चेलीलाई छाउगोठ पठाएर मृत्युमा आँसु कहिलेसम्म झार्ने ?

        सविता जिसी   |   प्रकाशित मितिः बिहिबार, पुस ७, २०७३     4:03:23 PM

आफ्नै छोरीचेलीलाई छाउगोठमा पठाएर मृत्युको शिकार बनाउने तपाई हाम्रो रहर कि बाध्यता । कति कागजमा हस्ताक्षर गरियो होला है, जिल्लालाई छाउमुक्त बनाउनका लागि । अभियानहरु चल्दा त छोरीचेली घरकै कोठामा पनि सुताईयो होला ।

sabita-jc
तर पनि ति सबै नारा र बाचाहरु त सबै कागजमा मात्रै पो सिमित भएछन्, हेर्नुस त । हिजो हामि नै हैन जिल्लालाई छाउपडि मुक्त बनाउँदा खेरी कुनै पनि छोरीचेलीलाई महिनावारीका समयमा घरबाहिर सुताउँदैनौ भनेर भन्ने ? तर आज हेर्नुस हाम्रै दिदिबहिनीले महिनावारी भएर घरबाहिर सुत्दा ज्यान गुमाउनुपरेका तितो यथार्थ त हाम्रै आँखा अगाडि पो घुम्न थाल्यो त ।

एकपल्ट गहिरीएर सोचौ त, हामि कस्तो समाजमा हुर्किरहेका छौँ, अनि समाजमा कस्तो कुप्रथाको विकास गराईरहेका छौँ, संस्कार र संकृतिका नाममा हामिले त आफ्ना छोरीबुहारी अकालमै मृत्युको मुखमा पो पुयाएका रहेछौँ त ।

प्रसंग जस्तासुकै हुन आखिर महिला र पुरुषलाई यो समाजले एउटै नजरले हेर्न सकेको छैन । बलात्कारका घटना किन बढिरहेका छन् भनेर हिजो बहस चल्दा त छोटो लुगालाई दोष दिने हाम्रो समाजले महिनावारी हुँदा महिलालाई छाउगोठमा सुताउनु हुँदैन भन्ने कुरालाई कसरी सहर्ष स्वीकार गर्न सुक्ला ?

समाजले के भन्ला भन्ने डरले छोरीचेली समयमै घरको ढोकाभित्र पस्नुपर्छ भनेर दबाद दिने परिवारहरु पनि हाम्रै समाजमा छन् । हामिले कहिलेसम्म समाजको डरले छोरीलाई घरभित्रै थन्काएर राख्ने ? यदि हामिलाई समाजको डर लाग्छ भने आउनुस नत समाज परिवर्तन गरौँ । हामि समाज परिवर्तनका लागि भनेर नाराबाजी गर्दैै हिड्न थालेको त वर्षौ अघि देखि नै होनी । आखीर किन हुन सकेनत समाज परिवर्तन ।
बलात्कार किन बढ्छन् होला भनेर चियागफमा बहस गर्दा नारीको चरित्रलाई दोष दिनेहरुका कारण हाम्रो समाज परिवर्तन हुन सकिरहेको छैन ।

पुसको ४ गते एकाबिहानै छाउगोठमै किशोरीको मृत्यु शिर्षकमा कान्तिपुर दैनिकमा लेखिएको समाचार पढे । समाचार थियो सुदुरपश्चिमको एउटा जिल्ला अछामको । समाचारका अनुसार छाउपडीमुक्त घोषणा भएको गाविसमै एकजना किशोरीले ज्यान गुमाईछिन् । यता छाउपडि मुक्त घोषणा गरिए पनि २ जना महिलाले पो ज्यान गुमाईसकेछन् ।

अछाम गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाले यो समाज र परिवारले छाउपडिमा सुत्न पठाएको समयमा मृत्युको मुखमा पुग्न बाध्य भईन् । गत शनिबार साँझ ६ बजे खाना खाएर घर नजिकैकोे छाउपडी गोठमा सुत्न गएकी रोशनीले आइतबारको बिहान र यो संसार देख्न पाईनन् ।

यसअघि मंसिर ४ गते पनि महिनावारी भएकै बेला छाउगोठमा बस्दा अछामकै २१ वर्षीया डम्बरा उपाध्याय पनि बिहान मृत फेला परेकी थिइन् । अछाम जिल्लामा मात्रै २०६३ यता छाउपडीकै कारण जिल्लामा १० महिला र किशोरीको ज्यान गइसकेको तथ्यांक पनि हाम्रै अगाडि ताजा छ ।

अन्य क्षेत्रको तुलनामा सुदुरपश्चिमको क्षेत्रमा यस्ता समस्याहरु व्यापक मात्रामा आईरहन्छन् । सरकारले कुनै पनि पहल चालेन भनौ भने वार्षिक रुपमा लाखौँ रकम त खर्चिरहेकै छ, लगानीको मात्रा पनि बढाईरहेको छ ।

एनजिओहरु पुगेनन भनौ भने पनि नेपालमा अधिकांश एनजिओ तथा आईएनजिओहरु सुदुरपश्चिममै परिचालीत छन् । तर पनि छाउगोठहरु किन घट्न सकेनन् त यो एउटा बहसको विषय बन्न पुगेको छ । छाउगोठमा मृत अवस्थामा फेला परेकि रोशनी मात्रै होईन छाउगोठमा साँझ सुतेर बिहानी संसार देख्न नपाउने महिलाहरुको तथ्यांक डरलाग्दो अवस्थामा छ ।

यो चिसो । पुस महिनाको यस्तो जाडोमा कति पिडा भयो होला ति नारीलाई । हामिलाई शरीरभरी कपडा लगाएर बस्दा त खटाउनै गाहे पर्ने यो पुसको जाडो । काठ र परालले बारेर छाउगोठ नाम दिईएको उक्त स्थानमा बस्दा ति नारीलाई कति पिडा हुँदो हो, सौचौ त ? समाजका लागि भनेर हामिले कहिले सम्म आफ्ना छोरीचेलीलाई छाउगोठमा बस्न बाध्य बनाईरहने ?

मैले संस्कार र संस्कृतीलाई चटक्कै भुलेर महिनावारी हुँदा महिलालाई पहिलै बसिरहेकै स्थानमा बसालौ भन्न खोजेको होईन । तर संस्कार संस्कृतीलाई परिवर्तन गरेर महिनावारी भएकै कारण महिलाहरुलाई घरबाट छुट्टै गोठमा सुताउने परम्परालाई सुधार गर्दै लैजाउ भनेको हो । छाउपडी गोठमा महिनावारी भएर चार रात बिताएपछि पाँचांै दिनमा मात्र घर फर्काउने कुप्रथा हाममिले समाजमा कहिलेसम्म कायम राख्ने ।
सुदुरपश्चिमका जिल्लाहरुलाई छाउपडि मुक्त बनाउने समयमा जस्तै रोशनी र डम्बराले ज्यान गुमाउनु भन्दा अघिल्ला दिनहरुमा पनि अनुगमन भएको भए उनीहरुले अकालमै ज्यान गुमाउनु परेको तितो यथार्थ हामि कहाँ आउने थिएन होला ।

जबसम्म एजिओ र आईएनजिओहरु गाउँमा रहिरहन्छन्, तबसम्म कुनै पनि घरमा छाउगोठ हुँदैनन् अनि प्रत्येक घरका छोरीहरुका मन खुसीले हास्न थाल्छन् । तर जब एनजिओहरुले आफ्ना अभियानहरु सक्छन्, उनीहरुलाई डलरको खडेरी पर्छ तबबाट छाउगोठमा बस्नुपर्ने बाध्यताहरुले छोरीचेलीको मनमा चिसो हावा पस्न थाल्छ ।

त्यो कालो रात, आफ्नै आमाबुबाले पठाएको त्यो छाउगोठको बास, कमजोरी अवस्था अनि अन्य समयको भन्दा खानपानमा पनि ध्यान दिनुपर्ने अवस्था, ओहो कस्तोकस्तो भोग्न परेको होला भन्दै आफ्नो जुनीलाई नै धिक्र्कान मन लाग्दो हो ति छोरीलाई जसले, त्यो छाउगोठमा बसेर बाआमाको निर्देशन पालना गर्दै आज्ञाकारी छोरी बनिरहेकि छन् ।

1 Comment on चेलीलाई छाउगोठ पठाएर मृत्युमा आँसु कहिलेसम्म झार्ने ?

  1. Ramesh Rawat // December 22, 2016 at 6:33 pm // Reply

    nikai chhoyo

Leave a comment

Your email address will not be published.


*