यसैले म पनि गोठमा बसें । मेरो घर नजिकै अर्की सुत्केरी पनि गोठमा बसेकी छन् । सुत्केरी भएको बेलामा आफैं खाना बनाएर खानुपर्छ । छुई हुने भएकाले कोहीलाई छुन हुँदैन । घाँस काट्ने, कोदो काट्ने, कपडा धुने जस्तो घर बाहिरको काम गर्न हुन्छ । सबै जना बसेको गोठमा हामी बस्न किन समस्या हुन्छ र, हुँदैन ।

सुत्केरी हुँदा आमा र बच्चा दुवै फोहोर हुन्छन्, त्यसैले गोठमा बस्नुपर्दछ । देउताले दुःख पर्दा सबैलाई बचाउनुहुन्छ । अनि भान्सामा बसेर देउता रिसाउने काम गर्नु भएन नि ! अरु बच्चा जन्मँदा पनि गोठमै बस्ने हो । देउता रिसायो भने घरका लोग्नेमान्छेलाई समस्या हुन्छ । बालोबैंसमा मर्नुपर्छ । सन्तान अपाङ्ग हुन्छन् । घरमा संकट आउँछ । यस्तो थाहा पाएर पनि घरमा बस्न हुन्छ र ? ३० दिन गोठमा बस्दा परिवारका सबैलाई राम्रो हुन्छ । पाप ग¥यो भने सन्तानलाई नराम्रो हुन्छ । ३० दिन मैले दुःख काट्दा के हुन्छ र ?

दुधारी धामी (२४) हुम्ला, मैला

dudhari-dhami-min

२०७२ माघमा मैले गोठमै बच्चा जन्माएँ । एक महीना गोठमा बसें । सुत्केरी बेथा लागेपछि छिमेकी महिलाले मलाई गोठमा लगेका थिए । अरूको जस्तै हँसियाले बच्चाको नाल काटेको हो । म २४ वर्षकी भएँ, मेरा दुई बच्चा छन् । पहिलाको बच्चा हुँदा पनि म गोठमै बसेकी हुँ । केही भएको छैन । हाम्रो यहाँको चलन यस्तै छ ।

आमाले मलाई गोठमै जन्माउनुभएको हो । अहिलेसम्म मलाई केही भएको छैन । घरभित्र बसेर देउता रिसाएर समस्या भयो भने कसरी पाप कटाउने त ? पुर्खाहरूको पालादेखि देउता रिसाउने भएकाले गोठमा बसेको भन्नुहुन्छ आमाले । भनेको मान्नु प¥यो नि ! सुत्केरी भएको समयमा दूध खाँदा गाई भैसा (भैंसी) ले दूध नदिने हुँदा दूध खान मिल्दैन । गोठमा बस्दा आधा ज्यान घटे पनि आफ्नो चलन मान्नु प¥यो । पानी पर्दा वर्षाको समयमा गोठमा कीरा आउँछन् अलि समस्या हुन्छ । तर जे जसरी भए पनि बस्नुपर्दछ ।

भावना बुढा (२२) हुम्ला, मैला

bhawana-budha-min-1

२०७२ सालमा मैले गोठमै बच्चा जन्माएँ । एक महीनासम्म गोठमै बसें । समस्या भएर बच्चा जन्माउन नसके मात्र स्वास्थ्य (केन्द्र) जाने हो । स्वास्थ्य टाढा छ, घरको काम छोडेर कसरी त्यहाँ जानु । हरियो तरकारी, झेल खानेकुरा खाँदा बच्चालाई कुवत (पखाला) लाग्न सक्छ । यसमा होस पु¥याउनुपर्छ । आफैं खाना बनाउनुपर्दछ । छुई नबार्नेलाई देउताले धेरै दुःख दिएको आमाले सुनाउनु हुन्छ । परिवार, बालीनाली र आफ्ना सन्तानलाई राम्रो होला भनेर हामी गोठमा बस्ने गर्छौं ।

रामुदेवी मल्ल, बाजुरा बाँधु

11-ramudevi-malla-minम स्वास्थ्य स्वयमसेविका हुँ । १० वर्षदेखि यो काम गर्दै आएकी छु । गोठमा बस्नुहुन्न भनेर बुझउन मुश्किल छ । गर्भवती परीक्षण, भिटामिन, जुकाको औषधि, आइरन चक्कीलगायतका औषधि खानुपर्दछ भन्ने कुरामा केही चेतना फैलाउन सकिएको छ तर गोठमा बस्नुहुन्न भनेर बुझउन मुश्किल छ । देउता लाग्दा (लाग्छ) भन्दाउन (भन्दा हुन) अरू के हुनु । केही लाग्या (लागेको) नाइँ (होइन), चेतनाको कमी हो ।

गोठमा बस्नुहुन्न भनेर घरपरिवार सबैलाई एकठाउँमा राखेर भने पनि बुझउन सकिएन । कोल्टी टाढा छ । रेडियो, टेलिभिजन केही छैन । संस्थाका ‘सर’ ‘म्याडम’ आएको बेला उहाँहरूको अगाडि हुन्छ भने पनि बेथा लाग्यो कि गोठमा लगिहाल्छन् । आफ्नै गाउँको भएर हामीले भनेको नसुनेको होला कि ?

घरमा बस्दा केही हुँदैन भनेर मेरो बच्चा जन्मँदा म घरभित्र बसें तर पनि बुझउन सकिनँ । भान्सामा र देउता भएको कोठामा नराखे पनि सफा र घरको अर्को कोठामा राख्नु पर्छ भन्दा मान्दैनन् । सयमा दुई—तीन प्रतिशतले घरमा राख्छन् होला अरूले मान्दैनन् । सुत्केरीलाई घरमा राखेको बेलामा घरमा कोही बिरामी भयो, बस्तुभाउ बिरामी भयो भने छुई भएर हो भन्छन् ।

रुढिवादी हटाउनु गाह्रो काम रहेछ । बुहारीहरूले संस्कार तोड्न सक्दैनन् । सासू ससुराहरूले हाम्रा पालामा गोठमा बस्दा केही भएन अहिलेकालाई के हुन्छ भन्छन् । हाम्रा पालामा १० बच्चा गोठमा जन्माइयो, बसियो केही भएन । अहिलेका स्वास्थ्य (केन्द्र) जानुुपर्छ, गोठमा बस्नुहुन्न भन्छन् । के जमाना आयो भनेर कराउँछन् । यस्तो भएपछि कसैले पनि परम्परा तोड्ने हिम्मत गर्दैन ।

पहिला त गाईको गोठमा पोस्रो (मल, गोबर) पनि सफा नगरी राख्थे अहिले भने चिसो पोस्रो फाले पनि फोहोर चाहिं सफा गर्दैनन् । कसैले सफा गरेर पराल ओछ्याउँछन् । तर धेरैको त फोहोरै हुन्छ । हामीले नियमित परीक्षण गर्नुपर्दछ सफा बस्नुपर्दछ, पोषिलो खानुपर्दछ भनेर सिकाउने मात्रै हो । सबैलाई त्यो कहाँ पुग्छ र ? गाईकै गोठमा राखे पनि लिपपोत गरेर सफा बनाऊ भन्दा छाउ बस्ने गोठ पनि के सफा गर्नु भन्ने जवाफ दिन्छन् । पोहोरसाल मात्र फोहोरमा बसेकी एउटी सुत्केरीको धेरै रगत बगेर कोल्टी लैजाँदा बाटोमै मृत्यु भयो । फोहोरले गर्दा पाठेघरमा संक्रमण भएको रहेछ । बच्चालाई निमोनिया हुने, बिरामी हुने, आमालाई तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरमा संक्रमण हुने कारण गोठमा बसेर हो भन्दा देउता खुशी पा¥यो भने केही हुँदैन भन्छन् । आफ््नै गाउँकालाई बुझउन झ्नै मुश्किल ।

धनबहादुर फडेरा, रुगिन स्वास्थ्य चौकीका निमित्त प्रमुख 

dhan-bahdur-phadera-minसुत्केरी निकै संवेदनशील अवस्था हो । तर पनि यहाँ गाई गोरु राख्ने गोठमा सुत्केरी राख्ने चलन छ । घरमा राखे देवीदेवताले सराप्छ भन्ने मान्यता छ । स्वास्थ्य अवस्था एकदमै नाजुक छ । दुई वर्षदेखि म यहाँ छु । गोठमा बस्दा ज्वरो आउने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने समस्या हुन्छ । अवस्था जटिल भएपछि मात्र स्वास्थ्यमा आउँछन् । कहिलेकाहीं बचाउनै समस्या हुन्छ । सरसफाइ छैन, पानी छैन । गाई गोरु बस्न नसक्ने साँघुरो गोठमा बस्नुपर्छ । कपडा पनि राम्रो हुँदैन । गोठ चिसो हुन्छ, सुक्खा हुँदैन । निमोनियाको डर धेरै छ ।

चेतनाको कार्यक्रम छ तर उनीहरू आफ्नो संस्कार छोड्न चाहँदैनन् । सुत्केरीलाई दूध, दही, घ्यू दिन्नन् । एक महीनासम्म मासु पनि दिंदैनन् । हिजोको भन्दा अवस्था अहिले केही सुधारिएको छ । मेरो घर कालीकोट हो, कर्णालीका पाँचै जिल्ला घुमेको छु । अहिले पनि यस क्षेत्रका ८० प्रतिशतले सुत्केरी राख्ने गोठमै हो । बीए पास गरेका श्रीमान्ले पनि श्रीमती सुत्केरी हुँदा गोठमै राख्छन् । अनि कसरी चेतना अभाव भन्नु ?

(खोज पत्रकारिता केन्द्र लागि)

Leave a comment

Your email address will not be published.


*